close

  वितरणतर्फको विद्युत् चुहावट ९.१० प्रतिशतमा समेटियो 

  वितरणतर्फको विद्युत् चुहावट ९.१० प्रतिशतमा समेटियो 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०७८÷७९ को पहिलो ५ महिनामा वितरणतर्फको विद्युत् चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको छ । नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको मंसिरसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यो वर्ष २.८२ प्रतिशत बिन्दुले घटाएको हो ।

 

गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत् चुहावट ११.९२ प्रतिशत थियो । प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालू आवमा समग्र प्रणालीको विद्युत् चुहावट १५.५ प्रतिशत र वितरणतर्फको चुहावटलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । 

 

प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 


कार्यकारी निर्देशक घिसिङले यस अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट बिलिङ भएको लगायतका कारणबाट चुहावट घटेको उल्लेख गरे ।  ‘हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेसनको सुदृढीकरण तथा नयाँ सबस्टेसनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काम अगाडि बढाइकोले चुहावट घटेको हो’, उनले भने, ‘गर्मी सुरु भएपछि चुहावट केही बढ्न सक्छ, यसलाई ध्यान दिँदै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको छ ।’

 

सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायत कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो । प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइएको छ । 

 

सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेशमा

प्राधिकरणका सात वटा प्रादेशिक कार्यालय र दुई वटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको रहेको छ ।

 

प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट १२.९९ प्रतिशत छ । अघिल्लो वर्ष १७.३६ प्रतिशत थियो । सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४३.८२ प्रतिशत विद्युत् चुहावट रहेको छ ।

 

गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत चुहावट १०.१७ प्रतिशत थियो । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत् चुहावट ३९.८० प्रतिशत रहेको थियो । गत वर्ष त्यस केन्द्रको चुहावट ५३.०७ प्रतिशत थियो । 

 

महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ४२.२७ प्रतिशत रहेकामा यस वर्ष ३७.६१ प्रतिशत रहेको छ । औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत चुहावट ०.४८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष केन्द्रको चुहावट १.६७ प्रतिशत थियो । 


प्रदेश १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट सुनसरीको इनरुवा वितरण केन्द्रको छ । यो केन्द्रको विद्युत चुहावट २४.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष २७.२२ प्रतिशत थियो । 


बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौंडा मातहतका ६ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको ३०.११ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत त्यस केन्द्रको २६.५८ प्रतिशत चुहावट थियो । 


बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वटा वितरण केन्द्रमध्ये सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी ३१.९३ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको २५.१२ प्रतिशत चुहावट थियो ।

 

त्यसपछि सिन्धुपाल्चोककै हेलम्बू वितरण केन्द्रको विद्युत् चुहावट ३०.७८ प्रतिशत छ । गत वर्ष केन्द्रको चुहावट ९.२८ प्रतिशत थियो । गण्डकी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १३ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट म्याग्दी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष १८.९२ प्रतिशत रहेकामा यो वर्ष १५.५५ प्रतिशतमा झरेको छ । 


लुम्बिनी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट कपिलवस्तुको तौलिहवा वितरण केन्द्रको २५.५६ प्रतिशत रहेको छ । गत वर्ष केन्द्रको चुहावट १४.८४ प्रतिशत थियो । लुम्बिनी प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका १४ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट प्यूठान वितरण केन्द्रको १९.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो केन्द्रको चुहावट १९.९० प्रतिशत थियो । 

 


कर्णाली प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको रहेको छ । केन्द्रको चुहावट गत वर्ष ३१.२५ प्रतिशत रहेकामा यो वर्ष २७.१३ प्रतिशतमा झरेको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट अछाम वितरण केन्द्रको रहेको छ । गत वर्ष १८ प्रतिशत रहेको केन्द्रको चुहावट यो वर्ष बढेर २०.४४ प्रतिशत पुगेको छ ।