धनुषा– जानकी मेडिकल शिक्षण अस्पताल रामदैयामा आन्दोलनरत कर्मचारीले आकस्मिक सेवा अवरुद्ध गर्नुका साथै आमरण अनशनमा बस्ने चेतावनी दिएका छन् ।
धनुषाको क्षीरेश्वर नगरपालिका–१ रमदैयामा अवस्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १ महिनादेखि आन्दोलनरत कर्मचारीले माग पूरा नभएको भन्दै सत्याग्रहमा बस्ने चेतावनी दिएका हुन् ।
दसैं पेस्की, ८ महिनाको तलब, ६ वर्षदेखिको सञ्चय कोषलगायतका विभिन्न हिसाबकिताब माग्दै गत १२ असोजदेखि आन्दोलनरत कर्मचारी हकहित संरक्षण संघर्ष समितिले आन्दोलन गर्दै आएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय धनुषा र धनुषा प्रहरीको रोहवरमा भएको सहमति कार्यान्वयन नभएको भन्दै कर्मचारीले आकस्मिक सेवासमेत ठप्प पार्ने चेतावानी दिएका छन् ।
सहमति कार्यान्वयन गर्नुको साटो अस्पताल प्रशासनले समितिका संयोजक उमेश यादवसहित ५ जनालाई स्पष्टीकरण सोधेपछि आन्दोलित कर्मचारीले १ महिनादेखि अस्पतालको प्रशासन शाखा र ओपीडी कक्षमा तालाबन्दी गर्दै आएका छन् । समितिका संयोजक उमेश यादवले प्रहरी–प्रशासनले माग पूरा गराउने आश्वासन दिए पनि हालसम्म कार्यान्वयन नभएको गुनासो गरे ।
‘माग पूरा नभए १६ कात्तिकदेखि आमरण अनशन बस्ने कार्यक्रम तय भएको छ’, यादवले भने । यस विषयमा अस्पतालका वरिष्ठ प्रशासक डीएन झासँग प्रतिक्रिया लिन फोन सम्पर्कको प्रयास गर्दा पनि उनले फोनै उठाएनन् ।