दैलेख- प्रकृतिलाई सफा राख्ने प्रकृतिका कुचिकारले चिनिने गिद्धहरू दैलेखका वनपाखामा देखिन थालेका छन् । मौसम परिवर्तन भई पानी परेर वसन्त ऋतुको आगमनसँगै चारैतिर हरियाली छाउँदा प्रकृतिका कुचिकार दैलेखको ठाटीकाँधमा देखिन थालेका हुन् ।
मौसममा परिर्वतन भएर चारैतिर हरियाली वातावरणले सज्जिदा ठाटीकाँधको हुइता, जौचवर, बिजारेलगायत आसपासका पहाड तथा गाउँ नजिकका भीरमा गिद्ध देखा पर्न थालेका छन् ।
कुनै बेला ठाटीकाँधका सबैजसो ठाउँमा देखिने गिद्ध हराएपछि लोप भएको हुन सक्ने चिन्ता स्थानीयको थियो । तर, आजभोलि ठाटीकाँध गाउँपालिकाका विभिन्न क्षेत्रमा फाट्टफुट्ट गिद्ध देखा पर्न थालेको स्थानीय कमल थापा बताउँछन् । कुचिकारहरू सधैँजसो देखा नपर्ने तर कहीँ-कतै जन्तुजनावर मर्नेबित्तिकै हुलुका हुल देखिन गरेको स्थानीय रमेश विक सुनाउँछन् ।
गिद्धलाई वातावरणीय प्रदूषणबाट मानव जातिलाई बचाउन सहयोग गर्ने पक्षीको रूपमा लिने गरिन्छ । ‘डाइक्लोफेनिक’ औषधी सेवन गरेका पशु मरेपछि तिनको सिनो खाँदा गिद्धमा त्यसको प्रत्यक्ष असर पर्ने गर्छ ।
मानवीय सचेतनासँगै जथाभावी फालिने सिनो गाड्ने तथा व्यवस्थित रूपमा राख्न थालिएपछि गिद्धलाई आहारा नपुगेको र जनसंख्या वृद्धिसँगै मानवीय अतिक्रमण बढ्दै गएकाले यसको संख्या पनि कम भएको स्थानीय सुनाउँछन् ।
गिद्धलाई पर्यावरणीय चक्र, सनातन खाद्य शृंखला सन्तुलन र गतिशीलताको संवाहकका साथै पारिस्थितिकीय स्वस्थताको सूचक पनि मानिने गरेको छ । धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनि देवताको वाहनको रूपमा पुजिन्छ ।
विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन भने दक्षिण एसियामा ९ प्रजाति । तीमध्ये ९ प्रजातिका गिद्ध नेपालमा पाइन्छन् । गिद्धहरू अग्ला बलिया रूख र चट्टानी पहरामा गुँड बनाई मानव बस्ती वरपर बस्न रुचाउँछन् ।