close

सान्जेन र रसुवागढी जलविद्युत् आयोजना निर्माण छिटो सक्न विद्युत् प्राधिकरणको ताकेता

सान्जेन र रसुवागढी जलविद्युत् आयोजना निर्माण छिटो सक्न विद्युत् प्राधिकरणको ताकेता

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपाल विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजना निर्माण छिटो सम्पन्न गर्न ताकेता गरेको छ । 


जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका आयोजना सम्पन्न हुन ढिलाइ भएपछि प्राधिकरणले आफ्नो तथा सहायक कम्पनीको समेत लगानी रहेका आयोजनाका काम जतिसक्दो छिटो सम्पन्न गर्न आग्रह गरेको हो । 


भूकम्प, भारतीय सीमामा भएको अवरोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ, कठिन भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनमा देखिएका जटिलता तथा ठेकेदारको कमजोर कार्य सम्पादन, बाढीपहिरो, कोभिड महामारीलगायत कारणले आयोजना निर्माण प्रभावित हुँदै आएका छन् । 


विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमनमार्फत आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदार, परामर्शदातासँग छलफल गरी बाँकी रहेका काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।


चिलिमेको प्रबन्ध–सञ्चालक हुँदा घिसिङले तीन वटै आयोजनाको वित्तीय व्यवस्थापन गरी एकसाथ अगाडि बढाएका थिए । ‘मुख्य सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेका छन्, सर्वसाधारणको पनि लगानी रहेको आयोजना निर्माण यथासक्य छिटो सम्पन्न गरी लगानीकर्तालाई प्रतिफल दिनुपर्छ’, घिसिङले भने, ‘बाँकी रहेका काम समानान्तर रूपमा अगाडि बढाएर ७÷८ महिनाभित्र सम्पन्न गर्नुपर्छ ।’ 


माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायत सिभिल संरचना निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरण जडान सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ । माथिल्लो सान्जेनको क्यासकेडको रूपमा रहेको सान्जेनको सुरुङ, सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रूप दिने काम भइरहेको छ । विद्युत्गृहका उपकरण रहने संरचनाको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ । 

 

दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिक चीनबाट आउन नसक्दा काम प्रभावित भएको छ । निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिक मंगलबार नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकले उपकरण जडान सुरु गर्नेछन् । 

 

प्रसारण लाइनको टावर निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकीे छ । रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सिभिल संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणको ठेकेदारले आफ्नो काम आगामी चैतभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

 

इलेक्ट्रो मेकानिकलको ठेकेदारका कारण आयोजना निर्माण प्रभावित भएको हो । इलेक्ट्रो मेकानिकलका ९९ प्रतिशत उपकरण आयोजना स्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ । ‘इलेक्ट्रो मेकानिकलको ठेकेदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको छ, उपकरण जडानका लागि ठाउँको अभाव छैन, कामदार थपेर सबै ठाउँमा समानान्तर रूपमा काम गरी ८÷९ महिनाभित्र सक्नुस् । ठेकेदारले बेहोरिरहेको समस्या समाधानका लागि हामी सहजीकरण गर्नेछौँ,’ घिसिङले भने ।


तीन वटै आयोजनाको विद्युत् निर्माणाधीन २२० केभीको चिलिमे हव सबस्टेसनमा जोडिनेछ । चिलिमे तथा त्रिशूली थ्री बी हव सबस्टेसन र चिलेमी–त्रिसूली थ्री बी हव सबस्टेसन निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ ।