close

ऊर्जामन्त्रीले गरिन् तनहुँ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण

ऊर्जामन्त्रीले गरिन् तनहुँ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण

Trulli
ADVERTISEMENT

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण भ्रमण गरेकी छन् ।


 
मन्त्री भुसालले नदी फर्काउने, बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युत्गृह, टेलरेस, सुरुङलगायत संरचनाको निरीक्षण गरेकी हुन् । 


मन्त्री भुसालले सरकारी तहबाट निर्माण भइरहेको जलाशययुक्त आयोजनाको काममा विलम्ब नगरी तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिइन् । ‘कुलेखानीबाहेक सञ्चालमा रहेका सबै आयोजना नदीको बहावमा आधारित भएकाले हिउँदमा उत्पादन घट्दा मुलुकभित्रको माग धान्न अझै पनि विद्युत् आयात गर्नुपर्ने र बर्खामा खपत गर्न नसकी खेर फाल्नुपर्ने अवस्था छ,’ भुसालले भनिन्, ‘यस्तो अवस्था अन्त्यका लागि रणनीतिक महत्त्वको जलाशययुक्त तनहुँ आयोजना निर्माण स्रोत, साधन, स्थानीय समस्यालगायतका कारणले ढिलाइ हुनुहुँदैन, तोकिएकै समय र लागतका सम्पन्न गर्नुपर्छ ।’ 


निर्माण कार्यमा स्थानीय तह र अन्तरमन्त्रालय समन्वयका साथ अगाडि बढाउनुपर्ने उल्लेख गर्दै उनले निर्माणमा आइपर्ने समस्या तत्काल जानकारी गराउन र त्यस्ता समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 


उनले आयोजनाको जलाशय बनेपछि यस क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने र त्यसबाट स्थानीयले प्रत्यक्ष लाभ लिन सक्ने बताइन् । आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले निर्माणमा हालसम्म प्राप्त भौतिक तथा वित्तीय प्रगति, बेहोरिएको समस्यालगायत विषयमा जानकारी गराए । 


आयोजनाको पहिलो प्याकेजका निर्माणका लागि सोंग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँगकोे ठेक्का सम्झौता १४ भदौ २०७८ बाट कार्यान्वयनमा आएको छ । सोंग दा–कालिका जेभीले आफ्नो कार्यालय, श्रमिक आवास सुविधा, मोबाइल क्रसर प्लान्ट स्थापना गरी नदी फर्काउने कार्य सुरु गरेको छ । 


आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ, मुख्य पहुँच सुरुङ निर्माण सम्पन्न गरी भूमिगत विद्युत्गृह खनिरहेको छ । सर्जट्यांकतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न गरेको छ ।


आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ । अहिलेसम्म ३० वटा टावरको जग हाल्ने कार्य सम्पन्न भई ८ वटा टावर ठडाइएको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । 


कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।