close

बाह्रबिसे सबस्टेसन निर्माणमा ढिलाइ भएपछि निर्माण कम्पनीलाई प्राधिकरणको चेतावनी

बाह्रबिसे सबस्टेसन निर्माणमा ढिलाइ भएपछि निर्माण कम्पनीलाई प्राधिकरणको चेतावनी

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको ठेकेदारलाई कार्यसम्पादन सुधार्न चेतावनी दएको छ ।  सबस्टेसन निर्माणको ठेक्का पाएका चिनियाँ कम्पनी ग्वाङसी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएपछि प्राधिकरणले कार्यसम्पादन सुधार गर्न ४ महिने अल्टिमेटम दिएको छ । 


खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी–काठमाडौं उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । प्राधिकरणले आयोजनाअन्तर्गत रामेछापको न्यू खिम्ती, बाह्रबिसे र काठमाडौंको लप्सीफेदीमा ४०० केभीको सबस्टेसन पनि निर्माण गरिरहेको छ ।

 

एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसन निर्माण भइरहेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक हरराज न्यौपानेलगायतको टोलीले बाह्रबिसे सबस्टेसन निर्माणस्थलको निरीक्षण गरी ४ महिनाभित्र काममा सुधार नदेखिए ठेक्का तोड्ने चेतावनी दिएको छ । 


‘करिब दुई वर्षअघिभन्दा निर्माण स्थलमा गर्नुपर्ने कामको प्रगति उल्लेख्य देखिएको छैन । यस्तै अवस्था रहने हो भने ठेक्का तोड्नुको विकल्प छैन । ४ महिना हेर्छौं । त्यसपछि पनि काममा सुधार भएन भने ठेक्का सम्झौताअनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्छ’, ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिँदै कार्यकारी निर्देशक घिसिङले भने । 

 

ठेकेदार कम्पनीका प्रतिनिधिले भने बर्खाको समय काम गर्न नसकिएको र अहिले क्रमिक सुधार गरिएकाले ४ महिनामा कामको प्रगति हेर्न आग्रह गरेका थिए । ठेकेदार कम्पनीको व्यवस्थापन परिवर्तन भई नयाँ टिम आएकाले अहिले काममा केही प्रगति देखिएको छ । कम्पनीले सबस्टेसनमा रहने पावर ट्रान्सफर्मरलगायतका उपकरण ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, कार्यालय तथा नियन्त्रण कक्ष भवन निर्माणाधीन छन् । 


सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी,५ एमभीएका पावर ट्रान्सफर्मर रहनेछन् । सबस्टेसन निर्माणपछि स्थानीय रूपमा बाह्रबिसे बजारबाट सबस्टेसनसम्म जाने करिब साढे ४ किलोमिटर सडक जीर्ण रहेकाले निर्माण स्थलमा उपकरण तथा निर्माण सामग्री ढुवानीका लागि समस्या छ । बागमती प्रदेश सरकारको लगानीमा बन्न लागेको सडक निर्माण अलपत्र छ ।

 

चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । यसैगरी रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेसनबाट बाह्रबिसे हुँदै काठमाडौंको लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माणाधीन छ ।


प्रसारण लाइनअन्तर्गत न्यू खिम्ती–बाह्रबिसे खण्डमा पर्ने ११५ मध्ये ३५ वटा टावरको जग हालिएको छ भने ६ वटा उठाइएको छ । ४४ किलोमिटर यस खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ । यो लाइन बनाउन पनि बाह्रबिसे सबस्टेसनको ठेकेदारले नै पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी रहेको अवस्थामा ठेक्का तोडिएको थियो ।


त्यसपछि प्राधिकरणले गरेको नयाँ टेन्डरमा भारतीय कम्पनी केइसी इन्टरनेसनल छनोट भएको थियो । बाह्रबिसे–लप्सेफेदी खण्डमा पर्ने १२२ टावरमध्ये ९८ वटाको जग हालिएको छ भने ७८ वटा खडा गरिएको छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधलगायत कारणले निर्माण प्रभावित भएको छ । 

 

भारतीय कम्पनी लार्सन एन्ड टर्बो (एलएन्डटी) ले ठेक्का पाएको यस खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ । लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ । यस खण्डको निर्माण ठेक्का पनि एलएन्डटीले नै पाएको छ ।