close

दैलेखको जिल्ला स्वास्थ्य कार्यालय सिल

दैलेखको जिल्ला स्वास्थ्य कार्यालय सिल

Trulli
ADVERTISEMENT

दैलेख- स्वास्थ्य सेवा कार्यालय दैलेखका डाक्टर सहित ११ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य सेवा कार्यालय दैलेख ४ दिनका लागि सिल गरिएको छ ।
स्वास्थ्य कार्यालय दैलेखमा आपतकालीनबाहेकका सबै सेवा बन्द गरिएको हो ।

 

दैलेखमा रहेको पीसीआर ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण देखिएको छ । जिल्लामा हालसम्म सक्रिय कोरोना संक्रमित १२३ पुगेका छन् । बुधबार २३, बिहीबार १६, शुक्रबार २१ र शनिबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

अस्पतालमा बिरामीको चाप

 

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढेपछि सदरमुकाममा आपतकालीन रूपमा निर्माण गरिएको दैलेखको आइसोलेसन अस्पताल भरिभराउ भएको छ ।

 

धेरै बिरामी होम आइसोलेसनमा बसेका छन् । लक्षणसहितका बिरामी बढ्न थालेपछि समस्या जटिल बन्दै गएको हो ।

 

‘हामीले अस्पतालको आपतकालीनबाहेक सबै सेवा बन्द गर्नुपर्ने अवस्था छ । नागरिकलाई सुरक्षित रहन आग्रह गरिरहेका छौं’, स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले भने ।

 

सुरक्षा सतर्कता शून्य

 

दशैँको मुखमै भएकाले सदरमुकाम दैलेख बजारमा सामान जोरजाम गर्नेको अत्यधिक भीड बढेको छ । किनमेल र होटलमा समेत संक्रमित भेटिएपछि अवस्था नियन्त्रणबाहिर जाने चेतावनी स्वास्थ्यकर्मीहरूले दिएका छन् ।

 

नागरिकलाई व्यक्तिगत सुरक्षा अपनाउन स्वास्थ्य कार्यालय दैलेखले अनुरोध गरेको छ । ‘स्वास्थ्य सुरक्षा मापदण्ड कसैले पनि अपनाएका छैनन् । चार दिनमै  ८३ जनामा कोरोना भेटिए पनि सुरक्षा सतर्कता कमजोर देखिएको छ,’ डा. पन्तले भने ।