close

दार्चुलाका ७ स्थानीय तहमा कोभिड अस्पताल निर्माण गरिने

दार्चुलाका ७ स्थानीय तहमा कोभिड अस्पताल निर्माण गरिने

Trulli
ADVERTISEMENT

दार्चुला- दार्चुलाका सातवटा स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण गरिने भएको छ । कोरोना महामारी बढिरहेका बेला सम्भावित जोखिमलाई दृष्टिगत गर्दै अस्पताल नभएका स्थानमा अस्थायी कोभिड अस्पताल निर्माण गर्न लागिएको हो ।

स्थानीय तहमा कोभिड अस्पताल निर्माणका लागि १० लाख रुपैयाँका दरले संघीय सरकारले बजेट विनियोजन गरिसकेको छ । कोरोना महामारीका बेला अस्पताल नभएका स्थानीय तहमा कम्तीमा पाँच शय्याको अस्पताल निर्माण गर्न मन्त्रालयले यसअघि नै स्थानीय तहलाई पत्राचार गरेको थियो ।


सोहीअनुसार अहिले स्थानीय तहले कोभिड अस्पताल निर्माणको तयारी गरिरहेका छन् ।


मार्मा गाउँपालिकाले अस्पताल निर्माणका लागि तयारी गरिरहेको छ । गाउँपालिकाले यसअघि नै अस्पताल निर्माणका लागि जग्गासमेत छनोट गरिसकेकाले सोही स्थानमा कोभिड अस्पताल निर्माण गर्न लागेको स्वास्थ्य शाखा संयोजक चक्रसिंह धामीले जानकारी दिए ।


संघीय सरकारले अस्थायी कोभिड अस्पताल निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेकाले उक्त बजेटमा थप गाउँपालिकाले नौ लाख रुपैयाँ विनियोजन गरेको स्वास्थ्य संयोजक धामीले बताए । संघीय सरकारले १० लाख रुपैयाँ विनियोजन गरी ५० हजार रुपैयाँको औषधि खरिद गर्नुपर्ने, चार लाख ५० हजार रुपैयाँमा जनशक्ति व्यवस्थापन गर्नुपर्ने र पाँच लाख रुपैयाँमा अन्य व्यवस्थापन  गर्नुपर्ने थियो ।


उक्त बजेटमा सबै व्यवस्थापन गर्न असहज भएकाले गाउँपालिकाले आन्तरिक संचालन शीर्षकमा विनियोजन गरेको बजेट पनि अस्थायी कोभिड अस्पतालमा निर्माण खर्चिने उनको भनाइ छ ।


त्यसैगरी व्यास गाउँपालिकामा पनि अस्थायी कोभिड अस्पताल निर्माणका लागि स्थान छनोट गरिएको छ । वडा-  ५ धौलाकोटमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि स्थान छनोट गरिएको व्यास गाउँपालिकाले जनाएको छ ।


त्यसैगरी मालिकार्जुन गाउँपालिकाले पनि कोभिड अस्पताल निर्माणका तयारी गरेको छ । वडा- ८ स्थित शंकरपुर स्वास्थ्य चौकीमा कोभिड अस्पताल निर्माण गरिने स्वास्थ्य शाखा संयोजक गुणराज ओझाले जानकारी दिए ।


नौगाड गाउँपालिकाले पनि प्राविधिक सहयोगका लागि स्वास्थ्य कार्यालयसँग समन्वय गरेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । संघीय सरकारले बजेट विनियोजन गरी स्थानीय तहमार्फत अस्पताल निर्माण गर्न लागेको हो ।


संघीय सरकारद्वारा निर्माण गर्न लागिए पनि स्वास्थ्य कार्यालयले कोभिड अस्पतालमा प्राविधिक परामर्श तथा सहयोग गर्न सक्ने जनस्वास्थ्य अधिकृत भट्टले जानकारी दिए । 


त्यसैगरी लेकम, दुहुँ र अपिहिमाल गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पताल निर्माण गर्ने भएका छन् । जिल्लाका महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा भने अस्पताल निर्माण गरिनेछैन । 


शैल्यशिखरमा गोकुलेश्वर अस्पताल रहेकाले कोभिड अस्पताल निर्माण नगरिने स्वास्थ्य शाखा संयोजक चक्रसिंह कार्कीले बताए । यस्तै, महाकाली नगरपालिकामा पनि जिल्ला अस्पताल रहेकाले महाकालीमा पनि कोभिड अस्पताल निर्माण गरिनेछैन ।