जिल्लामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि संक्रमितको ग्राफ उकालो लाग्न सुरु भएको छ । स्थानीय प्रशासनले संक्रमण घटाउन साताको दुई दिन निषेधाज्ञा लगाएको छ ।
उद्योगी व्यवसायीले जनजीवन प्रभावित भएको भन्दै स्थानीय प्रशासनद्वारा लगाइएको साताको दुई दिने निषेधाज्ञा हटाउन माग गरेका हुन् ।
जिल्लामा कोरोना संक्रमितको संख्यासँगै ज्यान गुमाउनेको संख्यासमेत पछिल्लो समय बढ्दै गएको छ । बाँकेमा हालसम्म ३ सय २८ महिलासहित १ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म जिल्लामा कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेमा ४ महिला र ४ पुरुष रहेका छन् ।
बाँकेबाट हालसम्म ९ सय ८५ जना कोरोना मुक्त भएका छन् । यद्यपि विभिन्न आइसोलेसन सेन्टरमा रहेका अझै ३ सय ७१ जना संक्रमित डिस्चार्ज हुन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । तीमध्ये १ सय १६ महिला छन् भने २ सय ५५ जना पुरुष छन् ।
बाँकेका संक्रमितमा निको हुने दर ७२ दशमलव २१ प्रतिशत छ भने बिरामीमा मृत्यु हुने दर शून्य दशमलभ ५९ र रोगको प्रकोप दर शून्य दशमलव २३ प्रतिशत रहेको कोरोना फोकल पर्सन श्रेष्ठ बताउँछन् ।
संक्रमित मध्ये ८४ जनामा मात्रै कोरोनाको लक्षण देखिएको उनले बताए । कोरोना समुदाय स्तरमा फैलिएपछि बाँके प्रशासनले भने गत भदौ २० देखि साताको २ दिन (शुक्रबार र शनिबार) निषेधाज्ञा जारी गर्दै आएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले साताको दुई दिन पूर्ण रूपमा बन्द गर्दा संक्रमण दर केही मात्रामा भए पनि नियन्त्रण हुने अपेक्षा गरिएको बताए । ‘यसको मतलव अन्य दिन भीडभाड गर्ने र सचेतना नअपनाउने भनेको होइन,’ उनले भने ।
साताको २ दिने निषेधाज्ञाले समुदाय स्तरमा कोरोना संक्रमण दर नियन्त्रण गर्न केही सहयोग पुग्ने उपाध्यायको तर्क छ । जनता आफंै सचेत हुनु नै अन्तिम विकल्प भएको उनले बताए ।
बाँके प्रशासनले लगाउँदै आएको दुई दिने निषेधाज्ञाप्रति नेपालगन्ज उद्योग वाणिज्य संघले असहमति जनाउँदै आएको छ । ‘साताको २ दिन शुक्रबार र शनिबार निषेधाज्ञा जारी गरिनु अवैज्ञानिक हो,’ नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी वलीले भने ।
अर्थतन्त्र ध्वस्त भइसकेको र कतिपय व्यापारीहरुले आत्महत्यासम्मको बाटो रोज्न थालेकाले निषेधाज्ञा लगाउन नहुने उनको जिकिर छ । ‘मजदुरी गरेर खाने मान्छे भोकभोकै परेका छन् । यसरी कति दिन अथवा कति महिना चल्छ ? अब जनता आफैंले सावधानी र सतर्कतासहित आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ,’ उनले थपे ।
बैंकले ब्याज र किस्तामा कुनै छुट नगर्ने तर स्थानीय प्रशासनले लकडाउन र निषेधाज्ञाको निहुँमा व्यवसायीलाई नै मर्का पर्ने गरी बन्द गराउँदा झनै पीडा थपिएकाले विकल्प खोजिनुपर्ने वलीको भनाइ छ ।
निषेधाज्ञाका कारण बाँकेमा उपभोग्य एवं अत्यावश्यक सामान उत्पादन तथा बिक्री वितरण प्रभावित भएको संघको दाबी छ । संघले आगामी १ असोजदेखि लागू हुने गरी निषेधाज्ञालाई सधैंका लागि हटाउने विषयमा पुनर्विचार गर्न माग राख्दै आएको छ ।