close

जेब्राक्रस र आकाशे पुल नदेख्ने पैदलयात्रीलाई कारबाही गर्न कानुन नै छैन

जथाभावी बाटो काट्ने यात्रुहरूका कारण दुर्घटना हुँदा पनि चालक नै दोषी ठहरिन्छन्, यहाँको नियम नै यस्तै छ ।

जेब्राक्रस र आकाशे पुल नदेख्ने पैदलयात्रीलाई कारबाही गर्न कानुन नै छैन

जथाभावी बाटो काट्ने यात्रुहरूका कारण दुर्घटना हुँदा पनि चालक नै दोषी ठहरिन्छन्, यहाँको नियम नै यस्तै छ ।

Trulli
तस्बिर : राधिका श्रेष्ठ
ADVERTISEMENT

दिउँसोको १२ बज्न केही मिनेट मात्र बाँकी थियो । कार्यालय समय झैँ सडकमा भिडभाड पनि थिएन । सवारी साधन आफ्नै गतिमा गुडिरहेका थिए । त्यही गाडीलाई दायाँ-बायाँ पार्दै पैदल यात्रुहरू सडक काटिरहेका थिए । लाग्दै थियो, मानौँ उनीहरूको मनभित्र यति धेरै विश्वास खाँदिएको छ की त्यो गाडीरूपी मेसिनमा कहिल्यै यान्त्रिक गडबडी आउँदैन । ब्रेकफेल हुनै सक्दैन अनि चालकले यता उता हेर्दा गाडीले आफूलाई दुर्घटनामा त पार्दै पार्दैन । 

सार्वजनिक यातायातमा यात्रा गर्दा सडक छेउछाउका दृश्य कस्तो देखिन्छ भनेर पालिका खबरको टोली पनि बानेश्वरबाट कोटेश्वर हुँदै ललितपुर जावलाखेलसम्मको सार्वजनिक बसको यात्रामा निस्किएको छ, अहिले ।

हामी जस्तै यो बसमा यात्रा गर्ने यात्रुहरू ती बटुवाहरूको आँट देखेर मुग्ध नै बन्दै थिए । सायद विगतमा आफूले पनि यस्तै गल्ती गरेको महसुस गर्दै थिए कि थिएनन् ? 

नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, जहाँ अहिले संघीय संसद‍्को भवन छ । हो त्यसकै अगाडि जेब्राक्रसिङ पनि छ । कस्तो ट्राफिक लाइट बल्दा बाटो काट्ने अनि कहिले नकाट्ने भनेर जेब्राक्रसिङका दुई छेउमा रहेका बत्तीले कहिले रातो र कहिले हरियो बलेर संकेत गरिरहन्छ । तर, ट्राफिक लाइटको वास्तै नगरी हस्याङफस्याङ गर्दै बाटो काटिरहेको दृश्यबाट कमसे कम हामी नेपालीले अचम्म मान्नु पर्दैन । 

उता तीनकुनेबाट कोटेश्वर नपुग्दै ट्राफिक जाम सुरु भयो । ट्राफिक प्रहरीले गाडीहरूलाई अगाडि बढ्न संकेत गरिरहेकै थिए । हामी चढेको बसले जामलाई छिचोलेर अघि बढ्ने तरखर गरिसकेको थियो । त्यही बेला एक जना पैदल यात्रीले ज्यानको बाजी थापेर दौडिँदै बसै अगाडिबाट बाटो काटे । मुटु बलियै रहेछ, उनको । 

हुनसक्छ, उनी यति हतारमा थिए की बाटो काट्न केही मिनेट धैर्य गर्न सकेनन् । लाग्यो, उनलाई आफ्नो जिन्दगीभन्दा ठूलो बाटो पार गर्नु रहेछ । धन्य, गाडी चालकहरूले हतार गरेनन् । केही अप्रिय घटना भएन । 

कोटेश्वरको भाटभटेनीनिर आकाशे पुल बनाइएको छ । तर, हाम्रो बस नजिकैबाट एक युवतीले आकाशे पुललाई आकाशतिर पार्दै बीच सडकबाटै बाटो काटिन् । उनलाई पनि निकै हतारो थियो होला । सायद बाँच्नुभन्दा पनि हतारो । एकछिन त लाग्यो, यो बस वा सडकका गुडेका अन्य कुनै सवारी साधनमा यान्त्रिक गडबडी भइदिएको भए उनको पनि ज्यान जान सक्थ्यो । सायद उनलाई पुल चढेर ओर्लन लाग्ने समयभन्दा छिटै गन्तव्यमा पुग्नु छ । ज्यानकै बाजी थापेर भए पनि । 

ग्वार्को  पुगेर जवालाखेलतिर लाग्दा पाटनको प्रयाग पोखरीमा बालिकाहरूको एक समूह एकअर्काको हात समातेर बाटो काटिरहेका थिए । साँघुरो सडक सवारी साधन भने बाक्लै थिए । सायद उनीहरूलाई अहिलेसम्म कसैले सिकाएका छैनन् होला, जेब्राक्रसिङबाट बाटो काट्नु पर्छ भनेर । सरकारले जेब्राक्रसिङबाट बाटो काट्न विज्ञापन त गर्छ । तर, ती कलिला नानीहरूले त्यो सन्देशको मर्म बुझेका होलान् त ? 

उता नयाँ बानेश्वरकै पानीट्यांकी अगाडिको आकाशे पुलको पनि उपयोग भएको देखिँदैन । प्राय मानिस सडकबाट नै बाटो काट्ने गर्छन् । आकाशे पुल खाली हुन्छ अनि बाटो काट्ने मानिस र सवारी साधनले सडक अस्तव्यस्त हुन्छ । 

०००

काठमाडौँको एक फन्को लगाउने हो भने सधैँ नै पैदल यात्री हतारोमा देखिन्छन् । अनि सवारी साधनहरू पनि कम हतारोमा हुँदैनन् ।

‘पहिला तपाईँ!’ भन्ने मान्यता यहाँका सवारी चालक र पैदलयात्रुमा छैन भन्दा अप्ठेरो मान्नु पर्दैन । लाग्न चालकलाई ब्रेक थिच्दा आत्मसम्मानमा ठेस पुग्छ अनि एकैछिन साइड लाग्दा पैदलयात्रुको अहम्मा । 

पछिल्लो आर्थिक वर्ष ०७७/०७८ मा उपत्यकामा ९ हजार पाँच सय ४५ सवारी दुर्घटनामा भएका थिए । जसमा १६७ जनाको मृत्यु भयो भने २२६ जना गम्भीर घाइते र अङ्गभङ्ग भए । दुर्घटनामा परेर सामान्य घाइते भएकाको संख्या त ७ हजार ९५ थियो । 

यस अघि आव ०७६/०७७ मा १० हजार ३० वटा सवारी दुर्घटना भएका थिए । त्यस वर्ष सवारी दुर्घटनामा परेर १५३ जनाले ज्यान गुमाए । गम्भीर घाइते र अङ्गभङ्ग हुने २४२ जना थिए । ६ हजार ६८४ साधारण घाइते बने ।  

अझ एक वर्ष अगाडि जाने हो भने आव २०७५/७६ मा ८ हजार ५ सय ११ वटा सवारी दुर्घटना भए । जसमा परेर २५४ जनाको मृत्यु भयो भने ३१७ जना गम्भीर घाइते बने । ५ हजार ९१३ साधारण घाइते भएका थिए ।  

यो त्यो बेलाको तथ्यांक हो जति बेला नेपासँगै सारा विश्व कोरोना महामारीको चपेटा थियो । लकडाउन गरिएको थियो । जोर बिजोर प्रणाली लागू गरिएका थिए ।

उपत्यकामा अहिले पनि साना ठुला गरेर दैनिक सयौँ सवारी दुर्घटना हुन्छन् । पैदलयात्रीले जथाभावी बाटो काट्दा दुर्घटना भएका घटनालाई समेत सवारी दुर्घटनामा समावेश गरिने गरिएको महानगरीय ट्राफिक प्रहरीका डिएसपी बालनरसिंह राणा बताउँछन् । 

पहिले पैदल यात्रुले जेब्रा क्रसिङ र आकासे पुल प्रयोग नगरी बाटो काट्ने वा फुटपाथबाट नहिँडी सडकबाट हिँड्दा २०० रूपैँयासम्म जरिवाना लिइने नियम थियो । अहिले त्यो पनि खारेज छ ।

‘काठमाडौँ देश भरका नागरिकको गन्तव्य हो । यहाँ ट्राफिक नियम नजानेका मानिसहरू पनि आउँछन् । त्यसैले जरिवानाको नियम उचित नभएको भन्दै धेरै गुनासो आउन थाले । त्यसैले २०७८ सालमा यो नियम खारेज भयो,’ डिएसपी राणाले पालिका खबरसँग भने । 

हाल ट्राफिक प्रहरीसँग जथाभावी सडकमा हिँड्ने पैदलयात्रुलाई कारबाही गर्ने कुनै कानुनी अधिकार छैन । पैदलयात्रु सवारी दुर्घटनामा परे बिमाबाट घटनाको प्रवृत्ति अनुसार क्षतिपूर्ति लिने गर्छन् । 

‘सवारी चालकले सुरक्षित भएर गाडी चलाउने मात्र नभई अरू यात्रु वा चालकको गल्तिलाई पनि बचाउन जान्नु पर्छ,’ डिएसपी राणा भन्छन् । 

अहिलेसम्म ट्राफिक प्रहरीसँग पैदलयात्रीको गल्तीका कारण दुर्घटना भएको कुनै पनि तथ्यांक छैन । सम्पूर्ण दुर्घटना सवारी साधनले ठक्कर दिएर भएका दुर्घटनाको सूचीमा समावेश हुने गरेका छन् । जथाभावी बाटो काट्ने यात्रुहरूका कारण दुर्घटना हुँदा पनि चालक नै दोषी ठहरिन्छन् । यहाँको नियम नै यस्तै छ । 

आम मानिस आफै सचेत भएर सुरक्षित तरिकाले सडकमा हिँड्नुपर्ने डिएसपी राणाको धारणा छ । उनी भन्छन्, ‘ट्राफिक नियम कसैलाई नियन्त्रण गर्नभन्दा पनि नागरिकको सुरक्षाको लागि बनाइएको हुन्छ । यसको पालना गर्नु आफ्नै सुरक्षा गर्नु पनि हो ।’ 

त्यसैले अहिलेसम्म नेपालको सन्दर्भमा भन्ने गरिन्छ, ‘सवारी दुर्घटनामा जो बाँच्छ, उनै गलत ठहरिन्छ । मर्ने सही हुन्छ । अनि सधैँ सानाभन्दा ठुला साधन कै मात्र गल्ती देखाइन्छ ।’