काठमाडाैं - दिसा नचिन्नेका लागि फोहर हो; चिन्नेहरुका लागि मोहर । दिसा चिन्नेले प्रशोधन गरी ग्याँस, मल र पानी उत्पादन गरी आयआर्जन गर्न थालेका छन् । नचिन्नेलाई साेही दिसाकाे व्यवस्थापन गर्न टाउकाे दुखाईकाे विषय बनेकाे छ ।नेपालकै सन्दर्भमा पनि धेरै स्थानीय तहले दिसा प्रशोधन केन्द्र निर्माणको काम तीव्र बनाएका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुमा स्थानीयको सेफ्टी ट्यांकीबाट निस्केका दिसाजन्य लेदोलाई प्रशोधनको सुरुवात भएको छ । नगरपालिकाबाट निस्केका दिसा ट्यांकरले प्रशोधन केन्द्रसम्म पुर्याउँछ । उक्त लेदो प्रशोधन भई निस्केका सबै चिज पुन: प्रयोग गर्न मिल्छ । त्यहाँबाट निस्केका दुर्गन्धबाट ग्याँस, दिसाको खोस्टाबाट मल र थिग्रिएर प्रशोधित पानीलाई समेत करेसाबारीमा प्रयोग गर्न सकिने नगरपालिकाले जनाएको छ ।
हेल्प फर चिल्ड्रेन नामक सामाजिक संस्थाको जग्गामा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)को आर्थिक तथा प्राविधिक सहयोगमा पाइलट प्रोजेक्टको रुपमा सन् २०१५ मै निर्माणको काम सुरु भएको थियो । त्यसपछि विविध समस्याका कारण बन्द भएको उक्त प्रशोधन केन्द्र आजदेखि पुन: सञ्चालनमा आएको हो ।
महालक्ष्मी नगरपालिका, हेल्प फर चिल्ड्रेन र एन्फोको सहकार्यमा उक्त परियोजनाको सुरुवात भएको हो । दिसा नै प्रशोधन भएपछि एकातिर नदी तथा खुला वातावरणीय सरसफाइमा टेवा पुगेको छ भने अर्कोतिर दिसाको पुन: प्रयोगबाट सिँचाइमा सहयोगसँगै आर्थिक लाभ भइरहेको छ । प्रशोधन केन्द्रबाटै बार्षिक ७९९ घनमिटर बायोग्याँस उत्पादन हुन्छ भने ६९ घनमिटर प्राङ्गरिक मल र ५२४ घनमिटर प्रशोधित पानी निस्कन्छ । जुन पानी बोटविरुवाका लागि अति पोषणयुक्त हुन्छ ।
त्यस्तै, काठमाडौं, बर्दिया, स्याङ्जा र काभ्रेमा लेदोजन्य दिसा प्रशोधनका लागि प्रशोधन केन्द्र निर्माणको काम तीव्र भइरहेको छ । बर्दियाको गुलरिया नगरपालिकामा पनि दिसा प्रशोधनको काम भइरहेको छ । गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवका अनुसार दिसा प्रशोधनका लागि ४ हजार क्षमताको ट्याङ्की छ । सुरुवाती चरणमा लेदो प्रशोधन गरी पानी र खोस्टामात्र छुट्याउने प्रविधि रहेको उनको भनाइ छ ।
नगरपालिकाका अनुसार बढ्दो बजारीकरण र जनसंख्याको चापका कारण यसलाई थप व्यवस्थित गरी बायोग्यास, मल र सिँचाइका लागि पानी उत्पादन हुने प्रविधिबारे पनि अहिले अध्ययनको काम भइरहेको छ । गुलरियामा दिसा प्रशोधनको काम ६ वर्षयता जारी छ ।
यता बर्दियाकै मधुवन नगरपालिकामा दिसा प्रशोधन केन्द्र निर्माणको काम तीव्र भइरहेको छ । नगरपालिकाका मेयर तेज बहादुर भाटका अनुसार ४ वर्षदेखि निर्माणको थालनी भएको हो । साढे २ करोडको लागतमा कर्णाली जल परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण कार्य तीव्र बनाइएको नगरपालिकाका मेयर भाटले पालिकाखबरलाई बताए । मधुवन-६ गुप्तनगर निर्माणको काम भइरहेको हो । यसै वर्षभित्र सकेमा ग्याँस, मल र पानीको खरिदबाट नगरपालिकालाई बर्सेनि लाखौं आम्दानी हुने मेयर भाटको भनाइ छ ।
काभ्रेको धुलिखेल नगरपालिकाले दिसा प्रशोधनबाटै दैनिक ५ सिलिन्डर भर्ने गरेको नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु श्रेष्ठले पालिका खबरलाई बताए । उनका अनुसार नगरपालिकालाई यसबाट आम्दानी भइरहेको छ तर त्यो महत्त्वपूर्ण होइन । त्यो भन्दा धेरै फाइदा त घर, शहर, नदीनाला र वातावरण सफा भएको छ । साथै जैविक विविधमा सहयोग पुगेको छ । धुलिखेल नगरपालिका- ५ श्रीखण्डपुरमा गतवर्षदेखि सञ्चालनमा आएको उक्त प्रशोधन केन्द्रको क्षमता दिनमा ५ हजार किलोभन्दा माथिको छ ।
नगरप्रमुख श्रेष्ठका अनुसार धुलिखेल बजारबाट निस्किने दिसामध्ये ६१ प्रतिशत त्यही प्रशोधन केन्द्रमा आउँछ । उनका अनुसार हिजो छि:छी भनिने दिसा आज आम्दानीको स्रोत बनेको छ ।
स्याङ्जाको वालिङ नगरपालिकाले पनि कामको सुरुवात गरेको छ । वालिङ-१ मजुवामा दिसा प्रशोधन केन्द्र निर्माणका लागि टेन्डर प्रक्रिया सकिएको नगरपालिकाकी उपप्रमुख कविता गैह्रेले पालिका खबरलाई बताइन् । वालिङको उक्त कार्यमा पनि वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)को आर्थिक तथा प्राविधिक सहयोग रहेको नगरपालिकाले जनाएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा दिसा प्रशोधन केन्द्र बन्ने भएको छ । दिसा प्रशोधन गर्ने प्लान्ट निर्माणको लागि काम भइरहेको भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले पालिकाखबरलाई बताए । 'प्लान्ट निर्माणको लागि आवश्यक पर्ने जमिन वडा नम्बर १३ मा व्यवस्था भएको छ,' उनले भने ।
नगरपालिकामा बसोबास गर्नेको सेफ्टिक ट्याङ्कीबाट निकालिएको दिसाजन्य लेदो व्यवस्थापन गर्ने कुनै निश्चित स्थान नहुँदा वातावरणीय प्रदुषण र मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएपछि यस कामको सुरुवात गरिएको हो ।
सरकार आफैँले पनि काठमाडाैं उपत्यकाकाे दुई स्थानमा दिसाजन्य लेदाे प्रशाेधनका लागि ठूला क्षमताका प्रशाेधन केन्द्र निर्माण गरिरहेकाे छ । उपत्यकाकाे बालकुमारी र धाेबिघाटमा प्रशाेधन केन्द्र निर्माणाधीन छ ।