close

१ गतेदेखि काठमाडौँ उपत्यकामा मदिरा बिक्री र सेवनमा रोक

१ गतेदेखि काठमाडौँ उपत्यकामा मदिरा बिक्री र सेवनमा रोक

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीले निर्वाचन सुरक्षाबारे चासो बढाउँदै मंसिर १ गते, बिहीबार रातिदेखि मदिरा बिक्री र सेवनमा रोक लगाउने निर्णय गरेका छन्।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, ललितपुरका जयनारायण आचार्य र भक्तपुरकी रुद्रादेवी शर्माबीच बुधबार बसेको संयुक्त बैठकले यो निर्णय गरेको हो।

निर्वाचन स्थलमा निर्वाचन सम्पन्न नभएसम्म र मतगणना स्थलमा मतगणना कार्य सम्पन्न नभएसम्म मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय भएको बताइएको छ।

निर्वाचन लक्षित गरेर मंसिर १ गतेदेखि मंसिर ४ गते राति १२ बजेसम्म तीन वटै जिल्लामा मदिरा ओसारपसार, बिक्री वितरणमा रोक लगाउने निर्णय बैठकले गरेको छ। मतगणना स्थल वरपर चाहिँ गणना नसकिएसम्म रोक लगाउने निर्णय गरिएको छ।

साथै निर्वाचनको दिन आगामी मंसिर ४ गते उपत्यकामा आन्तरिक सवारी आवागमन बन्द गर्ने निर्णय समेत गरिएको छ।

निर्वाचन आयोग र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिएका आन्तरिक सवारी बन्द गर्ने निर्णय भएको छ। निर्णय अनुसार मंसिर ४ गते बिहान ४ बजेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा आन्तरिक सवारी आवागमन बन्द गर्ने निर्णय भएको छ।

निर्वाचनका बेला तीनै जिल्लामा खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवा सञ्चालनमै राख्न सबै जिल्लामा फोकल पर्सन तोकेर काम गर्ने पनि निर्णय भएको छ।

निर्वाचनका कारण १ र २ गते जिल्ला प्रशासन कार्यालयहरूले दिने शान्ति सुरक्षा, विपद्, निर्वाचन र मुद्दाबाहेकका सेवा प्रवाह स्थगित गर्ने पनि निर्णय भएको छ।