बाजुरा- बाजुराको खप्तड छेडेदह गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको पहल अगाडि बढाउन प्रधानमन्त्री केपी ओलीलाई पत्र काटेका छन् ।
२८ वर्षदेखि अलपत्र रहेको ७५० मेगावाट क्षमताको राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहितका जनप्रतिनिधि र कर्मचारीले पत्र लेखेका हुन् ।
प्रतिनिधिसभा विघटनलगत्तै २ कित्तामा बाँडिएको नेकपाको ओली समूह र पुष्पकमल दाहाल-माधव नेपाल समूहका नेताहरूको जिल्ला दौडाह चलिरहेका बेला खप्तड छेडेदहका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई आयोजना निर्माणका लागि पत्रमार्फत जानकारी गराएका हुन् ।
आयोजना निर्माणका लागि बोलन्या थलीले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहहरूबाट पत्र संकलन गरेर प्रधानमन्त्रीलाई १ लाख पत्र बुझाउने अभियान चलाएको छ । बोलन्या थली पश्चिम सेती निर्माणका लागि संघर्ष गर्दै आइरहेको मञ्च हो ।
थलीले हालसम्म माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल, संगीत संघर्ष कार्यक्रम गरिसकेको छ ।
त्यसैगरी सरकारको खोजीका लागि भन्दै डोटीमा दिउँसै टुकी बालेर प्रदर्शन तथा ‘डोटीका सपनाका ७५० डोका’ आन्दोलन पनि गरिएको थियो । यस्तै, ‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ नारासहित १ वैशाख २०७८ मा काठमाडौंमा म्याराथन आयोजन गरिने थलीका संयोजक यादव जोशीले जानकारी दिए ।