close

विद्युत् खपत बढाउने अभियानमा जुट्यो प्राधिकरण

विद्युत् खपत बढाउने अभियानमा जुट्यो प्राधिकरण

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियानअन्तर्गत प्रदेश २ मा पर्ने बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्र २ हजार मेगावाट विद्युत् खपत हुने गरी पूर्वाधार बनाउने भएको छ । बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, पर्साैनीलगायत क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी प्राधिकरणले विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो । 

 

प्राधिकरणले मुख्य रूपमा उद्योगहरूलाई मागेजति भरपर्दो र गुणस्तरीय विद्युत् दिएर खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको छ ।  प्राधिकरणले तराई क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि हुलाकी राजमार्ग हुँदै ४ सय केभी प्रसारण लाइन निर्माणको अवधारणा अगाडि बढाएको छ । 


सिमरा र वीरगञ्ज क्षेत्रका उद्योगको विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भइरहेको छ । काम सम्पन्न भएपछि प्रसारण लाइनको क्षमता झन्डै दोब्बर हुने भएकाले उद्योगलाई थप विद्युत् आपूर्ति दिन सकिनेछ । निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेसन निर्माण गर्ने योजना छ । पर्साको पोखरियामा सबस्टेसन बनाउन लागिएको छ । 

 

प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत सिमरा, परवानीपुर क्षेत्रमा सञ्चालित उद्योगलाई तत्काल २ सय मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । त्यस क्षेत्रमा सञ्चालित स्टिल उद्योगले क्षमता विस्तारका लागि थप विद्युत् माग गर्दै आएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगको अनुगमन भ्रमण र उद्योगी व्यवसायीसँग अन्तरक्रिया गरी विद्युत् मागको हालको अवस्था र भविष्यको अवश्यकताका विषयमा जानकारी लिए । 

 

घिसिङले वीरगञ्ज उद्योग वाणिज्य संघ र जीतपुर नगर उद्योग वाणिज्य संघका पदाधिकारीसँग छुट्टाछुट्टै अन्तरक्रिया गरे । सञ्चालमा रहेका सबस्टेसन र उद्योग भ्रमण गरेपछि कार्यकारी निर्देशक घिसिङले उद्योगलाई अहिलेकै पूर्वाधारबाट २ सय मेगावाटसम्म थप विद्युत् दिन सकिने देखिएको बताए । 


बारा–पर्सा औद्योगिक करिडोरलाई लक्षित गरी ५ वर्षमा २ हजार मेगावाटसम्म विद्युत् खपत हुने गरी पूर्वाधार संरचनाको विस्तार गर्न लागिएको जानकारी दिँदै उनले विद्युत् माग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । ‘यस वर्षको बर्खामा मुलुकभित्र उत्पादित विद्युत् खपत गर्न नसकी झन्डै ८ सय मेगावाट खेर गयो, यसको मूल्य करिब ५ अर्ब रुपैयाँ हो । यस्तो अवस्था आउनु नेपालसँग विद्युत् छ भन्ने अवसर पनि हो । अब वार्षिक रूपमा करिब १ हजार मेगावाट प्रणालीमा थपिँदै छ’, उनले भने, ‘विद्युत् खपत बढाउन तत्काल गर्न सकिने काम, त्यसपछि १ वर्ष, २ वर्ष, ५ वर्ष र १० वर्षभित्र आउने मागलाई पूरा गर्ने गरी पूर्वाधार संरचना बनाउन लागेका छौँ ।’

 

उद्योगलाई भरपर्दो र गुणस्तरीय विद्युत् दिन पूर्वाधार संरचना निर्माण तथा जनचेतनामा अधिकतम प्रयास गरिएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले अहिले चालिएका कदमको नतिजा अब देखिन थाल्ने बताए । 


कार्यक्रममा उद्योगी व्यवसायीले विद्युत् महसुलम महँगो भएकाले सस्तो बनाउन, कम भोल्टेज तथा ट्रिपिङलगायतको समस्या समाधान गरी विद्युत् आपूर्ति सुधार गर्न, प्रसारण तथा वितरण प्रणालीको विस्तारमा लगानी बढाउन माग गरे । 

 

तत्काल यी उद्योगलाई दिन सकिन्छ विद्युत् 
बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूलाई तत्काल २ सय मेगावाटसम्म थप विद्युत् दिन सक्ने देखिएको छ । अशोक स्टिललाई थप २०.५ मेगावाटको लोड स्वीकृत भएको छ । उद्योगले हाल १६ एमभीए क्षमताको ट्रान्सफर्मर राखेकाले सोही क्षमताअनुसार विद्युत् दिन सकिनेछ ।

 

ट्रान्सफर्मर थप गरेपछि उद्योगले मागेजति विद्युत् दिन सकिनेछ ।  जगदम्बा स्टिलले ३० मेगावाट थप माग गरेको छ । उद्योगलाई २ महिनाभित्र विद्युत् आपूर्ति दिन सकिनेछ । जगदम्बा इन्टरप्राइजेजको ३० मेगावाटका लागि कनेक्सन सम्झौता गर्न लागिएको छ । सम्झौता भएपछि उद्योगलाई विद्युत् उपलब्ध गराइनेछ । 


हिमाल आइरनलाई १३२ केभी लाइनबाट विद्युत् आपूर्ति लिने गरी ३० मेगावाट लोड स्वीकृत भइसकेको छ । उद्योगले आफ्नोतर्फ लाइन बनाएपछि परवानीपुर सबस्टेसनबाट तत्काल विद्युत् दिन सकिनेछ । नारायणी स्पातलाई २०.५ मेगावाट विद्युत् आपूर्तिका लागि ग्रिड प्रभाव अध्ययन (जिआइएस) भइरहेको छ । 


बाराको सिमरामा निर्माण हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज)लाई तत्काल विद्युत् दिन सकिनेछ । सेजमा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी लाइन विस्तार तथा सबस्टेसन निर्माण गर्न लागिएको छ ।