झापा– बुद्धशान्ति गाउँपालिकाले सामुदायिक विद्यालयमा ‘हाम्री आमा राम्री आमा’ कार्यक्रम लागू गरेको छ । गाउँपालिकामा चालु आर्थिक वर्ष २०८०/०८१ मंसिर पहिलो सातादेखि सामुदायिक विद्यालयमा सो कार्यक्रम लागू गरेको हो ।
सामुदायिक विद्यालयका अभिभावकले आफ्ना बच्चाहरुको पढाईका बारेमा चासो नराख्ने र विद्यालयको भरमा मात्रै रहने भएकोले सो कार्यक्रम लागू गरिएको शिक्षा, युवा, खेलकुद तथा समाज कल्याण शाखाकी झल्का अधिकारीले बताइन् । अभिभावकले पनि बालबालिकालाई घरमा समय दिनुपर्ने रहेछ भन्ने मान्यता राख्न अभिभावक शिक्षा दिन सो कार्यक्रम लागू गरेको बताइन् ।
१६ वटा सामुदायिक विद्यालयमा ‘हाम्री आमा राम्री आमा’ कार्यक्रम सञ्चालनमा ल्याएको उनले जानकारी दिइन् । उनले भनिन्, ‘हालसम्म सचेतनाको कार्यक्रम ८ वटा सामुदायिक विद्यालयमा सकियो । बाँकी ८ वटा सामुदायिक विद्यालयमा सञ्चालन गर्ने तयारीमा छौँ ।’
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका आमाबुवाहरुका बालबालिकाहरुको पढाइका बारेमा जानकारी लिन र दिन अभिभावकलाई विद्यालय परामर्श दिने कार्यक्रम लागु गरेको अधिकारीले सुनाइन् । अभिभावकले आफ्ना नानी बाबुका विषयमा जागरुक भएमा बादबालिकाले पढाइप्रति रुचि राख्ने उनको विश्वास छ ।
उनले थपिन्, ‘प्रविधिको विकाससंगै पछिल्लो समय बालबालिकाहरु मोबाइल बढी हेर्ने र पढाइप्रति रुचि नहुँने बढेको छ । आमाले बालबालिकाको घरमा हेरचाह हुन्छ । साथै घर नै पहिलो विद्यालय भएकोले अभिभावकहरुलाई सचेतना गराउन लागेका हौँ,’ अभिभावक शिक्षाले सामुदायिक विद्यालयका विद्यार्थीको गुणस्तर सुधार गर्न सकिने उनले बताइन् ।
‘हाम्री आमा, राम्री आमा’ कार्यक्रम सञ्चालनको लागि गाउँपालिकाले ४ लाख बजेट विनियोजन गरेको छ । यो कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्ने उनले जानकारी दिइन् ।