close

राष्ट्रिय प्रसारण लाइनको बिजुली होङ्सी सिमेन्टमा पुग्यो 

राष्ट्रिय प्रसारण लाइनको बिजुली होङ्सी सिमेन्टमा पुग्यो 

Trulli
ADVERTISEMENT

काठमाडौं– चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्सी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छ । विद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत् आपूर्ति दिएको छ । 


प्रसारण लाइन तथा सबस्टेसन शनिबार राती ९ बजे चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिइएको हो । विद्युत प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारण लाइन चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिएको हो ।

 

होङ्सीले ३० मेगावाट विद्युत् खपत गर्नेछ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत् चाहिनेछ । उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सीधै विद्युत् दिइएको छ । यसका लागि उद्योगले आफ्नो परिसरमा ३१.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति लिएको छ । 


११ र ३३ केभी प्रसारण मेगावाट लाइनबाट विद्युत् आपूर्ति लिने ग्राहकभन्दा १३२ केभीको महसुल सस्तो छ । विद्युत् लाइन पुग्न नसक्दा उद्योगले १.४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत विद्युत् आपूर्ति गरिरहेको थियो । यसका लागि दैनिक ६० हजार लिटर डिजेल खपत गर्दै आएको उद्योगले जनाएको छ । 


कार्यकारी निर्देशक घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधजस्ता धेरै समस्या कारण प्रसारण लाइन निर्माण अझै नसकिए पनि वैकल्पिक व्यवस्था गरी होङ्सीलाई विद्युत् दिन सकिएको बताए । होङ्सी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजना निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी उद्योग विद्युत् आपूर्ति दिइएको हो ।


नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दुम्कीबासमा बर्दघाट–भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यापिङ’ गरी होङ्सी सिमेन्टलाई विद्युत् आपूर्ति दिइएको हो । २२० केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई ट्यापिङ गरी बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको दुम्कीबास–सर्दी खण्डमार्फत उद्योगमा विद्युत् आपूर्ति दिइएको छ । 


बर्दबाट–भरतपुर २२० केभी र बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरी उद्योगलाई विद्युत् दिइएको हो । ‘मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत बढाउन ठूला उद्योगले मागेजति विद्युत् दिइरहेका छौँ । गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सबस्टेसनको क्षमता बढाउने, सदृढीकरण गर्नेलगायत काम अभियानकै रूपमा चलाइएको छ । यसको नतिजा छिट्टै देखिनेछ’, घिसिङले भने, ‘ठूला उद्योग स्थापनालाई प्रोत्साहन गर्न विद्युत् महसुललाई समयानुकूल पुनरवलोकन गर्दै लैजानेछौँ ।’ 


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसँग विद्युत् पुर्‍याउने घोषणाअनुसार बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन बनिरहेको हो । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण केभी प्रसारण लाइन निर्माण पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन । सरकारको ४० लाख डलर लगानीमा आर्थिक वर्ष २०७३/७४ मा आयोजना सुरु गरिएको थियो ।