काठमाडौं । मधेश प्रदेश सरकारद्वारा सञ्चालित बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार अख्तियारले तत्कालीन प्रदेश सचिव यामप्रसाद भूसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेखापाल राजाराम मण्डल, जिन्सी शाखाका शाखा अधिकृत रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहनकुमार दासविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको हो ।
अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन प्रदेश सचिव भुसालले गुणस्तरहीन लेडिज साइकलको आपूर्ति स्वीकार गरी भुक्तानीसमेत गरेर प्रदेश सरकारलाई १० करोड ३३ लाख ७५८ रुपैयाँ हानी नोक्शानी पुर्याएको दावी गरेको छ ।
अख्तियारले प्रदेश सचिव भूसाल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेखापाल राजाराम मण्डल र साइकल आपूर्ति गर्ने कम्पनी ओम सत्य साई प्रालिकी म्यानेजिङ डिरेक्टर रेनु अग्रवालसँग १० करोड ३३ लाख ७५८ रुपैयाँ विगो माग दाबी गरिएको छ ।
यसअघि नै अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको थियो ।