close

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्न सबस्टेसन निर्माण धमाधम

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्न सबस्टेसन निर्माण धमाधम

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजना जतिसक्दो छिट्टो सम्पन्न गर्न पहल थालेको छ । काठमाडौं उपत्यकाभित्र विद्युत्को बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन प्राधिकरणले निर्माणाधीन आयोजना एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको हो । 


काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका सबस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्नेलगायत आयोजना सञ्चालित छन् । 
प्राधिकरणले काठमाडौं उपत्यकामा २ हजार मेगावाट विद्युत खपत गर्ने गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ प्रसारण तथा वितरण प्रणाली पूर्वाधार बनाउन सुरु गरेको छ ।

 

सरकार, प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधारको बृहत् योजना अगाडि बढाइएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन आयोजनाहरूको स्थलगत अनुगमन गरी निर्माण प्रगति, व्यहोरिरहेका समस्या, एक वर्षभित्र सम्पन्न गर्न गर्नुपर्ने कामलगायत विषयमा जानकारी लिएका छन् ।

 

कार्यकारी निर्देशक घिसिङले काठमाडौंको मातातीर्थमा निर्माणाधीन २२०÷१३२÷३३ केभी सबस्टेसन, फुटुङ, टेकु, चोभार, भक्तपुरको ठिमी तथा चाँगुनारायणमा निर्माणाधीन १३२÷३३÷११ केभी सबस्टेसन, विद्युतीय तारको भूमिगत गर्ने कामको अनुगम गरी निर्माणलाई तीव्रता दिन आग्रह गरे । घिसिङले अगामी वर्षको हिउँद सुरु हुनुभन्दा पहिले नै आयोजनाको निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदार र परामर्शदातालाई आग्रह गरे ।

 

‘निर्माणाधीन सबस्टेसन अर्को वर्षको हिउँदअगावै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिएन भने पूर्वाधार अभावमा विद्युत् मागअनुसार आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले यस्ता संवेदनशील आयोजना निर्माणमा सबै गम्भीर बनेर सम्पन्न गरौँ’, उनले भने । 

 

मुख्य सडकमा विद्युतीय तार भूमिगत गर्न सडक विभागले अनुमति नदिंदा, स्थानीयले रुट परिवर्तनको माग राख्ने अवरोध गर्दा, केही स्थानमा स्थानीयले आफ्नो घर नजिक ट्रान्सफर्मर राख्न नदिँदा काम प्रभावित भएको उनको भनाइ छ ।समस्यालाई पार लगाउँदै जसरी पनि आयोजना सम्पन्न गर्नुपर्ने हुँदा सम्बन्धित निकायमा आवश्यक पहल र समन्वय भइरहेको उनले बताए ।’

 


मस्र्याङ्दी र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याएर वितरण गर्न मातातीर्थमा २२०÷१३२÷३३ केभी, ३२० एमभीए क्षमताको सबस्टेसन निर्माणाधीन छ । आगामी असोजभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मातातीर्थ सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि ठूलो हब बन्दै छ । 


सबस्टेसनबाट थानकोट, सतुंगल, गुर्जुधारालगायतका क्षेत्रमा विद्युत् आपूर्ति गर्न ५ वटा ११ केभीका फिडर भूमिगत गरी मुख्य सडकसम्म निकाल्ने प्रारम्भिक काम सुरु गरिएको छ ।  फिडर सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ भने स्युचाटार र टेकु सबस्टेसनको लोड काम हुनेछ । 

 


काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्त्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरको खोकना, बुंमती, हरिसिद्धि र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२÷११ केभी सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

 

सबस्टेसनमा ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहनेछन् । सुक्खा बन्दरगाहा नजिक हिमाल सिमेन्टको जग्गामा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने १२ रोपनी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ । मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारण लाइन बनिसकेको छ । 

 

‘थानकोट–चापागाउँ–भक्तपुर लाइन सम्पन्न गर्न सकिएको भए काठमाडौं, ललितपुर र भक्तपुरमा १३२ केभी प्रसारण लाइनको रिङ बन्ने थियो । यसबाट विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तर सुधार हुने थियो । तर, लाइन बन्न नसक्ने अवस्था देखिएपछि चोभारमा सबस्टेसन बनाई चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेसनमा पु¥याउने योजना बनाएका छौँ’, कार्यकारी निर्देशक घिसिङले भने ।

 

यसको डिजाइन भइसकेको र सञ्चालनमा रहेको लगनखेल सबस्टेसनलाई सुदृढ गरी १३२ केभी निर्माण भइरहेको उनले बताए । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रूपमा चापागाउँ र हरिसिद्धीमा लाइन लैजाने योजना प्राधिकरणको छ । अहिले ललितपुर क्षेत्रमा स्युचाटार–पाटन–बानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ । 

 


प्राधिकरणले काठमाडौंको टेकुस्थित ६६÷११ केभी सबस्टेसनको सुदृढीकरण गरी १३२÷११ केभी र फुटुङमा १३२÷११ केभीको नयाँ सबस्टेसन बनाउँदै छ । दुवै सबस्टेसनमा ४५÷४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर राखिनेछ । बालाजु–चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ । 

 


फुटुङ सबस्टेसनको मुख्य सिभिल संरचना निर्माण भइरहेको छ भने उपकरण आइसकेका छन् । सबस्टेसन सञ्चालनमा आएपछि बालाजु क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनेछ भने बालाजु सबस्टेसनको लोड कम हुनेछ । यसैगरी भक्तपुरको चाँगुनारायणमा १३२÷११ केभी सबस्टेसन निर्माणाधीन छ भने स्थानीयको अवरोधका कारण लप्सीफेदी २२०÷१३२÷११ केभी सबस्टेसन निर्माण सुरु हुन सकेको छैन । तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदी सबस्टेसन निर्माण गर्न लागिएको हो ।

 

 

सबस्टेसनमा १६० र २२.५ एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरू रहने छन् । रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेसनबाट बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माणाधीन छ । 

 

लप्सीफेदीबाट चाँगुनारयण सबस्टेसनसम्मको करिब १० किलोमिटर प्रसारण लाइन निर्माणमा स्थानीयले अवरोध गरिरहेको प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधानले बताइन् । चपली–भक्तपुर १३२ केभी प्रसारण लाइनलाई ट्यापिङ गरी चाँगुनारायण सबस्टेसनमा लगिनेछ । सबस्टेसनको निर्माण अर्को वर्षको पुसभित्र सक्ने लक्ष्य राखिएको छ ।