close

भरतपुर सबस्टेसन मर्मत सकियो, दुइटै ट्रान्सफर्मर सञ्चालनमा

भरतपुर सबस्टेसन मर्मत सकियो, दुइटै ट्रान्सफर्मर सञ्चालनमा

Trulli
ADVERTISEMENT

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा अवस्थित १३२÷११ केभी भरतपुर सबस्टेसनमा रहेका दुइटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् ।

 

विद्युत् प्राधिकरणले ट्रान्सफर्मर पूर्ण रूपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगलाई पनि आइतबार साँझबाट विद्युत् आपूर्ति दिएको छ । सबस्टेसनमा रहेका दुई ट्रान्सफर्ममध्ये एउटामा १३ र अर्कोमा १६ कात्तिकमा समस्या आएको थियो ।


प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर सबस्टेसनमा जगेडामा रहेको २२.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी बिहीबारबाट घरायसी ग्राहकका लागि विद्युत् आपूर्ति दिएको थियो । 


एउटा ट्रान्सफर्मर जडान गरी ३६ घन्टापछि विद्युत् आपूर्ति सुरु गरिएको थियो । कास्कीको लेखनाथ सबस्टेसनमा रहेको २२.५ एमभीए क्षमताको ट्रान्सफर्मर ल्याई भरतपुर सबस्टेसनमा जडान गरी त्यसलाई पनि आइतबार साँझबाट सञ्चालनमा ल्याइएको हो । 


सबस्टेसनको क्षमता अब ४५ एमभीए रहेकाले औद्योगिकसहितका सबै ग्राहकलाई विद्युत् आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा केन्द्र भरतपुरका प्रमुख राजीवकुमार सिंहले बताए । 


सिंहका अनुसार आँपटारीस्थित अर्को १३२/११ केभीको सबस्टेसनमा १५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान सुरु गरिएको छ । उक्त सबस्टेसनबाट विद्युत् आपूर्तिका लागि तीन वटा फिडर निकालिसकिएको छ । 


तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोली मर्मत स्थलमा खटिएको थियो ।