आज जेठ ३१ गते, मंगलबार । एकै घण्टीमा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलको फोन उठ्यो । मैले औपचारिक सम्बोधन गरेर आफ्नो र पालिका खबरको परिचय दिएँ । उहाँ जानकार हुनुहुँदो रहेछ । मलाई चाहिने समय मागेँ । मेयर पोखरेलको सकारात्मक प्रतिक्रियापछि मैले संवाद रेकर्ड गर्ने अनुमति पनि मागेँ ।
स्थानीय सरकार प्रमुखमा निर्वाचित भएपछि पोखरेलको दैनिकी फेरिएको छ । जनतासँग गरेका वाचा पुरा गर्नै पनि उनले दैनिकी फेर्नै पर्ने थियो । स्वाभाविक रुपमा फेरिएको पनि छ । नेपाली काँग्रेसको क्षेत्रीय सभापति हुँदा नै उनी व्यस्त हुन्थे । त्यसमाथि अहिले नगर प्रमुखको गहन जिम्मेवारी समेत थपिएको छ । हुनत मेयरमा निर्वाचित भएपछि थप जिम्मेवार हुनुपर्ने रहेछ भन्ने पोखरेललाई लागेको छ ।
‘अहिले त बिहान ५ बजे नै उठ्छु, नत्र भ्याइँदैन’ उनी मसिनो हाँसोका साथ हौसिँदै थप्छन्, ‘दायित्व र जिम्मेवारी बढेको महसुस भइसकेको छ ।’
मेयर पोखरेललाई भेट्न बिहान ७ नबज्दै नगरवासी घरमै आइपुग्छन् । आज पनि त्यो दैनिकी फेरिएन । निर्धारित समयमा नै दुइटा समूहलाई उनले घरमै भेटे । नगरवासी भेट्ने कुनै खास स्थान हुनुपर्छ भन्ने मेयर पोखरेललाई लाग्दैन । जहाँ भेटे पनि समस्या सुनेर तत्काल समाधानको पहल गर्नु पर्ने धारणा उनको छ । बानी पनि यस्तै बसाल्न थालेका छन् ।
झापाका आदिवासी राजवंशी समुदायबाट आएका दम्पतीसँग बिहानै भेटे, उनले । समस्या जटिल नै रहेछ । छोरी केही दिनदेखि बेपत्ता भएकी रहिछन् । कहाँ छिन् भन्ने पत्तो नलागेको अवस्थामा मेयरसम्म पुगेका रहेछन् । राजवंशी दम्पतीको पिडा उनले सुनाए, ‘फोन बल्लतल्ल उठ्छ रे, तर कहाँ छु भनेर भन्दिन रे, केटासँग भागिन् जस्तो छ भन्छन्, उमेर पनि पुगेको रहेनछ, विवाह गरिदिने अवस्था पनि छैन, त्यसैले छोरीलाई घर फर्काई दिनु पर्यो भन्छन् ।’
५ वर्षका लागि निर्वाचित भएर आएको हुँदा एक–एक पलको महत्त्वबारे मेयर पोखरेल निकै संवेदनशील छन् । उनी भन्छन्, ‘प्रत्येक दिनलाई विशेष दिन बनाउने संकल्प गरेको छु ।’
उनीहरूको पीडा सुने लगत्तै मेयर पोखरेलले प्रहरीलाई फोन गरे । लोकेसन ट्रेसिङ गरेर घर फिर्ता ल्याउने वातावरण मिलाइदिन पनि अनुरोध गरे । अनि मनभरि वेदना र आँखाभरि आँसु बोकेरै छोरी घर फर्कने आशामा राजवंशी दम्पती उनीसँग बिदा भए ।
भद्रपुर विभिन्न समुदायको मात्रै होइन, विभिन्न धर्मावलम्बीको पनि नगर हो । बिहानै मुस्लिम समुदायबाट भेट्न मेयरको घरमै पुगेको टोलीले उनलाई असार ४ गते हुने आफ्नो संस्थाको साधारण सभाको निम्तो दिए । समुदायले सञ्चालन गरेको मदरसा (मुस्लिम विद्यालय)को निरीक्षण र सहयोगका लागि गरेको आग्रहलाई पनि गम्भीर रूपमा लिएका छन् ।
पालिका खबरले फोन गर्नु केही क्षण अघि मात्रै उनले उनीहरूलाई बिदा गरेका रहेछन् । मेयरलाई भेट्न पालिका भवन आउने जो कोहीले सहजै भेट पाउँछन् । उनी भन्दै थिए, ‘मेयरसँग जो कसैले, जहिले पनि भेट्न पाउनुपर्छ, हामीले सबैको गुनासो तथा समस्या सुन्नुपर्छ, समाधानको पहल गर्नै पर्छ, हाम्रो कामै त्यही हो ।’
अहिलेको उनको अधिकांश समय बजेट निर्माणमा केन्द्रित छ । असार १० गते नै बजेट ल्याउने तयारी भइरहेकाले आजैदेखि वडा तहबाट योजना संकलनको काम तीव्र पारिएको छ । आज केही महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने तयारीमा छन्, मेयर पोखरेल ।
कर्मचारीसँग नियमित भेटघाट पनि गर्नै पर्छ । बजेट तयारीपछि भने साताको घटीमा एक दिन कर्मचारीसँग सेवा प्रवाह, विकास निर्माण र भएका कामको समीक्षा गर्ने योजनामा छन्, उनी ।
५ वर्षका लागि निर्वाचित भएर आएको हुँदा एक–एक पलको महत्त्वबारे मेयर पोखरेल निकै संवेदनशील छन् । उनी भन्छन्, ‘प्रत्येक दिनलाई विशेष दिन बनाउने संकल्प गरेको छु ।’
उनी कहिले काहीँ गम्भीर संकटमा पर्छन् । कार्यक्रमहरू धेरै हुने, अपेक्षा पनि धेरै हुने तर समय व्यवस्थापन गर्न नसक्दा नगरवासीमा कतै निराशा पो छाउने हो कि भन्ने चिन्तामा पर्छन् । यस्तो अवस्थालाई नगरवासीले बुझ्ने विश्वास पनि उनको छ ।
आज उनी साना किसानले चलाएको चिया फ्याक्ट्रीको छलफलमा सहभागी हुँदै छन् । वर्षा सुरु भइसकेकाले निरन्तर परेको पानीका कारण डुबानमा परेका केही क्षेत्रको निरिक्षणमा पनि जाने योजनामा छन् ।
म मेयरसापको आजको दिन शुभ रहोस् भनेर रेकर्ड अफ गर्दै थिएँ । उनको ध्यान मैले बोलेका शब्दतिर पुग्यो । उनले मलाई अनुरोधको शैलीमा भने, ‘मेयर साप नभनिदिनुस् न, प्लिज !’
मैले सोधें, ‘के भनुँ त मेयरसाप?’
मेयर पोखरेलले हाँस्दै भने, ‘फेरि मेयरसाप भन्नुभयो, यहि नभन्नुस भनेको मैले ।’
मैले सोधें, ‘किन र हजुर ?’
उनले शब्दप्रति लक्षित गर्दै भने, ‘मेयरसाप भन्ने शब्द अलि निरंकुश जस्तो लाग्छ, बढी आदरभाव देखाउँदै गर्दा यो शब्दमा समर्पणभाव बढी झल्किन्छ, चाकडी भाव बढि झल्किन्छ, त्यो आवश्यक पर्दैन क्या शिवजी, मलाई त अप्ठ्यारो लाग्छ त्यो शब्ददेखि नै ।'
मैले सोधें, ‘उसो भए के भनुँ त हजुर ?’
मेयर पोखरेलले विकल्प दिंदै भने, ‘दाई, भाई, छोरा, जी, नगरप्रमुख, मेयर जे भने पनि हुन्छ, पछाडि साप चाहिं नलगाईदिन तपाईमार्फत सबैलाई अनुरोध गर्छु ।’
हामी विदा भयौं । अन्तिममा मैले धन्यवाद मेयरसाप भने । फेरि फुत्किएछ । अनि हामी दुवै हाँस्दै फोन काट्यौं ।
मेरो पनि विगत ५ बर्षदेखि लागेको बानी गएन । अब सुधार्ने प्रयास गर्छु ।
शब्दको भावभित्र पसेर परिवर्तन गर्न खोज्ने मेयरका आगामी प्रयासबारे खबर खोज्ने, लेख्ने उत्सुकता पनि जागेको छ ।