तनहुँ । बाह्र वर्षपछि खोला पनि फर्किन्छ भनिन्छ तर नवीनलाई जन्मघर फर्कन भने तीन दशक लागेको छ । तर ढिलै गरी फर्किए पनि उहाँको सोच नवीन नै छ । केही गरौँ भन्ने हुटहुटी छ, आफ्नै जन्मस्थल बनाउने ।
तनहुँको व्यास नगरपालिका–८ रिस्ती बाहुन पोखराका नवीनराज पौडेलसँग नयाँ आलिसान घर बनाउन पैसा त छ तर रहर छैन । सञ्चारकर्मी, सञ्चार उद्यमी र राजनीतिकर्मीसमेत रहेका पौडेल अहिले आफ्नो पुख्र्यौली घरलाई चिरिच्याँट्ट पार्न व्यस्त छन् । उनी भन्छन्, 'आफ्नो पुर्खाको चिनोका रूपमा रहेको घर मलाई इतिहासजस्तो लाग्यो । जिउँदो संस्कृतिजस्तो लाग्यो । त्यसैले यसलाई मर्मतसम्भार र संरक्षणमा लागेको छु ।'
बाहुनपोखरामा जन्मिएर प्राथमिक शिक्षा त्यही आर्जन गरेका उनी समय र परिस्थितिले चितवन झरे । चितवनको घरमा आमाबुवा बस्ने र आफूचाहिँ पुख्र्यौली घर सम्झिँदै आएको उनको भनाइ छ । उनले आफ्नो दुई दशकभन्दा बढी सञ्चारकर्म गर्दा काठमाडौँमा पनि बासस्थानको व्यवस्था गरेका छन् । पछिल्लो समय घर देशलाई छाडेर परदेश जाने र उतै कमाउने अनि उतै रमाउने युवा जमात बग्रेल्ती छ । गाउँबाट बेसी अनि सहर हुंँदै विदेशका सहरमा गएर उतै हराउने नियति नै बनिसकेको छ, हाम्रा युवाको ।
नवीनलाई विदेशमा पलायन हुन मोह कहिल्यै लागेन । उनले भने, 'मलाई विदेश बस्ने, व्यवसाय गर्ने, कमाउने अफर नआएको होइन तर मलाई विदेशी भूमिमा आफ्नो रगत पसिना बगाउन मन नै लागेन ।' उनी यतिबेला पुख्र्यौली गाउँ बाहुनपोखरा बेलथुम्कीमा रहेको घरलाई स्याहारसुसार र मर्मतमा तल्लिन छन् । त्यतिमात्रै होइन, उनले विभिन्न जातका आंँप, लिची, एभोगाडो, अम्बा, कागती, मौसम, जुनार, अनार, कटहर, बेल, भोगटे, नासपाती, आरू, नरिवल गरी ५० थरिका बिरूवा रोपेर बगैँचा बनाएका छन्।
यसअघि काठमाडौँ र चितवनमा समेत बसोबास गर्दै आएका उनलाई अहिले जन्मघरले तानेको हो । जन्मघरको मायाले मात्र होइन, उनलाई गाउंँघरका साथीभाइ र इष्टमित्रको सम्बन्धले समेत तानेको छ । यद्यपि उनी क्षणिक समयका लागि गाउंँ नफर्किएको दाबी गर्छन् ।
उनले हालैमात्र रिस्ती विकास समाज नामको संस्था खोलेका छन् । उक्त संस्थामार्फत गाउँको विकास र उन्नयनमा लाग्ने सपना बोकेको उनले सुनाए । उनले भने, 'फर्केर मात्र भएन गाउंँलाई परिवर्तन र यसको मुहार फेर्नु मजस्ता युवाको कर्तव्य पनि हो ।'
उनले सुरुआती चरणमा एक दशकदेखि बन्न नसकेको स्वास्थ्यचौकी भवन बनाउन पहल सुरु गरेका छन् । उनले भने, 'पहिला स्वास्थ्य सेवाबाटै कामको थालनी गरौँ, त्यसपछि बाटोको स्तरोन्नतिमा पनि मेरो सक्रियता बढ्छ ।'
पछिल्लो समय विकास नेपालका अधिकांश गाउंँहरू पुगे पनि घरहरू रित्तै र बेवारिसेरूपमा छाडिएका छन् । बस्ती पातलिएको छ । जमिन उजाड खरबारीमा परिणत भएको तीतो यथार्थ त छँदैछ ।
उनले विभिन्न सामाजिक सेवाहरू गाउंँ–गाउंँमा पु¥याउने सोच राखेका छन्। सामाजिक काममा अघि बढ्न थालेपछि सबै छिमेकी र स्थानीयको मुहारमा आशा जागेको छ । स्थानीयवासी देवीप्रसाद पौडेल नवीन गाउंँ फर्किँदा सबैलाई आशा र भरोषा बढेको बताउँछन् । अर्का स्थानीयवासी मन्जु तिमिल्सेना नवीनको आगमनले रिस्तीमा उत्साह बढेको र स्वास्थ्यचौकी बन्छ भन्नेमा ढुक्क भएको बताए ।