सुनसरी- सुनसरीको वराह क्षेत्र नगरपालिका- ६ का सुबोध चन्द्रवंशी श्रीलंका टप्पुमा बसेको २० वर्ष पुग्यो । उनले बिजुली नहुँदा टुकी बत्ती बालेरै काम चलाउँदै आएका थिए । तर, श्रीलंका टप्पुमा भर्खरै बिजुलीको पहुँच पुगेपछि स्थानीयले खुसी साट्न नाचगानै गरेका छन् ।
सुगम जिल्ला सुनसरीको सुगम तर विकासमा दुर्गम श्रीलंका टप्पुमा बिजुली पुगेपछि स्थानीयको वर्षौंदेखिको बिजुली बाल्ने सपना पूरा भएको छ ।
स्थानीय चन्द्रवंशी घरैमा स्विच राख्न पाउँदा धेरै खुसी लागेको सुनाउँछन् । बिजुली नहुँदा अरूको घरमा टीभी हेरेको स्मरण गर्दै उनले भने, ‘बिजुली आएपछि घरैमा टीभी राखेको छु । अहिले त हाइसुख्ख भएको छ ।’
संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीले संसद् विकास कोषको एक करोड ५० लाख रुपैयाँ खर्च गरेपछि श्रीलंका टप्पुमा बिजुली पुगेको हो ।
कार्कीले निर्वाचनका बेला गाउँमा बिजुली पुर्याउने वाचा गरेका थिए । अहिले त्यो वाचा पूरा भएको चन्द्रवंशी बताउँछन् ।
‘अहिले बल्ल घरमा बिजुली बल्यो । सांसद कार्कीले प्रतिबद्धता पूरा गर्नुभयो । हामै्र पालामा बिजुली आउँछ भन्ने सोचेका पनि थिएनौँ तर आयो’, चन्द्रवंशी खुसी साट्छन् ।
स्थानीय पूणीदेवी चन्द्रवंशी पनि बिजुली बाल्न भएपछि दंग छिन् । बिजुली बलेका कारण चोरी कम भएको र वन्यजन्तुको आक्रमणबाट पनि छुटकारा मिलेको उनी सुनाउँछिन् ।
‘पहिला रात परेपछि वन्यजन्तुको डरले सुत्न सक्ने अवस्था हुँदैनथ्यो । बिजुली आएपछि अहिले त्यस्तो धेरै समस्या छैन’, पूणीदेवीले भनिन् ।
गाउँमा बिजुली पुगेको अवसरमा कार्की श्रीलंका टप्पुमा पुगेका थिए । उनी आउने खबर सुनेर वराह क्षेत्र- ६ की चन्द्रकला राई पनि कार्यक्रम स्थल पुगेकी थिइन् । आफ्नो टोलमा बिजुली नपुगेको भन्दै पूर्वमन्त्री कार्कीसँग उनले गुनासो गरिन्, ‘सबैतिर बिजुली बल्यो तर हामी कहिलेसम्म अन्धकारमा बस्नुपर्ने हो ?’
कोसी कटानबाट पीडित भएको र बिजुली पनि नपुगेको उनले सांसद कार्कीलाई बिलौना गरिरहेका बेला वडा- ६ का वडा अध्यक्ष उद्धवप्रसाद पोखरेलले पनि साथै थिए ।
पोखरेलले बाँकी स्थानमा पोल गाढ्ने काम भइरहेकाले केही दिनमै बिजुली पुग्ने आश्वासन राईलाई दिन भ्याए ।
३०० बिजुलीका पोल गाढ्न सुरु गरिएकाले सबैतिर बिजुली पुर्याउने गरी काम भएको उनले बताए । ‘बिजुली ल्याउन पहिलैदेखि पहल भए पनि केही भएको थिएन । सांसद कार्कीले चुनावका बेला गरेको वाचा पूरा भएको छ’, वडा अध्यक्ष पोखरेलले भने ।
श्रीलंका टप्पुमा ४५ वर्षदेखि बस्दै आएका स्थानीय बल्ल बिजुलीको पहुँचमा पुगेका हुन् । जराह क्षेत्र नगरपालिका वडा- ९ र ६ तथा उदयपुरको बेलका नगरपालिकाको वडा- २ का पाँच हजार स्थानीय लाभान्वित भएका छन् ।
श्रीलंका टप्पुमा ९०० हाराहारी घरधुरी बस्छन् । टप्पुमा बिजुली पुगेसँगै स्थानीयलाई भेट्न पुगेका सांसद कार्कीले बोलेको कुरा पूरा गरेको बताए ।
स्थानीयले सांसद कार्कीसँग कोसी कटान, शिक्षा तथा स्वास्थ्य समस्या समाधान गरिदिन माग गरे ।
कोसी कटानको कारण पाँच वर्षमा ८०० परिवार विस्थापित भएको स्थानीय लक्ष्मण थापा बताउँछन् ।
‘भर्खरै स्थानीयको बिजुलीको सपना पूरा भएको छ । अब शिक्षा र स्वास्थ्य समस्या समाधान गर्न लाग्छु । स्वास्थ्य क्षेत्र सुधारका लागि १० लाख रुपैयाँ व्यवस्था गर्छु’, सांसद कार्कीले भने ।
कोसी कटान राष्ट्रिय स्तरको विषय भए पनि सरकारलाई स्थानीयका समस्या सुनाउन पहल गर्ने सांसद कार्कीले प्रतिबद्धता जनाए ।
कोसीको पूर्वतर्फ भारतीय पक्षले स्पर बनाउन थालेपछि पश्चिमपट्टिको भाग कटान हुन थालेको छ ।