close

पदलाई अचानोमा राखेर इट्टा भट्टा बन्द गराउने यी पूर्वमेयर

भन्छन् : इट्टा भट्टा फर्काउने चलखेल हुँदैछ, जवाफ जनताले दिन्छन्

पदलाई अचानोमा राखेर इट्टा भट्टा बन्द गराउने यी पूर्वमेयर

भन्छन् : इट्टा भट्टा फर्काउने चलखेल हुँदैछ, जवाफ जनताले दिन्छन्

Trulli
टि पी शर्मा तिमल्सिना
ADVERTISEMENT

काठमाडौँ । आज विश्व वातावरण दिवस । विभिन्न कार्यक्रमसहित देशभर मनाइएको छ ।

कतै बिरुवा रोपिएका छन् त कतै सभा गोष्ठी गरेर वातावरण जोगाउने भाषणहरू गुन्जाइएका छन् ।

आज विश्व वातावरण दिवसका दिन वातावरणलाई माया गर्नेले मात्र होइन, वातावरणलाई विनाश गर्नेले पनि सम्झिरहेका छन् ।
अचम्मको संयोग नहोला । तर, नेपालको मौसमी प्रणालीमा मनसुन सक्रिय हुने तयारी हुँदै गर्दा हामी यो दिवस मनाउँछौँ ।

अब केही दिनभित्रै विकासमा नाममा गरिएका अवैज्ञानिक सडक निर्माणको ठुलो क्षति व्यहोर्ने क्रमको सुरुवात हुनेछ । ठूला मुलुकले गर्ने कार्बन उत्सर्जनको विकराल असर हाम्रा हिमालहरूले व्यहोरि रहेका छन् । त्यसैले जीवनमा कहिल्यै बाढी र पहिरा नदेखेका हिमाली भेगका जनता समेत मनसुनको आगमनसँगै त्रास पाल्न थालेका छन् ।

गत वर्ष मनाङ र मुस्ताङमा बाढी र पहिराले निम्त्याएको अकल्पनीय त्रासदी मौसम परिवर्तन कै असर थियो ।

कार्बन उत्सर्जन नेपालमा पनि हुन्छ । होला, विश्वका ठुला मुलुकका दाँजोमा नेपालमा कमै कार्बन उत्सर्जन हुन्छ । तर, नेपालमा कार्बन उत्सर्जन गर्ने उद्योगहरूले समेत विनाशलाई निम्तो दिइरहेका छन् भन्ने कमैले बुझेका छन् ।

काभ्रेको नमोबुद्ध नगरपालिकाका निवर्तमान मेयर टि.पी. तिमल्सिनाले भने यो कुरा राम्रोसँग बुझेका थिए ।

पाँच वर्षअघि मेयर निर्वाचित भएसँगै उनले नमोबुद्धबाट वातावरणलाई जोखिममा पार्न नदिने सङ्कल्प गरे । अनि उनले आफ्नो कार्यकालमा नमोबुद्धलाई वातावरणीय प्रदूषणबाट जोगाउन साहसिक निर्णय गरे । भकुन्डेबेसीमा रहेका इट्टा भट्टा हटाए । उनको त्यो निर्णय इट्टा व्यापारीका लागि त असहज बन्यो नै त्यसभन्दा बढी उनकै पार्टी तत्कालिन नेकपाका चल्तापुर्जा नेताको आँखा समेत बिझायो । जसको प्रभाव यसपटकको स्थानिय निर्वाचनमा अनि पर्यो ।

त्यतिबेला उनलाई नगरपालिकाको भकुन्डेबेसीमा रहेका इट्टा भट्टाहरू नहटाउन अन्य दलको प्रभाव तथा दवाब त थियो नै संगसंगै तत्कालिन नेकपाका नेता र व्यापारीहरूबाट निकै दबाब र प्रलोभन दिइएको थियो । तर, उनी त्यो लालचमा फसेनन् । धम्कीले अत्तालिएनन् । उनको दृढ इच्छाशक्ति अगाडि पद र पैसा मामुली बन्यो । आफ्नै तलब भत्ताबाट बालबालिकालाई पढाईरहेका पुर्व मेयर तिमल्सिनालाई यस्ता प्रलोभनले छुने कुरै भएन ।

त्यसले पुर्व मेयर तिमल्सिनालाई दुखेको छैन । बरु उनीलाई आफ्नो निर्णयले वातावरण जोगाउन केही योगदान दिएकोप्रति गर्व छ । अब यो कार्यलाई नगरपालिकाले निरन्तरता दिनु पर्ने उनको भनाइ छ । उनले उद्धार गरेका कतिपय बालबालिकाले उच्च शिक्षा समेत हासिल गरिसके । त्यो देख्दा उनको मन फुरुङ हुन्छ ।

उनलाई वातावरण विनाश रोक्ने कार्य गर्दा खुसी नै लाग्ने गरेको छ । भविष्यमा समेत यस्तै कार्यमा समर्पित हुने रहर छ । 

‘५ वर्ष अर्थात् लगभग १८२५ दिन मैले नगरवासीको हितबाहेक अरू सोचिनँ । नगरको सर्वाङ्गीण हित, नगरको विकास र नगरवासीको खुसीका खातिर विवेकसम्मत काम गरेँ,’ पूर्व पत्रकार समेत रहेका तिमल्सिनाले सामाजिक सञ्जालमा लेखेका थिए ।

वातावरणलाई नष्ट हुन नदिने उनको प्रयासमा नगरवासीको पनि सदैव साथ रहेको थियो । उनी स्वयं पनि यो स्विकार्छन् । भन्छन्, ‘नगरबासीले प्रति विश्वास नगरेको भए यो काम गर्नै सक्दिन थिएँ । यस्तो कार्य म एक्लोको प्रयासबाट मात्र सम्भव थिए ।’

पार्टीले नरुचाएपछि अर्को कार्यकालका लागि तिमल्सिना मेयर नबन्ने  पक्का थियो । जनतालाई त्यो कुरा खड्किएको रहेछ । त्यसैले कहिल्यै एमालेले हारको मुख देख्न नपरेको नमोबुद्ध नगरपालिकामा सत्ता गठबन्धनलाई जिताए ।

हुनत उनले पद छोड्दै गर्दा नगरमा भएका कामको एक्लो जस लिने प्रयास समेत गरेनन् । 

‘म एक्लैले केही गरेको होइन र सकिँदैन पनि । मैले नेतृत्व गरेको हुँ, तपाईँ सबैको उत्तिकै साथ, सहयोग र समर्थन पाएँ । र त आज कार्यसम्पादनका क्रममा जिल्लाकै उत्कृष्ट र मुलुकभरिमा १३ औँ उत्कृष्टमा नमोबुद्धको नाम छ । यसमा गर्व छ ।’  

उनी अगाडि भन्छन्, ‘राजनीतिले मलाई सेवा गर्ने मौका दियो । मानवसेवा नै धर्म हो भन्ने मेरा पिताजीको संस्कार नै मेरो शक्ति हो । यही शक्तिले मलाई गलत सोच, विचार र निर्णय गर्न दिएन ।’ 

‘इमानको राजनीति नै मेरो निष्ठा हो । यही निष्ठाभित्र रहँदा बेइमानी गर्न उक्साउने, नमाने धम्क्याउने चरित्रविरुद्ध लडेँ । राजनीतिको जोड घटाउको समीकरण मिलाउन इमान बेचिनँ । मेरो राजनीतिक भविष्य नहेरी नगरवासीको भविष्यका खातिर गलत पात्र र प्रवृत्तिविरुद्ध उभिइरहेँ, लडिरहेँ । र त आज नगरवासीको अथाह स्नेह लिएर जाँदै छु,’ वातावरण प्रेमी पूर्व जनप्रतिनिधि तिमल्सिना भन्छन् ।

उनी अहिले पनि नमोबुद्ध र आसपासका क्षेत्रमा वातावरण विनाश रोक्ने धेरै काम गर्नु पर्ने धारणा राख्छन् । पालिका खबरसँग उनी भन्छन्, ‘नमोबुद्ध नगरपालिकाले यो कामलाई निरन्तरता दिनुपर्छ । तर, म सुन्दै छु, फेरि इट्टा भट्टा फर्काउने योजना बन्दै छ रे !’

फेरि नमोबुद्ध नगरपालिकामा इट्टा भट्टा कारखाना फर्किएको खण्डमा नगरबासीले नै प्रतिकार गर्ने कुरामा पनि उनी ढुक्क छन् ।

उनलाई वातावरण विनाशले मानिस मात्र होइन जनावर समेत प्रभावित भएका छन् । यसमा पनि उनलाई ठुलो दुख छ । ‘इट्टा भट्टा सञ्चालन हुँदा गाई वस्तुलाई खुवाउने घाँस समेत कालो हुन्थे । अहिले त्यो समस्या छैन । यो नगरपालिका सानो छ । तर पनि, यहाँ र आसपासको वातावरण जोगाउन धेरै कार्य गर्नु पर्नेछ,’ उनी भन्छन् 'इट्टा उधोग खोल्नै नहुने भन्ने होईन तर प्रविधि तथा वातावरणमैत्री, जनघनत्वभन्दा बाहिर उचित ठाउँमा संचालन हुनुपर्यो ।'

उनले वातावरण जोगाउन आकाश मात्र होइन सारा भूगोललाई हेरेका छन् । मासिँदै गएको जङ्गल र हरियालीले उनको मन चसक्क हुन्छ । त्यसतर्फ पनि काम गर्नुपर्ने उनको विचार छ । केही स्वार्थ बोकेका ब्यक्तिका कारण दर्जनौं फर्जी मुद्दा खेप्दै आएका उनको पदनै झन्डै बिचमै धरापमा पारे तर उनको सङ्कल्पलाई डगमगाउन सकेनन । 

त्यसैले उनले सङ्कल्प गरिसकेका छन्, नगरपालिकाले नगरे स्वयं वातावरण विनाश रोक्ने कार्यको अग्र मोर्चामा उभिने ।