काठमाडौं– यो वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमान्ड) १२७० मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । प्राधिकरणले यो वर्षको लक्ष्मीपूजाका दिन पिक डिमान्ड १५०० मेगावाट हाराहारी पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो ।
प्राधिकरणले यो वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमान्ड १२७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमान्ड ११२३ मेगावाट थियो । गत वर्षको तुलनामा यो वर्षको लक्ष्मीपूजाको पिक डिमान्ड १४७ मेगावाट बढी हो ।
विगतका वर्षमा लक्ष्मीपूजाको माग धान्न विद्युत् आयात हुँदै आएकामा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यो वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत् भारत निर्यात गरिएको छ भने आयात शून्यमा झरेको छ ।
यो वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपास क्षेत्रको पिक डिमान्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यस क्षेत्रको पिक डिमान्ड २९६ मेगावाट थियो ।
चालू आर्थिक वर्षको अहिलेसम्मको पिक डिमान्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमान्ड गत १० असोजको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत् माग १७५८.८ रेकर्ड गरिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमान्ड हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालक विश्वप्रकाश गौतम, कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशसहितको टोलीले स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थियो ।
यो वर्षमा लक्ष्मीपूजाका दिन मुलुकभर बिनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले पर्याप्त विद्युत् रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तालाई आग्रह गरेको थियो ।
प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत्गृहका प्रमुख र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।