close

डम्पिङ साइडको विकल्प इन्सिनेरेटर मेसिन

डम्पिङ साइडको विकल्प इन्सिनेरेटर मेसिन

Trulli
ADVERTISEMENT

काठमाडौं । फोहोरको व्यवस्थापन सबै स्थानीय तहको टाउको दुखाइको विषय बनेको छ । देशैभरका शहरी क्षेत्रका स्थानीय तह फोहोरको व्यवस्थापनका लागि दीगो उपायको खोजिरहेका छन् । 

यस्तै, उपायको खोजीमा रहको काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले निकालेको उपाय हो इन्सिनेरेटर मेसिन । जब पहिलोपटक स्थानीय तहको निर्वाचनपछि नगरपालिकामा जनप्रतिनिधि आए । आफ्नो नगरपालिकाको फोहोरको व्यवस्थापन आफैँले गर्नुपर्छ भन्ने अवधारणा आयोे । गोकर्णेश्वरका जनप्रतिनिधि पनि फोहोर व्यवस्थापन सही ढङ्गले कसरी गर्ने भनेर उपायको खोजीमा जुटे । 

यसैक्रममा नगरपालिकालाई जापानले फोहोर व्यवस्थापनका लागि इन्सिनेरेटर मेसिन प्रभावकारी प्रयोग गरिरहेको जानकारी प्राप्त भएको मेयर दिलीपकुमार रिसालले बताए । जुनबेला उनी नगरपालिकाको प्रमुख सल्लाहकार थिए ।

त्यस समयमा नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका संयोजक सञ्जय लामा जापानमा थिए । र, उनले नै नगरपालिकालाई इन्सिनेरेट मेसिनबारेमा जानकारी दिएका थिए । लामाले नै नगरपालिकाका कर्मचारीलाई जापान जाने प्रबन्ध मिलाए । 

नगरपालिकाले इन्सिनेरेटर मेसिनमार्फत जलाएर फोहोरको व्यवस्थापन गर्ने योजनाका साथ यसको अवलोकन गर्न नगरपालिकाको टोली जापान पुग्यो । 

नगरपालिकाको तत्कालीन मेयर सन्तोष चालिसे, पूर्व सांसद कृष्ण राई, बूढानीलकण्ठ नगरपालिका नगरपालिकाका पूर्वमेयर उद्धव खरेल, कागेश्वरी मनोहरा नगरपालिकाका पूर्वमेयर कृष्णहरि थापा र गोकर्णेश्वर नगरपालिकाका दुईजना कर्मचारीसहित जापानमा इन्सिनेरेटर मेसिनको अवलोकनका लागि पुगेका थिए । 

अवलोकनको क्रममा मेसिन नगरपालिकाको फोहोर व्यवस्थापनको लागि भ्रमण टोलीलाई चित्त बुझेको नगरप्रमुख रिसाल बताउँछन् ।  र जापान भ्रमणको ६ महिनामै मेसिन नेपाल भित्रियो । 

उनी भन्छन्, ‘तर यहाँको मानिसले इन्सिनेरेटर मेसिनबारे बुझ्न सकेनन् । हामीलाई कुनैपनि ठाउँमा फोहोर फाल्ने र दुर्गन्ध हुने डरले फोहोर राख्न दिइएन । घरको बाटो हुँदै फोहोर आउँछ, गन्हाउँछ भनेर पनि हामीले यो मेसिन कतै राख्न सकेनौँ ।’ 

२०७५ सालमा नेपाल आइपुगेको मेसिन कतैपनि राख्न नसकिएकाले करिब तीन वर्ष उसै रह्यो । मेसिन सफल रुपमा सञ्चालन गर्न सबैभन्दा पहिले जनताको विश्वास जित्नुपर्ने आवश्यकता रहेको नगरपालिकाले महसुस गर्‍यो । र २०७८ मा मेसिनलाई नमुनाको रुपमा सञ्चालनमा ल्यायो । 

काठमाडौं महानगरपालिकाको वडा नं ९ मा यो मेसिन करिब सञ्चालन भयो । सुरुमा नमुनाको रुपमा सञ्चालनमा ल्याइएकाले यसको प्रचारप्रसार नगरपालिकाले नगरेको उनले बताए । 

सिस्डोलमा फालिने फोहोरलाई इन्सिनेरेटर मेसिनमार्फत जलाउने काम गरे । तर, अहिले उक्त क्षेत्रमा पनि मेसिन सञ्चालनमा अवरोध छ । 
उनी भन्छन्, ‘स्थानीयको विश्वास जित्न सफल भइएको छ । मेसिन राख्ने जग्गा नगरपालिकाले खोजिसकेकाले अबको एक डेढ महिनामा सार्दैछौँ ।’ 

अहिले मेसिन बन्द भएको अवस्थामा गोकर्णेश्वरको फोहोर पनि डम्पिङ साइटमा व्यवस्थापन भइरहेका छन्  । 

मेसिनले फोहोर कसरी जलाउँछ ? 

गोलो फोहोर राख्ने ठाउँमा सुख्खा फोहोरलाई राखिन्छ । फोहोरलाई पेट्रोल, डिजेल हालेर सल्काएपछि मेसिनलाई चलाइन्छ । बल्न थालेपछि फोहोरमा आगोलाई बाल्ने हावा दिने अर्को छुट्टै मेसिन हुन्छ । जसले सल्काएको आगोलाई झन ठुलो रापले बाल्छ । मेसिनबाट तातोपानी निस्किन्छ । त्यसले फोहोरलाई कार्बनमा रुपान्तरण गर्छ । 

मेसिनअनुसार त्यसको फोहोर जलाउनसक्ने क्षमता फरक हुन्छ । गोकर्णेश्वरमा भएको मेसिनले १८ घण्टामा पाँच टन फोहोर यो मेसिनले जलाउन सक्छ । ६ जना कर्मचारीले मेसिन चलाउन सकिन्छ ।    

के यो मेसिन वातावरणमैत्री छ ?
यो मेसिनले वातावरणमा कुनैपनि असर नगर्ने नगरप्रमुख रिसाल बताउँछन् । कम खर्चिलो र नगरपालिकालाई स्वच्छ, हराभरा बनाउन इन्सिनेरेटर मेसिन उपयोगी रहेको उनी बताउँछन् । 

उनी सुनाउँछन्, ‘फोहोर जलाउँदा वातावरण प्रदुषण हुन्छन् । तर यस मेसिनमा फोहोरलाई जलाउँदा वातावरणको लागि पनि फाइदाजनक हुने हामीले जापानको भ्रमणमा पायौँ ।’

मेसिनले सुख्खा फोहोरलाई पूर्ण रुपमा नस्ट पार्छ । फोहोरबाट उत्पादन भएको कार्बनलाई तातोपानीमार्फत छुट्याउँछ र बाँकी बाफमात्र बाहिर वातावरणमा छाड्छ । 

फोहोर जलाएर उत्पादन भएको कार्बनमा ४० प्रतिशत सिमेन्ट राखेमा इँटा बनाउन सकिन्छ । तर नगरपालिकाले इँटा बनाउने काम भने अहिलेसम्म गरिसकेको छैन । 

उपत्यकाका स्थानीय तहका मेसिन उपयोगी 

सिस्डोल र बञ्चरेडाँडामा सधैँ फोहोर फाल्न नमिल्ने नगरप्रमुख रिसाल बताउँछन् । ‘फोहोर फालेपनि एक न एक दिन त त्यो पनि भरिन्छ । त्यसैले फोहोर व्यस्थापनको उपाय खोज्नुको अर्को विकल्प छैन,’ उनी थप्छन्, ‘कुहिने फोहोरबाट मल बनाउन सकिन्छ । रिसाइकलिङ गर्न मिल्ने फोहोरलाई रिसाइकलिङ गर्न सकिने भयो । र बाँकी फोहोरलाई इन्सिनेरेटर मेसिनबाट जलाउनु सबैभन्दा उत्तम उपाय हो ।’

उपत्यकाको अन्य स्थानीय तहका जनप्रतिनिधिले पनि यो मेसिन मनपराएको उनले बताए । काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाह, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, चागुँनारायण नगरपालिकाका मेयर सहित काठमाडौंका ८ स्थानीय तहका मेयरले मेसिनको अवलोकन गरेका थिए । 

दुई करोडमा यो मेसिन नगरपालिकाले भित्र्याएको थियो । थप दुईवटा मेसिन भएमा नगरपालिकामा पूर्ण रुपमा फोहोर व्यवस्थापन गर्न सकिने मेयर रिसालको भनाइ छ । 

सबै स्थानीय तहले इन्सिनेरेटर मेसिनको खरिद गर्न नसके पनि काठमाडौं उपत्यकाको स्थानीय तहका लागि भने यो उपयोगी रहेको उनले बताए । 
गोकर्णेश्वर नगरपालिकाको पनि इन्सिनेरेटर मेसिन सबैभन्दा प्राथमिकतामा रहेको योजना हो । 

नगरपालिकाको फोहोर व्यवस्थापनको योजना

कुहिने फोहोरलाई मल बनाउनका लागि अर्को मेसिन किन्ने प्रक्रियासमेत नगरपालिकाले अघि बढाएको छ । उनी सुनाउँछन्, ‘फोहोरबाट मल बनाउने मेसिन भारतमा पनि प्रयोगमा ल्याइएको पाएका छौँ । अब आउने बजेटमा यसको व्यवस्थापन गर्नेछौँ ।’ 

पुनः प्रयोग गर्न सकिने फोहोरलाई रिसाइकलिङको माध्यमबाट पुन प्रयोग गर्ने, इन्सिनेटर मेसिनमा डम्पिङ साइटमा जाने फोहोर जलाउने र कुहिने फोहोरबाट मल उत्पादन गरेर जेरो वेस्टमा जाने नगरपालिकाको योजना रहेको छ । 

नगरप्रमुख दिलीपकुमार रिसाल सुनाउँछन्, ‘जेरो बेस्टका लागि नाम्गेल विद्यालयलाई नमुना बनाएका छौँ । त्यहाँको होस्टलबाट कुनैपनि किसिमको फोहोर खेर जाँदैन । फोहोर रिसाइकलिङमा जान्छ । त्यस्तै विधि पुरै नगरपालिका भरि प्रयोग गरेर नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने हाम्रो योजना हो ।’ 

जेरो वेस्टका लागि फोहोरलाई स्रोतमा वर्गीकरण गरेर व्यवस्थापनका काम अघि बढाउने योजना गोकर्णेश्वर नगरपालिकाको छ । 

फोहोर जलाउने भएकाले रिसाइकल हुने सामान पनि जल्न सक्छन् । त्यसैले रिसाइकलिङ हुन नसक्ने फोहोर नगरपालिकाले जलाउन नलिने नियम बनाउने उनले बताए । ‘फोहोर लिनका लागि हरेक दिन घरघरमा बिहानै घण्टी रिसाइकलर्स पुगेका हुन्छन् । फोहोर लिएबापत पैसासमेत पाउने भएकाले रिसाइकलिङ हुनसक्ने फोहोरलाई जलाउन खासै पठाएको देखिएन ।’ 

उनी भन्छन्, ‘यदि घरघरमा रिसाइकलर्स फोहोर दिन सक्दैनन भने पनि नगरपालिकाले रिसाइकलिङ गर्न मिल्ने फोहोरलाई छुट्टै लिएर रिसाइकलिङ गर्ने व्यवस्थापन मिलाउछौँ ।’