close

‘महानगर प्रहरीले कुन बेला धपाउने हो भन्ने डर लागिरहन्छ’

‘महानगर प्रहरीले कुन बेला धपाउने हो भन्ने डर लागिरहन्छ’

Trulli
ADVERTISEMENT

बबरमहल माइतीघरनजिककै गेनी चौधरी एउटा टेबलमा फलफूल तथा चाट बेचिरहेकी छन् । चारखुट्टे काठको टेबलमा खरबुजा, नरिवल, काँक्रो, मेवा, अंगुर, चकुन्दर, अम्बा, कटहर, स्याउ, नास्पाती, ड्रागनफ्रुट मिलाएर प्लेटमा राखेर बेच्दै आएको २५ वर्ष भयो । 

‘म भारतबाट नेपाल आएको ३० वर्ष भयो,’ गेनी भन्छिन्, ‘नेपाल आएदेखि सुरु गरेको र मन लागेको काम भनेको नै फलफूल र चाट बेच्ने हो।’

सुरुवाती दिनमा प्रतिप्लेट १५, ३०, ६० रुपैयाँ हुँदै अहिले प्रतिप्लेट मिक्स फलफूलको एक सय रुपैयाँ लिने गरेको गेनी बताउछिन् । यति भन्दै गर्दा दुई जना साना बालबालिका आए । उनीहरुलाई प्रतिप्लेट ५० रुपैँयामा दुई प्लेट चाट बेचिन् । 

मनमा खुल्दुली लागेर प्रश्न गरेँ, ‘दिदी ! प्रतिप्लेट एक सय रुपैयाँ भन्नुभएको होइन र ?’ जवाफमा उनी पहिले मुस्कुराइन् । अनि भनिन्, ‘मेरा बालबच्चा पनि केही समय भोकै बस्नु परेको थियो । तर अहिले त्यस्तो अवस्थाबाट म टरिसकेँ । मेरा बच्चाहरू भोकै सुतेको रोइरहेको आँखाअगाडि झलक आउँछ। बच्चाले आन्टी त्यो दिनुस् न भन्दा मन झसंग हुन्छ। सबैको बच्चा उही त हो नि ! मेरोमा आएका जोकोही पनि पैसा छैन भनेर खालीमुख नजाओस् भनेर पनि कम या सित्तैमा पनि दिन्छु । दिनमा ५/७ प्लेट बाटोमा भोकै सुतेको मान्छेहरुलाई पनि खुवाउँछु।’

‘अनि यहाँ फलफूल काट्दा निस्केको बोक्रा के गर्नुहुन्छ त ?’ मेरो अर्को प्रश्न थियो गेनीलाई । त्यसको जवाफमा उनले भनिन्, ‘यहाँ नजिकै गाईबस्तु पाल्ने दाजु हुनुहुन्छ। उहाँले मेरा वस्तुलाई खुवाउन हुन्छ राखिदिनू भन्नुहुन्छ, त्यसैले एउटा बोरामा हालेर राख्ने गरेको छु।’

गेनीको विवाह १६ वर्षको उमेरमा भयो। त्यो पनि बुवाआमाले हेरिदिएको केटासँग । ‘बाआमाले रोजिदिएको केटा राम्रो होला भन्ने लागेर ‘हुन्छ’ पनि भनियो,’ उनी भन्छिन्, ‘हुन्न भनेर पनि सुख थिएन।’ श्रीमान् परिवारको एक्लो छोरा रहेछ । लाड–प्यारमा हुर्किएको बुबा आमाको आँखाको नानीझैँ। जे गरे पनि ठीक मान्ने । मागेको कुरा एक वचनमा दिइहाल्ने । तर उनी खराब संगत र लतमा फसेका रहेछन् भनेर गेनीले विवाहपछि मात्रै थाहा पाउनुभयो।

‘श्रीमान् जाँडरक्सी खाने, जुवातास खेल्ने बानीले मलाई धेरै नै कठिन हुन्थ्यो,’ उनी सुनाउछिन्, ‘विवाहको केही समयपछि नेपाल आएपछि त झन आफैँ कमाउने, कमाएको पैसा सबै मदिरा खाएर बाटोमै सुत्ने अनेक पीडा खप्नुपर्यो।’

‘आजभन्दा २० वर्षअगाडि फलफूल तथा चाट बेच्दा दिनको एक हजारदेखि १२ सय आम्दानी हुन्थ्यो । त्यतिले ४ सन्तान पढाउन पुराउँथें,’ उनी भन्छिन्, ‘मेरो अवस्था अत्यधिक नाजुक भएर पनि त्यतिबेला जेठो छोरालाई पढाउन सकिएन।’

अहिले गेनीसहित श्रीमान्, तीन छोरी र दुई छोरालाई त्यही फलफूल बेच्ने कामले पाल्दै आएको गर्वका साथ सुनाउछिन् । दुःखसुख गरेर छोराछोरीलाई कक्षा १० सम्म पढाइन् गेनीले। त्यसपछि उनीहरुको विवाह खर्च पनि त्यही पेसाले नै धान्यो । 

‘मलाई पैसा मात्र होइन, इज्जतका साथ हात मुख जोड्न पुगे हुन्छ,’ उनी भन्छिन्, ‘श्रीमान्ले बाटोमा कुट्ने गरेकाले गौशाला, रंगशाला, रत्नपार्कतिर जान छोडेकी छु । तेरो पोइ होइन तलाई कुट्ने ? भनेर अरुले औँला देखाँउदा मन खिन्न हुन्छ।’

पहिले–पहिले काम गर्न लाज लाग्ने गर्थ्यो गेनीलाई। तर बिस्तारै–बिस्तारै लाज आफैँ लजायो। ‘पैसा कमाउन थालेपछि राति निन्द्रा पनि मज्जाले लाग्ने रहेछ,’ उनले कमाइको सोलोडोलो हिसाब निकालिन्, ‘जेठो छोराले पनि यही काम गर्छ। उसले दिनको २ हजारदेखि २५ सय कमाउँछ । यता मैले दैनिक २५ सय देखि ३ हजारसम्म कमाउँछु । कहिलेकाहीँ आन्दोलन भयो भने त पाँच हजार पनि हुन्छ।’

आन्दोलनले सम्बन्धित पक्षलाई फाइदा पुग्ला नपुग्ला, तर गेनीको व्यापारलाई भने फाइदा पुग्छ । यसअघि गेनीले गौशालामा बोतलमा पानी बेचेकी थिइन् । त्यहाँ व्यापार राम्रो नभएपछि रंगशालामा गएर पानी र चुरोट बेच्न थालिन् । ‘त्यहाँ प्रहरीले बस्न दिएन। त्यसपछि उपयुक्त ठाउँ खोज्दै बबरमहल आएँ । यहाँ राम्रो व्यापार भयो। सबैभन्दा राम्रो व्यापार यहीँ आएर भएको हो,’ थोरै चिन्तित हुँदै भन्छिन् । ‘यो ठाँउ छोड्न मन छैन । तर महानगर प्रहरीले कुन बेला धपाउने हो भन्ने डर लागिरहन्छ।’ रुपेश आचार्य/आइएनएस