close

पर्वतका सातै पालिकामा कोरोना परीक्षण 

पर्वतका सातै पालिकामा कोरोना परीक्षण 

Trulli
ADVERTISEMENT

समुदायस्तरमै कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा पनि समुदायमा पुगेर परीक्षण गर्ने कामलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ । 

 

स्वास्थ्य कार्यालय पर्वतका अनुसार समुदायका हालसम्म ९ सय ४६ व्यक्तिको नमुना परीक्षण गरिएको छ । जिल्लाको कुश्मा नगरपालिकामा १ सय १७, फलेवास नगरपालिकामा १ सय १५, जलजला गाउँपालिकामा ६८, मोदीमा ५८, महाशीलामा ५१, विहादीमा १ सय १० र पैयुँ गाउँपालिकामा १ सय १० जनाको स्वाब संकलन गरी पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गरिएको हो । 

 

समुदायमा पुगेर स्वाब संकलन गरिएका ९ सय ४६ जनाकै रिपोर्ट नेगेटिभ आएको कोरोना रोकथाम तथा व्यवस्थापन केन्द्र (सिसिएमसी) पर्वतका प्रवक्ता प्रवीण भण्डारीले बताए ।
उनका अनुसार पर्वत अहिलेसम्मलाई सुरक्षित देखिएको छ । समुदायमा बाहेक कन्ट्याक्ट टे«ेसिङमा परेका २ सय ४० जनाको पनि नमुना संकलन गरी परीक्षण गरिएको थियो । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको थियो । 


पर्वतमा गत चैत ११ पछि भारतबाट १ हजार १ सय १३ र भारतबाहेक तेस्रो मुलुकबाट ३ सय ६१ व्यक्ति जिल्ला भित्रिएका छन् । उनीहरूसहित हालसम्म पर्वतमा दुई हजार १ सय ४० पुरुष र ३ सय ७८ महिला गरी २ हजार ५ सय १८ जनाको पिसिआर परीक्षण गरिएको छ । 


जिल्लामा हालसम्म विदेशबाट फर्किएका र कन्ट्याक्ट ट्रेसिङका गरी जम्मा १ सय ९ मा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ सय ३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अहिले ६ संक्रमितको सदरमुकाममै रहेको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । 


जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटटेन्डेन्ट डा शिशिर देवकोटाका अनुसार ती संक्रमितको स्वाब संकलन गरी पुनः परीक्षणका लागि पठाइनेछ । पर्वतमा समुदायमा कोरोना संक्रमण नफैलियोस् भनेर निषेधाज्ञालाई कडा पारिएको छ ।

पछिल्लो एक सातादेखि सार्वजनिक सवारीका साधनहरू पूर्णरूपमा बन्द छन् भने जिल्ला भित्रिने सबै नाकामा सवारी जाँचमा कडाइ गरिएको छ ।