सिन्धुपाल्चोक– हेलम्बु गाउँपालिकाले विद्यालयमा भर्ना हुँदा छात्राको खातामा एक लाख रुपैयाँ जम्मा गरिदिने नीति लिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमबाट सो नीति अघि सारेको हो ।
पालिकामा विद्यालय पुरा नभई बीचमै पढाई छाड्ने विद्यार्थीहरुको संख्या वृद्धि हुँदै गएको समस्यालाई मध्यनजर गर्दै सो कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्जेन ह्योल्मोले बताए । उनका अनुसार विद्यालयमा आगामी शैक्षिकसत्रदेखि प्रत्येक विद्यालयमा बाल विकास कक्षा पास गरि कक्षा १ मा भर्ना हुने प्रत्येक छात्राको खातामा १ लाख रुपैया जम्मा गर्ने नीति लिएको छ । शैक्षिक विकासको लागि शुन्य ड्रप आउन कार्यक्रम सञ्चालन गर्नको लागि विद्यार्थीको बैंक खातामा सो रकम जम्मा गर्न लागेको उनले पालिकाखबरलाई बताए ।
पालिकाका ३४ वटै सामूदायिक विद्यालयमा कार्यक्रम सञ्चालन गर्न पालिकाले आवश्यक तयारी गरिरहेको उनले बताए । विद्यार्थीहरुको खातामा जम्मा गरेको बचत उनीहरुको अध्ययन पूरा नभईकन निकाल्न नमिल्ने बनाउँदा बीचमै पढाइ छाड्नेको संख्या घट्ने विश्वास उनको छ ।
गाउँपालिकाले जम्मा गर्ने सो रकम स्नातक दोस्रो वर्षसम्म अध्ययन गरेमा खाता भएको छात्रा आफैँले सो रकम निकालेर खर्च गर्न पाउनेछिन् । स्नातकसम्म अध्ययन नगरेमा गाउँपालिकाले बैंक खातामा जम्मा गरि दिएको रकम स्वत फिर्ता लिने गाउँपालिकाले जनाएको छ ।