close

छथर जोरपाटी गाउँपालिकाको तरकारी बंगलादेशसम्म

गाउँपालिकाबाट वार्षिक रुपमा ८० देखि ९० करोड रुपैयाँ बराबरको तरकारी निर्यात

छथर जोरपाटी गाउँपालिकाको तरकारी बंगलादेशसम्म

गाउँपालिकाबाट वार्षिक रुपमा ८० देखि ९० करोड रुपैयाँ बराबरको तरकारी निर्यात

Trulli
ADVERTISEMENT

धनकुटा– छथर जोरपाटी गाउँपालिकाका ६० प्रतिशत किसान व्यावसायिक छन् । व्यावसायिक कृषकको तथ्यांक पालिकामा रहेका ४ हजार १४८ परिवारमध्ये २ हजार ४८८ परिवार हुन् । 

गाउँपालिका कोशी प्रदेशकै धेरै तरकारी उत्पादन हुने स्थानीय तह रहेको गाउँपालिकाका कृषि शाखा प्रमुख मिलन कार्की बताउँछन् । उनको अनुसार पालिकाको ८० प्रतिशत परिवार तरकारी खेतीमा संलग्न छ । ६० प्रतिशत व्यावसायिक हुँदा २० प्रतिशत निर्भाहमूखी किसान छन् ।पालिकावासीको प्रमुख आम्दानीको स्रोत नै तरकारी खेती रहेको उनी सुनाउँछन् । 

गाउँपालिकाबाट वार्षिक रुपमा ८० देखि ९० करोड रुपैयाँ बराबरको तरकारी निर्यात हुने गरेको उनले पालिकाखबरलाई बताए । पालिकामा सबैभन्दा धेरै उत्पादन हुने तरकारी बन्दा हो । यसको निर्यात भारत हुँदै बंगलादेशसम्म हुने गरेको उनी बताउँछन् । बन्दाबाहेक काउली, मुला, गाँजर, आलु, रायो, खुर्सानी छथर जोरपाटीमा उत्पादन हुने प्रमुख तरकारी बाली हुन् । 

उनी भन्छन्, ‘सिजन नभएको बेलामा कहिलेकँही पालिका बाहिरबाट गोलभेडा ल्याइन्छ । अरु तरकारीमा गाउँपालिका आत्मनिर्भर छ ।’ 

गाउँपालिकामा पकेट विकास कार्यक्रमबाट तरकारी खेती सञ्चालन भएका छन् । गाउँपालिकामा ६ वटा वडा छन् । त्यसमध्ये वडा नं २ र ६ का सम्पूर्ण क्षेत्रमा तरकारी खेती हुने गरेको उनी बताउँछन् । उनको अनुसार पालिकाको वडा नं १ र ५ का माथिल्लो भेगका सम्पूर्ण क्षेत्रमा र वडा नं ३ का केही क्षेत्रमा तरकारी खेती गरिन्छ । ‘वडा नं ४ मा पनि गोलभेडा खेती सुरु गरिएको छ,’ कृषि शाखा प्रमुख कार्की भन्छन् । 

कृषि प्रवर्द्धन काेषबाट एक लाख रुपैयासम्म ऋण

गाउँपालिकाले कृषि व्यवसायीलाई प्रोत्साहन गर्नका लागि विगत ३ वर्षदेखि ‘कृषि प्रवर्द्धन कोष’ खडा गरेर ऋण उपलब्ध गराइरहेको छ । सो कोषमार्फत बिना व्याज र बिना धितो १ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइएको उनी बताउँछन् । ‘तरकारी खेती गर्नका लागि ऋण लिएर जाने कृषकहरुले तरकारी बेचेर एक वर्षमै ऋण तिर्नुहुन्छ । पशुपालनको लागि ऋण लैजाँदा ३ देखि ४ वर्षभित्र ऋण चुक्ता गर्नुहुन्छ,’ कार्की बताउँछन् । 

गाउँपालिकालाई नेपाल सरकारले तरकारी जोन घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरणमार्फत तरकारी बालीसम्बन्धी प्राविधिक कर्मचारीहरु पालिकामा कार्यरत छन् । कृषकहरुलाई संघीय सरकारबाट ५० प्रतिशतमा आधुनिक कृषि मेसिनरी वितरण गरेको उनी बताउँछन् । उनका अनुसार कृषकहरुलाई प्लाष्टिक घर, फलामे प्लाष्टिक घर, सिँचाइको लागि पाइप मिनिटिलरलगायत सामाग्री प्रदान गरिएको छ ।

तरकारी खेतीको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा तालिमहरु सञ्चालन गर्ने कार्यक्रम नराखेको गाउँपालिकाका कृषि शाखा प्रमुख मिलन कार्की बताउँछन् । उनी भन्छन् ‘बिगत्मा पालिकाबाट, एनजिओबाट र आईएनजिओबाट कृषकहरुलाई पहिला नै धेरै तालिम दिइएको छ । सबैजना कृषकहरु तालिम प्राप्त हुनुहुन्छ ।’ 

पालिकामा धेरै मात्रामा तरकारी खेती हुने भएकाले गाउँपालिकाले बीउ उपलब्ध गराउन नसकेको उनले बताए । उनको अनुसार एक जना कृषकले नै ३० देखि ४० हजारको त बीउ मात्र खरिद गर्छन् । सबै कृषकलाई निःशुल्क बिउ उपलब्ध गराउन गाउँपालिकाको क्षमता नरहेको बताउँदै उनी भन्छन्, ‘पालिकामा कृषि समूह, कृषि सहकारी सञ्चालनमा छन् । एउटा कृषि सहकारी बराबर २ देखि ३ लाख रुपैयाँसम्मका तरकारीको बीउ वितरण गरेका छौ ।’

उनको अनुसार पालिकामा सबैभन्दा धेरै उत्पादन हुने बन्दामा गाँठे रोगको समस्या बेला बेलामा देखिने गरेका छन् । ‘तरकारीमा रोग, किरा लागे पनि महामारीकाे रुप लिएको छैन । यदि त्यस्तो भएमा गाउँपालिकाले कृषकहरुलाई क्षतिपूर्तीको व्यवस्था गरिने छ,’ उनी सुनाउँछन् ।