close

८ वटै पालिका विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

८ वटै पालिका विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- नेपाल विद्युत् प्राधिकरणले फक्ताङ्लुङ गाउँपालिकाबाहेक ताप्लेजुङका सबै स्थानीय तहलाई चालू आर्थिक वर्षभित्रै विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोड्ने भएको छ । 


यही अभियान लिएर विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रको टोली विद्युत् लाइन विस्तार र जडानका लागि सिरिजंघा गाउँपालिकाको केन्द्र तेल्लोक पुगेको छ ।


‘फक्ताङ्लुङबाहेक जिल्लाका सबै स्थानीय तह यही आवबाट विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा समाहित भइसक्नेछन्,’ प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका कर्मचारी विष्णु खतिवडाले भने, ‘फक्ताङ्लुङबाहेक अधिकांश पालिका केन्द्र र केहीमा पालिका क्षेत्रसम्मै विद्युत्को राष्ट्रिय प्रसारण लाइन जोड्ने काम भइरहेको छ ।’


खतिवडाका अनुसार फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्बरक र आठराई त्रिवेणीका सबै क्षेत्र विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा समाहित भइसकेका छन् । सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु, मेरिङ्देनको केन्द्र सान्थाक्रा, मिक्वाखोलाको वडा नम्बर १ र २ को खोक्लिङ र मैवाखोलाको केन्द्र साँघुसमेत विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएको खतिवडाले बताए ।


सिरिजंघाको केन्द्र तेल्लोकमा लाइन विस्तार र जडान कार्य अन्तिम चरणमा पुगेको उनले बताए । केही दिनमै तेल्लोकमा समेत राष्ट्रिय प्रसारण लाइनकै विद्युत् उपयोग गर्न सकिने खतिवडाको भनाइ छ ।


पालिका केन्द्र वा पालिका क्षेत्रसम्म विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान भए पनि बजेट अभावले पूरै पालिकाभित्रका प्रत्येक घरधुरीमा भने पुर्‍याउन नसकिएको खतिवडाले जानकारी दिए । यसका लागि भने संघीय, प्रदेश र स्थानीय सरकारले मिलेर बजेटको व्यवस्था गर्नुपर्ने स्थानीय बताउँछन् । 

 

विद्युत् व्यवस्था नभएका स्थानीय तहले अहिलेसम्म नवीकरणीय ऊर्जा प्रयोग गरेर कार्यालय सञ्चालनमा विद्युत्को समस्या टार्दै आएका थिए । 


मिक्वाखोलाको खोक्लिङसम्म विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगे पनि पालिका केन्द्र साँवाको थलङ अझै विद्युत्विहीन छ । मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकाले पनि अझै नवीकरणीय ऊर्जामार्फत नै काम टार्नुपर्ने अवस्था छ ।