close

मोतीपुर र सन्धिखर्क सबस्टेसन निर्माण अन्तिम चरणमा

मोतीपुर र सन्धिखर्क सबस्टेसन निर्माण अन्तिम चरणमा

Trulli
ADVERTISEMENT

काठमाडौं–कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ र अर्खाखाँचीको सन्धिखर्कमा १३२÷३३÷११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको विद्युत् प्राधिकरणले जनाएको छ । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसन क्रमशः आगामी १५ मंसिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।

 
बुर्तिवाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर र सन्धिखर्क सबस्टेसनमा अन्तिम चरणको काम भइरहेको हो । सबस्टेसनमा ३० र १६ एमभीएका पावर ट्रान्सफर्मर रहनेछन् । सबस्टेसनका सम्पूर्ण उपकरण जडान सम्पन्न गरी परीक्षण भइरहेको प्राधिकरणले बताएको छ । 


पूर्व–पश्चिम १३२ केभी लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिनेछ । यसका लागि टावर निर्माण गरिसकिएको छ भने तार तान्ने काम भइरहेको छ । आयोजनाअन्तर्गतको मोतीपुर–सन्धिखर्क खण्डको प्रसारण लाइनमा पर्ने १०६ वटा टावरको जग हालिएको छ । ८७ वटा टावर खडा गरिएको छ भने १२ किलोमिटर तार टाँगिएको छ । 


यो खण्डको प्रसारण लाइनको लम्बाइ ६८ किलोमिटर छ । प्रसारण लाइन निर्माण अगामी १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ । यसबाट कपिलवस्तु, अर्घार्खाची, पाल्पा, गुल्मीको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।

 

विद्युत्को प्राविधिक चुहावट पनि कम हुनेछ । अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत अर्घाखाँची, पाल्पा, गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको छ । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्यापझ्याप बत्ती जाने र भोल्टेजको समस्या छ । प्राविधिक चुहावट पनि छ । 

 

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मोतीपुर सबस्टेसन र प्रसारण लाइन निर्माण स्थलको अनुगमन गरी तोकिएको समयअघि नै काम सक्नुपर्ने बताए । ‘अर्घाखाँची, पाल्पा, गुल्मीबाट झ्यापझ्याप बत्ती गएको भन्दै मलाई सीधै फोन गरी धेरै गुनासा आएका छन्, उपभोक्ताबाट गाली खाएका छौँ । त्यसैले सबस्टेसन र प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टो सम्पन्न गरी उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् दिनुपर्छ ।’ 


उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियानमा रहेको उल्लेख गर्दै सबस्टेसन र प्रसारण लाइन निर्माणपछि यस क्षेत्रका उद्योगलाई चाहिएजति विद्युत् दिन सकिने उनले बताए । कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङको विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि आयोजना निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पौदीअमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् ।