काठमाडौं– साँघुरो कोठा, छरपस्ट छरिएका सामान, कालो माटोसँग लत्पतिएको शरीर, हँसिलो अनुहार लिएर अफिस टहलाउँछन्, महेन्द्र पुन । यिनको नित्य कर्म भने धुलो माटोलाई मूर्तिको स्वरूपमा बदलिदिने हुन्छ । नेपाल एकीकरणका प्रणयेता पृथ्वीनारायण शाहदेखि पूर्वपर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीसम्मका मूर्ति ठड्याइसकेका छन् ।
२०५४ मा डडेल्धुरामा जन्मेका महेन्द्रमानले हालसम्म करिब ३ दर्जन मूर्ति निर्माण गरिसकेका छन् । परशुराम नगरपालिकाका लागि विश्वको सबैभन्दा ठूलो मूर्ति निर्माण गर्ने तयारी गरिरहेका उनी सुनाउँछन् । यो मूर्ति ५४ फिटे हुनेछ ।
पुनले हालै मात्र पृथ्वीनारायणको मूर्ति बनाएका छन् । करिब ८ फिट उचाइको यो मूर्ति बाग्लुङमा राखिएको छ । पुनले पृथ्वीनारायणसँगै भीमदत्त पन्त, पुष्पलाल श्रेष्ठ, देवराज जोशी, हिक्मत बोहरा, लखन थापालगायतको सिंगो शरीरलाई मूर्तिमा रुपान्तरण गरेका छन् ।
२ दर्जन बढी आधा मूर्ति अर्थात् टाउको कुँदिसकेका छन् । आफ्नो भविष्य मूर्तिकलामै देखेका पुनः यसलाई अझ अगाडि बढाउने योजनामा छन् ।
‘आमा त्यो मान्छेले आँखा नै झिम्काउँदै न त ?
सानैमा बुबाको अभिभावकत्व गुमाएका पुन आमाको बात्सल्य र संरक्षणमा हुर्के–बढे । १ दिन आमासँग बजार जाँदै गर्दा उनले निःशब्द आँखा नझिम्काई बसेको मानिस देखे । नजिकै गएर स्पर्श गरे ।
निकै बेर एकटकले हेरे तर त्यो मानिसले आँखा झिम्क्याएन् । उनलाई अचम्म लाग्यो र बाटोमै आमासँग सोधे, ‘त्यो मान्छे किन नचलेको होला ? आँखा पनि झिम्क्याउँदो रहेनछ !’ आमाले भनिन्, ‘त्यो मूर्ति भीमदत्त पन्त भन्ने ठूला मान्छेको हो ।’ यही घटनाले उनलाई मूर्ति बनाउने हुटहुटी जाग्यो र मनमनै सोचे– म पनि यस्तै बनाउँछु ।
यसरी सुरु भयो मूर्तिकला यात्रा
बजारमा भीमदत्तको मूर्ति देखेसँगै उनको चाहना मूर्ति बनाउनेतिर सोझियो । विस्तारै माटोसँगै खेल्न थाले । यही सपनालाई साकार पार्न ५ कक्षा पढ्दै गर्दा उनले सिक्दै बनाएको शिवको मूर्ति ५ हजार रुपैयाँमा बिक्यो । विद्यालय स्तरको पढाइ सकिँदा नसकिँदै मूर्ति बनाएरै ५० हजार रुपैयाँ कमाइ भएको पुन स्मरण गर्छन् ।
डेढ वर्षको हुँदा बुबा गुमाएका र भएको पैतृक सम्पत्ति पनि आफन्तले हडपेका कारण कमाएको ५० हजार रुपैयाँ घर खर्चमै सके ।
मस्तिष्कमा मूर्तिकार बन्ने सपना र मन, मुटुमा त्यसमा लागि जस्तोसुकै दुःख–कष्ट सहने अठोट बोकेर ६ वर्षअघि डडेल्धुराबाट काठमाडौं छिरेका पुनलाई मूर्तिकला कहाँ पढाइन्छ भन्ने जानकारीसमेत थिएन ।
६ वर्षकै अवधिमा मूर्तिकलाबाट कमाएकै पैसाले काठमाडौंमा घर, घडेरी जोडिसकेका छन् । हाल लाजिम्पाटको सिर्जना कलेज अफ फाइन्ट आर्टबाट स्नातक भइसकेका छन् । पुनले राजधानीका ६ वटा स्कुलमा कला विषय अध्यापनसमेत गराउँदै आएका छन् । आफू पढ्नु र ६ स्कुलमा पढाउने कामले दिउँसो उनलाई त्यति फुर्सद हुँदैन । मूर्तिलाई आकार दिने कर्म रातभर नसुतेरै फत्ते गर्छन् ।
मूर्तिकार बन्ने सपनाले जुठो भात खुवायो
सुदूरपश्चिमबाट काठमाडौं आउँदा उनका लागि यो ठाउँ बिरानो थियो । मूर्तिकार बन्न के गर्नुपर्छ, कहाँ जानुपर्छ, केही थाहा थिएन । तर, जसरी भए पनि मूर्तिकार बनेर आमासँगै बाटो हिँडेका बेलाको सपना पूरा गर्ने अठोट मनमा छँदै थियो ।
काठमाडांै आएपछि सुरुमा आफन्तकहाँ बसेका उनी त्यहाँ धेरै दिन टिक्न सकेनन् । मैले अरूले खाएर फालेको जुठो पनि खाएँ । खान, लाउन र बस्न जतिसुकै दुःख भए पनि अरू नै श्रम गरेर जीवन धान्न सकिन्छ भन्ने लाग्थ्यो । तर, मनमा यस्तो कुरा खेल्दा मूर्तिकार बन्ने सपना तुहिने हो कि भन्ने डर थियो’, पुनले विगत कोट्याए ।
मूर्तिमा प्रयोग भएका सामग्रीअनुसारको मूल्य निर्धारण
मूर्ति निर्माण गर्दा प्रयोग भएका सामग्रीको आधारमा मूल्य निधारण गर्ने गरेको पुन बताउँछन् । हालसम्म ८ लाख रुपैयाँसम्मका मूर्ति बेचेको अनुभव उनीसँग छ । एउटा मूर्तिलाई सग्लो बनाउन करिब ३ महिनाको मिहिनेत लाग्ने गरेको पुनले सुनाए । मूर्तिको मूल्य त्यसमा प्रयोग भएका सामग्रीअनुसार निर्धारण हुने गरेको उनी बताउँछन् । पुन भन्छन्, ‘माटोबाट निर्माण भएको भए सस्तो हुने र तामा, पित्तल वा ढुंगाबाट बनाइएका अलि महँगो पर्छ ।’