रूपन्देही– रूपन्देहीस्थित बुटवल–भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले एकलौटी ढंगबाट ट्रंक लाइन बिलिङ गरेकामा उद्योगी व्यवसायीले आपत्ति जनाएका छन् ।
प्राधिकरणले २०७२ देखिको बक्यौता बुझाउन ताकेता गरेपछि उद्योगीहरू अन्यायमा परेको भन्दै रूपन्देही उद्योग संघ नेतृत्वको उद्योगीको टोली विभिन्न मन्त्रालय र सम्बन्धित निकायमा डेलिगेसन गएको छ ।
संघले उद्योगीका कुनै पनि निवेदन, माग र जानकारीबिनै प्राधिकरणले आफ्नै कारणले भार व्यवस्थापन गर्ने क्रममा ट्रंक लाइनमा परेको भन्दै कुनै उद्योगमा ४ वर्ष पछि र कुनैमा २ वर्षपछि एकमुष्ट करोडौँ रकम असुल्न पत्राचार गरेको बताएको छ । यसले गर्दा रूपन्देहीको औद्योगिक वातावरण खल्बलिएको भन्दै सम्बन्धित मन्त्रालय र निकायको ध्यानाकर्षण गराइएको संघले जानकारी दिएको हो ।
संघका अध्यक्ष बाबुराम बोहराको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सार्वजनिक लेखा समिति सभापति भरतकुमार साह, कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणलाई भेटेको छ ।
यस्तै, टोलीले डेडिकेटेड फिडर र ट्रंक लाइन बक्यौता सम्बन्धमा अध्ययन गर्न गठित उपसमिति संयोजक मीनेन्द्र रिजाल, विद्युत् नियमन आयोगका प्रवक्ता रामप्रसाद धिताल र विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग भेट गरी रूपन्देहीका उद्योगीको वस्तुगत यथार्थबारे जानकारी गराएको छ ।
संघका अध्यक्ष बोहराले लामो समयदेखि साधारण लाइन जडान गरी उद्योग सञ्चालन गरिरहेका र समयमै महसुल बुझाएर रिबेट सुविधासमेत लिँदै आएका उद्योगलाई एक्कासि बक्यौता बुझाउन पत्राचार गरिनुले रूपन्देहीका उद्योग अन्यायमा परेको बताए । त्यसका लागि सम्बन्धित निकायलाई १५ महिनादेखि पटक–पटक अनुरोध गर्दासमेत उद्योगीको गुनासो सुनुवाइ नगरिएको उनको गुनासो छ ।
भेटमा प्रभावित उद्योगीका तर्फबाट चन्द्रमान श्रेष्ठले रूपन्देहीका उद्योगको समस्या देशका अन्य क्षेत्रका उद्योगभन्दा पृथक रहेको, ट्रंक लाइन जडानका लागि उद्योगीले अनुरोधसमेत नगरेको र लामो समयसम्म लोडसेडिङ सहनुपरेको विगत यथार्थ प्राधिकरणलाई जानकारी हुँदाहुँदै पनि एकलौटी ढंगबाट बक्यौता उठाउन खोजिनुले उद्योगी निराश बनेको जानकारी दिए । उनले ट्रंक लाइन बिलिङ समस्या तत्काल समाधान गर्न आग्रह गरे ।
भेटपछि सम्बन्धित मन्त्री तथा निकायका प्रतिनिधिले रूपन्देहीका उद्योगीले उठान गरेको विषय समाधानका लागि पहल गर्ने आश्वासन दिएको संघका महासचिव जीवकान्त काफ्लेले बताए ।