लमजुङ– मस्र्याङ्दी गाउँपालिका–८ सिमलचौरफाँटमा भूमिगत जल सिंचाई आयोजनाको काम सकिएको छ ।
गाउँपालिकाले पहिलो नमुना योजनाको रुपमा उक्त भुमिगत जल सिंचाई आयोजना निर्माण गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार नमुना योजनाको निर्माण सफल भएपछि जनप्रतिनिधि, स्थानीय उत्साहित भएका छन् ।
जिल्लामै नयाँ प्रविधि प्रयोग गरी यसअघि आयोजनाको ड्रिलिङ गरिएको थियो । १ सय ३० मिटर को गहिराईबाट करिव ७ लिटर प्रति सेकेण्ड पानी निस्कन सक्ने परीक्षण समेत भएको छ ।
उक्त ठाउँको बाहिरी सतहमा कुनै पनि पानीको स्रोत छैन । खेतीपातीका लागि पानीको समस्या हुने ठाउँमा नयाँ प्रविधि भित्रर्याएर सिंचाई आयोजना सञ्चालन गरिएको अध्यक्ष गुरुङले बताए । बर्खाको समयमा धान रोप्नका लागि समेत आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेकाले गाउँपालिकाले भूमिगत जल सिंचाई आयोजना निर्माण गरेको अध्यक्ष गुरुङले बताए ।
गाउँपालिकाका अनुसार आयोजनाका लागि २०७५/०७६ मा सम्भाव्यता अध्ययन गरिएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा ५० लाख रुपैंयाँ बजेट विनियोजन गरी आयोजनाको काम गरिएको गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताए ।
ड्रिलिङ गरिएकै ठाउँमा ३० घनमिटरको ट्यांकी निर्माण गरिएको छ । योजना सम्पन्न भएकाले अब किसानले प्रशस्त पानीको पानीको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी खेती गर्न सक्नेछन् । खेतीका लागि किसानलाई आवश्यक पर्ने सीप, तालिमको व्यवस्था गाउँपालिकाले गर्ने जनाएको छ ।
सिंचाईको सुविधा नभएका कारण त्यस ठाउँका किसानलाई अन्नबाली, तरकारी, फलफूल खेतीका लागि समस्या थियो । बाह्रैमास सिंचाईको व्यवस्था भएमा किसानलाई सहज हुने र व्यवसायिक बनाउन सकिने भएकाले नयाँ प्रविधि प्रयोग गरी आयोजना सञ्चालन गरिएको हो ।
सिमलचौरफाँट भूमिगत जल सिंचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष कमान गुरुङले आयोजना सकिएकाले अब किसानलाई सहज हुने बताए । सिंचाईको सुविधा नभएको ठाउँमा भुमिगत जल सिंचाई आयोजनाले किसानलाई ठूलो राहत पुग्ने उनको भनाइ छ ।