अर्घाखाँची– छत्रदेव गाउँपालिकाले निः शुल्क लोक सेवा तथा शिक्षक सेवा आयोगको कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले दलित, जनजातिलक्षित गरी लोक सेवा आयोगको कक्षा सञ्चालन गर्ने भएको हो ।
चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार दलित, जनजाति लक्षित गरी सरकारी सेवामा आकर्षण बढाउन निः शुल्क कक्षा सञ्चालन गरिने सूचना अधिकारी बुद्धिराम न्यौपानेले जानकारी दिए । गाउँपालिकाअन्तर्गतका हरेक वडाबाट १०/१० जनालाई लोक सेवा आयोगको कक्षामा सहभागी गराउने अधिकारी न्यौपानेले पालिकाखबरलाई जानकारी दिए ।
गाउँपालिकाभित्रका दलित, जनजातिहरुलाई आवेदनका आधारमा छनोट गर्ने उनले बताए । योग्यता पुगेका इच्छुकले यही फागुन २५ गतेभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका दलित, जनजातिहरुलाई लोक सेवा आयोगको कक्षामा सहभागीता हुनेलाई भत्ता उपलब्ध गराइने बताए ।