close

सञ्चालनमा आयो मोतीपुर सबस्टेसन, विद्युत् आपूर्तिमा सुधार हुने

सञ्चालनमा आयो मोतीपुर सबस्टेसन, विद्युत् आपूर्तिमा सुधार हुने

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसन सञ्चालनमा आएको छ । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिएको छ । सबस्टेसनमा रहेका ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरलाई चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।


सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ४ वटा फिडर निकालिएको छ । यसमध्ये ३ वटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ ।  मोतीपुर सबस्टेसनबाट कपिलवस्तुको जीतपुर तथा तौलिहवा र रूपन्देहीको सालझन्डी क्षेत्रमा विद्युत आपूर्तिका लागि क्रमशः ३३ केभी र ११ केभी फिडर निकाली लाइन सञ्चालनमा ल्याइएको हो । 


यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट विद्युत् आपूर्ति भइरहेको थियो । लामो लाइनबाट विद्युत् आपूर्ति हुँदा न्यून भोल्टेज, ट्रिप भएर झ्याप्प झ्याप्प वत्ति जानेलगायत समस्या थिए । अब मोतीपुर सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुने र प्राविधिक चुहावट पनि घट्नेछ ।


सालझन्डीमा ३३÷११ केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अझै गुणस्तरीय र भरपर्दो हुनेछ । बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर सबस्टेसन निर्माण गरिएको हो । आयोजनाअन्तर्गतकै अर्खाखाँचीको सन्धिखर्कमा १३२÷३३÷११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । सन्धिखर्क सबस्टेसनलाई आगामी १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ । 


आयोजनाअन्तर्गतको मोतीपुर–सन्धिखर्क खण्ड प्रसारण लाइनमा पर्ने १०६ वटा टावरको निर्माण सम्पन्न भएको छ । यस खण्डमा पर्ने ३८ किलोमिटर प्रसारण लाइनमध्ये १३ किलोमिटर तार टाँगिएको छ । प्रसारण लाइन निर्माण आगामी १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । 


कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङको विद्युत आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि आयोजना निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् । सरकारको लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत करिब ३ अर्ब रुपैयाँ छ । आयोजना निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य छ ।