close

लिमीमा सुविधा सम्पन्न बर्थिङ सेन्टर, सुँडेनीबाट सुत्केरी गराउनुपर्ने झन्झट हट्यो

लिमीमा सुविधा सम्पन्न बर्थिङ सेन्टर, सुँडेनीबाट सुत्केरी गराउनुपर्ने झन्झट हट्यो

Trulli
ADVERTISEMENT

हुम्ला- हिमालपारिको जिल्ला भनेर चिनिने हुम्लाको उत्तरी गाउँका १ सय ८० घरधुरीलाई सेवा प्रदान गर्ने उद्देश्यले सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालनमा आएका छन् ।

 

गर्भवती महिलालाई गाउँबस्तीमै सहज सुत्केरी गराउने लक्ष्यसहित निर्माण गरिएको बर्थिङ सेन्टरबाट लिमीका महिलाहरूले पहिलो पटक सुविधा लिन पाएका हुन् । बर्थिङ सेन्टरसहित सामुदायिक स्वास्थ्य संस्थाको भवन निर्माण सम्पन्न भएको छ ।

 

लिमी- ६ का वडा अध्यक्ष पाल्जोर तामाङ भन्छन्, ‘बर्थिङ सेन्टर सञ्चालनमा आएपछि लिमीका महिलाले सहज रूपमा सुरक्षित सुत्केरी हुन सक्नेछन् । यसबाट आमा र बच्चा दुवैलाई लाभ मिल्नेछ ।’

 

यसअघि लिमीका महिलाहरूले घरमै गाउँको परम्परागत सुँडेनीबाट सुत्केरी गराउँदै आएका थिए । व्यथाले च्यापे हेलिकोप्टर चार्टर गरेर सुर्खेत, नेपालगन्ज र काठमाडौं लैजाने गरिन्थ्यो ।

 

बर्थिङ सेन्टर स्थापनासँगै ठूलो रकमको खर्च र स्वास्थ्य जोखिम पनि हटेको तामाङले सुनाए । पहिलो पटक लिमीका तीन गाउँलाई समेट्ने गरी बर्थिङ सेन्टर स्थापना गरिएको हो ।

 

स्नोल्यान्ड एकीकृत विकास केन्द्र, गाउँपालिका, छाया नेपाल र स्थानीयको सहभागितामा साढे ७१ लाख रुपैयाँ खर्चिएर  बर्थिङ सेन्टर स्थापना गरिएको स्नोल्यान्डका कार्यकारी निर्देशक गोविन्द शाहीले जानकारी दिए ।

 

बर्थिङ सेन्टरमा तातोपानीका लागि सोलार जडान गरिएकाले सुत्केरी भएका महिला तथा शिशुले तातो पानीबाट नुहाउन पाउनेछन् । गर्भवती महिलाको गर्भजाँचका लागि अल्ट्रा साउन्ड मेसिन पनि जडान गरिएको छ । भवनमा बर्थिङ सेन्टरका साथै अन्य बिरामीका लागि उपचार गर्न सामुदायिक स्वास्थ्य संस्थाको कोठा निर्माण गरिएको छ ।