सुर्खेत– सरकारले २८ असार २०७४ मा देशका अन्य सहरसँगै दैलेखको दुल्लुलाई पनि स्मार्ट सिटी घोषणा ग¥यो । सरकारले बजेट विनियोजन गरेरै दैलेखको दुल्लुसहित देशका १२ वटा स्थानलाई ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरे पनि दुल्लुमा कार्यान्वयन हुन सकेको छैन ।
स्मार्ट सिटीमा शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी, फोहोर व्यवस्थापन, यातायात सेवा, भौतिक संरचनादेखि सञ्चारको सुविधा हुनैपर्ने प्रावधान सरकारले नै बनाएको छ ।
तर, दुल्लुमा सडक सवारी गुडनेभन्दा डुब्ने गर्छन् । आधुनिक सहरलाई आवश्यक पर्ने सबै सेवा–सुविधा स्मार्ट सिटीमा पाइनुपर्ने हो । तर, दुल्लुमा कुनै पनि सुविधा छैनन् । उतिबेलाको जुम्ला सिँजा राज्यको हिउँदे राजधानी दुल्लु नगरपालिका प्राकृतिक रूपमा भने स्मार्ट सिटीजस्तै छ । तर, भौतिक पूर्वाधार निर्माण शून्य ।
दिनहुँ खानेपानी अभाव, घन्टौँ हिँडेर स्कुल पुग्नुपर्ने, फोहोर व्यवस्थापन अलपत्र, पर्याप्त रूपमा यातायात सेवा नभएको दुल्लुमा स्मार्ट सिटी कल्पनाभन्दा बाहिरको विषय बनिरहेको छ । दुल्लु स्मार्ट सिटी बन्ने भएपछि यहाँका नागरिक खुसी थिए । तर, सामान्य नगरपालिका स्तरको भौतिक पूर्वाधार अहिलेसम्म निर्माण भएको छैन ।
स्थानीय र बाहिरबाट आउने नागरिकले विभिन्न समस्या झेलिरहेका छन् । स्तरीय सडक, स्वास्थ्य, विद्युत्, खानेपानी, फोहोर व्यवस्थापन, यातायात सेवा, भौतिक संरचनादेखि अन्य सेवाबाट टाढा रहनुपर्ने बाध्यता छ । ‘नजिकै सडक छ तर सडकको हिलो र फोहोर पानी सवारी हुइँक्याउँदा आँगनमै पुग्छ । पानी भर्न घन्टौँ लाइन लाग्नुपर्छ’, एक स्थानीयले भने, ‘अनि यसलाई कसरी स्मार्ट सिटी भन्नू ?’
नेतादेखि कार्यकर्तासम्म सबैले यहाँको विद्रुप अवस्था देखे पनि बेवास्ता भइरहेको छ । खाल्डाखुल्डी सडक भैँसी बस्ने आहालजस्तै बने पनि नगरपालिकाले चासो दिएको छैन ।
अहिले दुल्लु बजार क्षेत्र, कीर्तिखम्ब चोकदेखि पटांगिनी दुल्लु संग्रहालय हुँदै घियातिदुस्थित मध्यपहाडी राजमार्गसम्म जोड्ने सडक अस्तव्यस्त छ ।
‘स्मार्ट सिटीभित्रकै सडकमा खाल्डैखाल्डा छन्’, स्थानीय कमल भण्डारीले भने, ‘त्यसमा पनि पानी पर्दा हिलो र घाम लाग्दा धुलोको उड्ने हुँदा नगरबासीले सास्ती खेप्नुपरेको छ ।’
अर्का स्थानीय स्मार्ट सिटीमा जनप्रतिनिधिका महँगा कारसमेत धुलाम्ये हुने गरेको सुनाउँछन्् । उनले भने, ‘सडकसँगै खानेपानीदेखि बजार व्यवस्थापनको अवस्था पनि दयनीय छ । तर, दैलेखी नेताहरू भने स्मार्ट सिटी बनाउने नाममा राख्न सफल भयौँ भन्दै नारा बेचिरहेका छन् ।’
कीर्तिखम्ब वस्तुभाउ बाँध्ने खोर बन्दै
जुम्ला सिँजा राज्यको हिउँदे राजधानीका नामले परिचित दुल्लु ‘स्मार्ट सिटी’ बन्ने चर्चा एकातिर छ । अर्कातिर प्रचार–प्रसार र पूर्वाधार निर्माण नहुँदा दुल्लु क्षेत्रका दर्जनौँ ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल ओझेल परेका छन् । सम्पदा छन् तर संरक्षण छैन ।
नेपाली भाषाको पहिलो शिलालेख कीर्तिखम्ब ‘कीर्तिस्तम्भ’ अहिले संरक्षण अभावमा ओझेल छ । दुल्लुबासीको मात्र नभएर ३ करोड नेपालीको गहनाका रूपमा रहेको कीर्तिखम्ब वस्तुभाउ बाँध्ने खोर बन्दै गएको छ ।
कीर्तिखम्बको संरक्षण गर्नुपर्नेमा यहाँको स्थानीय सरकार बेखबर छ । कीर्तिखम्ब परिसरमा नेपाली भाषाका लिपि भएका खम्बा गाईगोरु र बाख्रा बाँध्ने किला बन्न पुगेका छन् । गाईवस्तु चराउने, फोहोर फाल्ने, लुगा सुकाउनेजस्ता काममा प्रयोग भइरहेका छन् ।
अस्तव्यस्त अतिथि कक्ष
दुल्लु नगरपालिकाको मुटुमा रहेको दुल्लुको कार्यक्रम स्थल पटांगिनी मञ्च अव्यवस्थित छ । झट्ट हेर्दा कार्यक्रम स्थल नभई फोहोर जम्मा गर्ने ठाउँजस्तो देखिन्छ । यसको संरक्षण गर्न पनि कोही, कसैले चासो छैन । दुल्लु संग्रहालय बाटोका कारण अव्यवस्थित छ । दुल्लु क्षेत्रको गहनाको रूपमा रहेको यो संग्रहालय अवलोकन गर्न पनि उस्तै सास्ती खेप्नुपर्छ ।
जीर्ण बन्दै दुल्लु दरबार
उबेलाको जुम्ला सिंजा राज्यका राजाको हिउँदे राजधानी दुल्लु दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । सशस्त्र द्वन्द्वको समय तत्कालीन नेकपा माओवादीले बम पड्काएर दरबारलाई ध्वस्त बनाएपछि पुनर्निर्माण भएको छैन ।
८ वैशाख २०६० मा तत्कालीन माओवादीले बम पड्काएर पूरै दरबार ध्वस्त बनाएको थियो । अहिले पनि उस्तै छ । तीन वटा भ¥याङ, ५२ वटा झ्यालढोका भएको यो दरबार परम्परागत शैलीमा निर्माण गरिएको थियो । नेपाल एकीकरण अभियानपूर्व बाइसे, चौबीसे राज्य रहँदा अहिलेको दैलेख गोर्खा राज्यपछिको शक्तिशाली राज्य मानिन्थ्यो ।
कर्णाली प्रदेश मात्र नभई देशकै प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको दैलेख र यहाँको पुरानो सदरमुकाम दुल्लु सुन्दर र चर्चित भए पनि संरक्षणमा स्थानीय सरकारको चासो नजाँदा दरबारसँगै ओझेल छन्, संरचना ।
जीर्णावस्थामा ललाट ज्वाला
पञ्चकोसी क्षेत्रभित्र पर्ने विभिन्न महत्त्वपूर्ण मन्दिरमध्ये सबैभन्दा धेरै ज्वाला एकै स्थानमा बल्ने मन्दिर अहिले जीर्णावस्थामा छ । दुल्लु नगरपालिका वडा नम्बर १० मा रहेको यो मन्दिर ढुंगैैढुंगाले बनेको छ ।
ललाटेश्वर महादेवको यो मन्दिरभित्र कुनै बेला पाँच वटै ज्वाला बल्थे । अहिले सानो ओडारमा ३ वटा ज्वाला बलेको देख्न सकिन्छ ।
श्रीस्थानबाट यो स्थानमा पुग्न ५ सय मिटर दक्षिणमा हिँड्नुपर्छ । आकर्षक ढुंगैढुंगाले बनेको ललाटेश्वर महादेवको यो मन्दिर रहेको जग्गा कुनै व्यक्तिको नाममा छ । मन्दिरभित्रका ढुंगाको चारमध्ये तीन वटा खम्बा भत्किइसकेका छन् ।