जनकपुर । २०३५ सालमा बैंकको जागिरमा प्रवेश गरेका सत्यनारायण ठाकुरको त्यति बेलाको तलब २ सय २५ रुपैयाँ मात्रै थियो । त्यति पैसाले पेटभरि थकाली खाना खाएर, राम्रो ठाउँमा बसेर, आवश्यक सबै खर्च गरेर बचेको रकम घर पठाउन पुग्थ्यो । त्यही पैसाले घर मात्रै चल्दैनथ्यो, जग्गा जमिन समेत जोड्न पुग्थ्यो ।
बैंकमा काम गर्दा तलब बाहेक अरू केही कमाएनन्, ठाकुरले । त्यही तलबको भरमा पढाइ लेखाइसहित ठुलो बनाएका ४ वटै छोरा अहिले जागिरे छन् । मात्र एउटी छोरी पनि सक्षम बनेकी छन् । अहिले न उनले कसैलाई हेर्नुपर्छ, न उनलाई । ठाकुरलाई महिनै पिच्छे हात लाग्ने पेन्सनले नै जीवन धान्न पुगेको छ ।
उनी भन्छन्, ‘इमानदारीपूर्वक काम गर्यो भने नपुग्ने के रहेछ र ?’
ठाकुर जनकपुर उपमहानगरपालिकाका मतदाता हुन् । मधेसी जनताले नेता असल नपाउनुलाई नै ठुलो दुर्भाग्य मान्छन्, ठाकुर । उनी भन्छन्, ‘अहिलेको जमानामा त मान्छे चिन्नै गाह्रो छ, चुनाव चिन्ह हेर्ने कि व्यक्ति हेर्ने ? दोधारमा छु ।’
मुरली चोक र क्याम्पस चोकको बिचको जटही बस स्टेण्डको पश्चिमपट्टि रहेको चिया पसलमा चिया पिइरहेका अवस्थामा हाम्रो जम्काभेट भएको थियो, उनीसँग । उनको हातमा पत्रिका थियो । तर मैले पत्रकार भनेर परिचय दिएको थिइन, न उनले नै सोधे । अहिले पनि उनलाई विश्वास रहेछ, पत्रकारले गलत लेख्दैनन् भन्ने । भन्दै थिए, ‘पत्रकारले गलत लेख्दैनन् ।’
सडकमा रिक्सा कुदिरहेका थिए । अटोरिक्साहरु पनि आफ्नै गतिमा गन्तव्यतिर दौडिरहेका थिए, उम्मेदवारका पर्चाबाट सजिएर ।
आँप चिन्हसहितको झन्डा फरफराउँदै एउटा स्करपियो गाडी पनि हाम्रै अगाडिबाट कुद्यो । त्यसको लगत्तै कालो रंगको गाडीमा गलाभरि माला र खादा पहिरिएर पछाडि उभिएका उम्मेदवार बलराम महतो हात हल्लाउँदै मतदाता रिझाइ रहेका थिए । उनको पछाडि महँगा गाडीहरू पनि लस्करै थिए । त्यो दृश्य देखेपछि ठाकुरले हामीसँग भने, ‘उनी ठेकेदार हुन्, अहिले चर्चामा रहेका ३ जना मेयरका उम्मेदवार मध्येका एक जना उनै हुन् ।’
ठाकुरले १५ वर्षकै उमेरमा विवाह गरे । त्यति बेला उनकी पत्नी मात्र १३ वर्षकी थिइन् ।१४ वर्ष पुग्दा नपुग्दै उनले पहिलो सन्तान जन्माइन् । ठाकुरलाई अहिलेका छोरीहरू निकै तगडा लाग्छन् । उनले विद्यालय, क्याम्पसका परिसरमा पनि छोराभन्दा बढी छोरीहरू देख्न थालेका छन् ।
‘अब ३० गते चुनाव छ नि, २९ गते राती घरघरमा मानिस पुग्छन्, लिने मानिस पनि रातीसम्म लालटिन बालेर कुरेर बस्छन्, नलिनेहरू खल्तीमै हालिदिए पनि लिँदैनन्, बरु टोलको विकास माग्छन्, तर यस्ता थोरै छन् मधेसमा, जे गर्छ २९ गतेको चलखेलले नै गर्छ, त्यसैले मधेसमा राम्रो मान्छे ल्याउनै गाह्रो छ ।’
अझ मुख्यमन्त्रीले ‘बेटी पढाऊ, बेटी बचाऊँ’ भन्दै अभियान थालेपछि छोरीहरूमा आत्मविश्वास झन् बढेको छ । उनलाई यस्तै लागेको छ । स्थानीय सरकारले पनि छोरीहरूलाई प्राथमिकता दिँदै कार्यक्रम सुरु गरिसकेका छन् ।
ठाकुर भन्छन्, ‘नेताले राम्रो नीति ल्याउने र जनमैत्री व्यवहार गरिदिने हो भने मधेसले पनि परिवर्तन र विकासका लागि कुर्नुपर्दैन थियो होला ?’
जागिरले परिवर्तन गरेको ठाकुरको जीवन लोभलाग्दो छ । एउटा छोरा त्रिचन्द्र कलेजमा पढाउँछन्, अर्को छोरा हिल टेक कम्पनीमा जागिरे छन्, अर्को मलंगवा नगरपालिकामा र अर्को राजश्री बैंकमा काम गर्छन् । छोरी पनि जागिरे छिन् । उनका सन्तानहरू शिक्षित छन्, आत्मनिर्भर छन् । ठाकुर भन्छन्, ‘जागिर नै खानुपर्छ भन्ने छैन । तर, अहिले भाषा समेत नबुझ्ने मुलुकमा गएर पसिना बगाउनु पर्छ, वर्षौँ काम गरेर फर्किए पनि ल्याएको पैसाले खाने बाहेक अरू केही गर्न पुग्दैन, न सिप, न पुँजी, न ज्ञान, केही भएन, नेतृत्व भ्रष्टाचारमा रमायो, जनताको अवस्था उस्तै छ ।’
बाटोमा अटो रिक्सा गुडिरहेकै थिएँ । छाता चिन्हमा मतदान गरी लालकिशोर शाहलाई जिताऊँ भन्ने ब्यानरसँगै अटो रिक्सा दौडिरहेको थियो । ठाकुरले मेयरका प्रत्याशी लालकिशोर शाह मेयर हुँदा पत्रकारलाई कार्यकक्षमै दुर्व्यवहार गरेको घटना सम्झिए । उनले भने, ‘पत्रकारलाई त्यस्तो गर्न मिल्छ त, जोसुकै होस्, आफ्नो घरमा (कार्यकक्षमा)आएपछि त पाहुना हो नि, नेताको व्यवहार चाहिँ राम्रो हुनुपर्छ, अरूले भनेको सुन्न सक्ने क्षमता राख्नुपर्छ ।’
अहिले जनकपुरमा ३ जना मेयरको चर्चा चलेको ठाकुरले बताए । जनकपुरधाम उपमहानगरपालिमा स्वतन्त्रबाट उठेका मनोज शाह, लालकिशोर शाह र बलराम महतोको चर्चा छ । लालकिशोर निवर्तमान मेयर नै हुन् भने महतो निर्माण व्यवसायी हुन् । लामो समय राजनीतिमा बिताए पनि पार्टीले टिकट नदिएपछि मनोज शाहले स्वतन्त्रका रूपमा उम्मेदवारी दिएका छन् ।
ठाकुरले भने, ‘मनोजको घर यहीँनिर हो, हामीले सानैदेखि देखेको, इमानदार छ, बोली व्यवहार एकदमै राम्रो छ, तर पार्टीले टिकट दिएनछ, खै कुन छाप हो, नयाँ छाप छ उसको, सोझोलाई सुली र चोरलाई चौतारो भनेको उखान पनि मधेसमै हुन्छ ।’
मधेसमा चलखेल बढी हुने ठाकुरको बुझाई छ ।
‘कस्तो चलखेल ?’ मैले सोधेँ ।
‘अब ३० गते चुनाव छ नि, २९ गते राती घरघरमा मानिस पुग्छन्, लिने मानिस पनि रातीसम्म लालटिन बालेर कुरेर बस्छन्, नलिनेहरू खल्तीमै हालिदिए पनि लिँदैनन्, बरु टोलको विकास माग्छन्, तर यस्ता थोरै छन् मधेसमा, जे गर्छ २९ गतेको चलखेलले नै गर्छ, त्यसैले मधेसमा राम्रो मान्छे ल्याउनै गाह्रो छ ।’
जनताले नेताको गुण, क्षमता, सीप, ज्ञान हेर्नुपर्ने ठाकुर सुझाउँछन् ।
ठाकुर बैंकमा काम गर्दा लाखौँ रुपैयाँका चेक साटिदिन आफूलाई मानिसहरूले छोडेर जाने गरेको सम्झिन्छन् । कहिलेकाहीँ त एक दुई दिनपछि उनीहरू पैसा लिन आउँथे । त्यति विश्वास थियो । नेता र जनताबिच पनि यत्तिको विश्वास हुनुपर्ने मत छ, ठाकुरको । जनताले मत दिएर अर्बौँको बजेट खर्च गरेर विकास गर्न पठाएका नेताले विश्वास जित्न सक्नुपर्ने उनको सुझाव छ ।
सडकमा अटो रिक्सा कुदिरहेका थिए । पोस्टरले रंगिएर । एउटा पोस्टरमा लेखिएको थियो, ‘भ्रष्टाचार विरोध के लेल घण्टाघर छाप मे मुहर लगाक अत्याधिक मत सँ विजय बनाऔँ ।’ ठाकुरले भने, ‘अँ, मैले अघि बिर्सिएको थिएँ, यही हो मनोज शाहको छाप ।’
मधेसको विकासको पहिलो बाधक नै भ्रष्टाचार ठान्छन्, ठाकुर । जो आओस् तर भ्रष्टाचारको निर्मूल गर्ने खालको नेतृत्व आओस् भन्ने कामना छ ठाकुरको ।
उठ्ने बेलामा फेरि चिया मगाएँ । आफ्नो परिचय दिएँ । अनि सोधेँ पनि, ‘तपाईँसँगको कुराकानी लेखौँ ?’ उनले हुन्छ भन्दै हातमा पत्रिका च्यापेर मास्क लगाउँदै निस्किए ।
ठाकुरले छोरा बुहारी सबैलाई भोट हाल्न बोलाएका छन् । आफ्नै गोजीमा मत पत्र राखेर हिँडेका छन् । भेटे जति मानिसलाई मत बदर नहोस् भनेर सिकाइरहेका छन् ।
सडकमा अटो, रिक्सा रङिएका छन् । खुसी र सुखी भएर जनकपुर रंगिएको हेर्ने कल्पनामा छन्, जनकपुरबासी ।