close

नरसिंहकोटमा  थपिँदै पर्यटन पूर्वाधार

नरसिंहकोटमा  थपिँदै पर्यटन पूर्वाधार

Trulli
ADVERTISEMENT

बागलुङ । उदीयमान सहर बुर्तिबाङको शिरमा छ नरसिंहकोट । बागलुङको निसीखोला गाउँपालिका–७ मा स्थित नरसिंहकोटको धार्मिक, पर्यटकी तथा ऐतिहासिक रूपमा निकै चर्चित ठाउँ हो । 

पर्यटकीय हिसाबले चर्चित भए पनि पूर्वाधार नबन्दा केही वर्ष अगाडिसम्म पर्यटकको आगमन न्यून थियो । जब निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दियो, त्यसपछि यहाँ दैनिकी पर्यटक आउन थालेका छन् । गाउँपालिकाले पनि नरसिंहकोटलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणमा जुटेको छ । 

नरसिंहकोट पुरोना राज्यसमेत भएको हुँदा यहाँ पर्यटकहरू बढी आउने गरेको पाइन्छ । तत्कालीन बाइसे चौबिसे राज्य हुँदा जिल्लाको धेरै ठाउँमा विभिन्न राजाहरूले राज्य सञ्चालन गरेको पाइन्छ । त्यसमध्ये नरसिंहकोटमा पनि भूरे राजाले राज्य सञ्चालन गरेको इतिहास छ । पहिले राज्य सञ्चालन भएको यस ठाउँ प्राकृतिक रूपमा मनोरम हुँदा आगन्तुकको आकर्षण बढ्दो छ । केही वर्षयता यहाँ निसीखोला गाउँपालिकाको धार्मिक तथा पर्यटकीय गन्तव्य निर्माण गर्न मठमन्दिर लगायतका संचरना निर्माण गरिरहेको छ । तत्कालीन अवस्थामा भूरे राजाले दरबार बनाएर करिब आठ वर्ष राज्य सञ्चालन गरेको स्थानीय ८३ वर्षीय टीकाबहादुर कुँवर बताउँछन् । 

करिब एक दशक राज्य सञ्चालन गर्दा यहाँ राजा बस्ने दरबार, पौवाहरू निर्माण भएको र विस्थापित भएपछि सबै संचरनाहरू जीर्ण भएर भत्किएको कुँवरले बताए । दरबार तथा पौवा निर्माण भएको स्थानमा केही वर्ष अगाडिसम्म भग्नावशेष भेटिने गरेको स्थानीयवासीको भनाइ छ । यस ठाउँमा राजकुट पनि छ । राजकुट र नरसिंहकोटको सम्बन्ध रहेको बूढापाका बताउँछन् ।

नरसिंहकोटमा राजा कुटिएका थिए 

नरसिंहकोट र राजकुटको नजिक–नजिक पर्छन् । नरसिंहकोट अग्लो डाँडामा छ भने त्यही तलतिर राजकुट गाउँ छ । ‘राजकुट’ तत्कालीन बाइसे चौबिसे राज्य हुँदा भुरे राजाले बसोबास गरेको हुँदा ‘राजकोट’ भन्ने गरिएको र अहिले आएर ‘राजकोट’लाई राजकुट भन्ने गरिएको कुँवरको भनाइ छ । ‘नरसिंहकोट’ भने राजाले पूजाआजा गर्ने नरसिंह देवताको नामबाट नामकरण भएको कुँवरले बताए। भूरे राजा र प्यूठानी राजाबीच युद्ध भएको र प्यूठानी राजले भूरे राजाको वंश नाश गरी दिएसँगै उहाँका सयौँ सिपाहीहरूको युद्धमा ज्यान गएको कुँवर बताउँछन् ।

उनका अनुसार प्यूठानी राजाले भूरे राजाका धेरै सिपाहीलाई भिरबाट खसालेर मारेको र राजाको वंश नाश गरिदिएपछि उनीहरूको स्मृतिमा नरसिंहकोटमा ‘नरसिंह मन्दिर’ निर्माण गरिएको बताए। उनै राजाले पुज्दै आएको ‘नरसिंह’ देवताको व्यवस्थापनका लागि मन्दिर स्थापना गरिएको कुँवरको भनाइ छ ।

नरसिंहकोटमा अहिले पनि अहिले पनि मन्दिर छ । अहिले गाउँपालिकाले मन्दिरको जीर्णोद्वार गरेको छ । मन्दिर जीर्णोद्वारपछि चिटिक्क बनेको छ । जहाँ हरेक वर्षको नवदुर्गाको दिन धुमधामका साथ पूजाआजा गरिन्छ भने पशुपक्षीको बलि पनि चढाइने गरिन्छ । मन्दिरमा वैशाखे पूर्णिमा, मङ्सिरे पूर्णिमालगायत चतुर्दशी पूर्णिमामा समेत पूजाआजा हुने गर्दछ । यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । 

केही वर्ष अगाडिसम्म दरबारका भग्नावशेष भेटिने गरेको स्थानीयवासी बताउँछन् । अहिले उक्त भग्नावशेष हराउँदै गएको हुँदा फेला पार्न नसकिने उनीहरूको भनाइ छ् । राजाले राज गरेको क्षेत्रमध्ये हाल गरिब एक सय रोपनी गुठीको जग्गा रहेको छ । त्यसमध्ये केही खेत र केही बाँझो जमिन बताइएको छ । ‘नरसिंहकोट’ क्षेत्र अत्यन्तै रमणीय छ । 

पूर्वाधार थप्दै स्थानीय सरकार

स्थानीय सरकार गठनपछि निर्वाचित जनप्रतिनिधिले थालेको नरसिंहकोट प्रवरद्धन अभियान अहिले पनि सञ्चालन भइरहेको छ । राजा विस्थापित भएपश्चात् निर्माण गरिएको नरसिंहकोट मन्दिरलाई गाउँपालिकाले संरक्षण तथा व्यवस्थापन गरिरहेको छ । राजकुटमा पर्ने नरसिंहकोट निसीखोलाको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचत छ । अग्लो पहाडीको टुप्पोमा समथर भू–भागमा फैलिएको नरसिंहकोटले आन्तरिक मात्रै नभई विदेशी पर्यटकलाई पर्खिरहेको छ ।

पछिल्लो समय आन्तरिक पर्यटकसमेत बढ्दै गएको र भौतिक पूर्वाधार निर्माणलाई पनि थप व्यवस्थित र पर्यटन मैत्री बनाउन थालेको निसीखोला गाउँपालिका–७ का अध्यक्ष दीपक कुँवरले (दीपु) जानकारी बताए । दैनिकजसो आन्तरिक पर्यटक मन्दिरमा आउने गरेको बताए। बुर्तिबाङ बजारदेखि नजिक रहेको हुँदा गाडीमा १ घण्टा र पैदल यात्रामा साढे १ घण्टामा पुग्न सकिन्छ । 

अध्यक्ष कुँवरका अनुसार पर्यटन पदमार्ग निर्माणसँगै पर्यटन पार्क, पाटी, पौवा, घेराबार, झाडी व्यवस्थापन, पुराना संरचनाको पुनः निर्माण लगायतका काम भइरहेका छन् । चालु आर्थिक वर्षमा निसीखोला गाउँपालिकाबाट ११ लाख र गण्डकी प्रदेश सरकारबाट विनियोजित रु आठ लाखले कालिका मन्दिर निर्माणसँगै पदमार्ग विस्तार गरिरहेको उनकाे भनाइ छ । 

अध्यक्ष कुँवर भन्छन्,  'अहिले नरसिंहकोटलाई फरक देख्न पाइन्छ, पहिलेको तुलनामा अहिले धेरै व्यवस्थित भएको छ । यहाँसम्म आउने सडक, पदमार्गलाई पनि हामीहरूले सहज बनाएका छौँ । त्यही भएर पनि होला पर्यटकहरू सधैँ आउनुहुन्छ । अब बढी त बिदा र चाडपर्वको बेला आउनुहुन्छ । यो ठाउँ वनभोजका लागि उपयुक्त हुँदा धेरै मान्छेहरू वनभोजका लागि पनि आउँछन् । यहाँ अझै संरचना निर्माण गर्न बाँकी छ । बिस्तारै पूरा गर्दै जाने गरी काम भइरहेको छ ।'

यहाँबाट बुर्तिबाङ बजार स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ भने बागलुङको विभिन्न स्थान, म्याग्दी, प्यूठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँची लगायतका जिल्ला देख्न सकिन्छ भने धौलागिरि हिमाललगायत दर्जनौँ हिमशृङ्लाहरू र उच्च पहाडी भेगहरूको अवलोकन गर्न सकिन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकको केन्द्रमा रहेको हुँदा यहाँ भारतीय पर्यटकलाई बढी भित्र्याउन सकिने देखिन्छ ।