म्याग्दी - म्याग्दीको मालिका गाउँपालिकाको ३ नम्बर वडामा पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सौरबोट, इग्रे, डाडागाउँ र किटिनीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरेको हो ।
सौरबोटका १५, इग्रेका ५०, किटिनीका ८० र डाडागाउँका ५५ घरधुरीमा विद्युतीकरण भएको विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले जनाएको छ ।
फूलबारीबाट अदिभारा-इग्रे-डाडागाउँ हुँदै वडा कार्यालय रहेको किटिनीसम्म ११ केभी क्षमताको ५ किलोमिटर नयाँ लाइन विस्तार गरेर विद्युत् विस्तार गरिएको केन्द्रका प्रमुख माधव महतले जानकारी दिए ।
‘गत आव ०७६/७७ को बजेटबाट गाडिएका पोल, तानिएका तार र जडान गरिएका ३ ट्रान्सफर्मर चार्ज गरेर गत सातादेखि विद्युत् आपूर्ति गराइएको हो’, उनले भने, ‘सो वडाका अदिभारा, स्याउलीबाङ, पात्लेलगायत बस्तीमा पनि छिट्टै बत्ती बाल्ने योजनासहित काम भइरहेको छ ।’ इग्रेभन्दा अगाडि नै पर्ने भए पनि छुटेको अदिभारका १०/१५ घरका लागि छुट्टै लाइन बनाएर विद्युतीकरण गर्न लागिएको महतले बताए ।
सौरबोट, इग्रे र किटिनीमा राखिएको ५०/५० केभीए क्षमताको ट्रान्सफर्मर चार्ज गरेर मिटरबक्स राखेका र वायरिङ गरेका घरमा विद्युत् लाइन छाडिएको निर्माण कम्पनी न्यु ढुंगाना निर्माण सेवाका सञ्चालक दिनेश ढुंगानाले जानकारी दिए ।
केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा भएपछि दैनिकी सहज हुनुका साथै उद्योग व्यवसाय सञ्चालनको अवसर सिर्जना हुने, सूचना र सञ्चारमा पहुँच बढ्ने, प्रशासनिक काममा सहज भएको वडाध्यक्ष हेमबहादुर पुनले बताए ।
यसअघि सो क्षेत्रका वासिन्दाले रुमखोला लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका थिए । मालिका गाउँपालिकाको वडा-५ देवीस्थान, धवलागिरिको केन्द्र मुना, मुना र रघुगंगाको दर्मिजा, रायखोर, ठाडाखानी, मूलपानीमा पनि केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको तयारी भएको छ ।
जलजलाको लेकफाँटदेखि अन्नपूर्ण गाउँपालिकाको नागी राम्चे जोड्ने नयाँ ११ केभी लाइन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । तिप्ल्याङदेखि राम्चे, नागी लगिएको लाइन लामो दूरीको भएकाले लेकफाँटबाट छोटो दूरीमा पर्ने अर्को लाइन बनाउन लागिएको प्राविधिक रवीन्द्र भण्डारीले जानकारी दिए ।
यस वर्ष मालिकाको निस्कोट, रुम, धवलागिरिको दर, मराङ, मल्कवाङ, रघुगंगाको चिमखोला र कुइनेमंगलेमा नयाँ लाइन विस्तारका लागि योजना सञ्चालन गर्न लागिएको छ । मिलनचोक सबस्टेसनदेखि सदरमुकाम बेनीका लागि छुट्टै लाइन बनाउने काम भइरहेको छ । यस वर्ष म्याग्दीमा विद्युतीकरणका लागि संघीय सरकारबाट ५ करोड बजेट विनियोजन भएको छ ।
भदौ मसान्तसम्म म्याग्दी वितरण केन्द्रअन्तर्गत १८ हजार ४ सय ८२ विद्युत् उपभोक्ता छन् । आर्थिक वर्ष ०७५÷७६ मा थपिएका ७ सय ११ सहित १६ हजार ३ सय उपभोक्ता थिए । गत आव ०७६ साउनयता २ हजार १ सय ८२ नयाँ ग्राहक थपिएका हुन् ।