म्याग्दी– फोहर व्यवस्थापन जटिल समस्या हुनुपूर्व नै अन्नपूर्ण गाउँपालिकाले फोहर व्यवस्थापनको उपाय खोज्न थालेको छ । गाउँपालिकाले पालिकाभित्रको फोहरमैला व्यवस्थापनका लागि ल्यान्डफिल साइडको सम्भाव्यता अध्ययनको प्रारम्भिक काम थालेको हो ।
फोहरमैलाको दिगो व्यवस्थापनका लागि पहिलो चरणको रुपमा गाउँपालिकाले बिहीबार पालिका क्षेत्रभित्रको फोहरमैला व्यवस्थापन तथा ल्याण्ड फिल साइडको सम्भाव्यता अध्ययनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा फोहर व्यवस्थापन तथा उचित ल्यान्डफिल साइडको सम्भाव्यताका विषयमा स्थानीय, पर्यटन व्यवसायीलगायत सरोकारवालाको राय तथा सुझाव लिइएको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले बताए । साथै फोहर व्यवस्थापनका विज्ञहरुबाट अभिमुखीकरण तालिम पनि लिइएको उनले बताए ।
गाउँपालिकाका अधिकांश क्षेत्रमा पोखरा बागलुङ राजमार्ग पर्ने र सडक केन्द्रित बजार छन् । हाल बजार क्षेत्रको फोहरलाई कुहिने र नकुहिने छुट्याएर अस्थायी रुपमा गाउँपालिकाले व्यवस्थापन गर्दै आएको उनले बताए ।
उनले पालिकाखबरसँग भने, ‘यहाँका गाउँ पर्यटक केन्द्रित गाउँ छन् । घान्द्रुकमा मात्र दैनिक तीन/चार सय पर्यटकहरु पुग्छन् ।’ हाल पर्यटकीय क्षेत्रमा व्यवसायीले नै फोहरको व्यवस्थापन गर्दै आएको र सँधै सम्भव नरहने उनले बताए ।
पालिका अध्यक्ष केसीले भने, ‘फोहर व्यवस्थापन अहिले नै ठूलो चुनौती बनिसकेको छैन । तर ठूलो समस्या बन्नु अघि नै यसको दिगो व्यवस्थापन गर्न सम्भावनका खोजी गर्न थालेका हौँ ।’