close

नाक थुनेर पढ्न बाध्य छन् बालबाललिकाहरू

नाक थुनेर पढ्न बाध्य छन् बालबाललिकाहरू

Trulli
ADVERTISEMENT

काठमाडौं । नीलबाराही स्कुलको कक्षाकोठाभित्र छिर्नेबितिकै जोकोहीलाई नाक थुनेर बस्नुपर्ने बाध्यता छ । जस्ताको अस्थायी टहरा बनाएर कक्षा सञ्चालन गर्दै आएको सो विद्यालय विष्णुमति खोलाको किनारमै पर्छ । त्यसैले पनि खोलासँगै बगेर आएको फोहोरको दुर्गन्ध हरेक कक्षाकोठामा पुग्छन् । खोलाको दुर्गन्धले पढाउनै मुस्किल भएको शिक्षकहरू बताउँछन् । 

शिक्षिका गोमा आचार्यले खोलाको छेवैमा टहरा भएकोले पढाउन निकै कठिन भएको बताइन् । लामो समयदेखि सोही विद्यालयमा अध्यापन गर्दै आएका उनले खोलाबाट आएको गन्धले आफूसँगै विद्यार्थीसमेत समस्यामा रहेको बताइन् । 

‘नयाँ शैक्षिक सत्र सुरु भएसँगै टहरामा पढाइ सुरु भएको हो । सुरु सुरुमा त निकै कठिन हुन्थ्यो’, उनले भनिन्, ‘सुरुमा खोलाको दुर्गन्धले शिक्षक र विद्यार्थी पालैपालो बिरामी भएका थियौँ ।’ 

तर अहिले सोही वाध्यतामा पढाउने बानी परेको उनको अनुभव छ । उनीसँगै विद्यार्थी पनि जस्ताको ताप र खोलाको दर्गन्धले आजित भइसकेका छन् । कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थी दिपक सिंहका अनुसार टहरामा पढाइ सुरु हुनेबित्तिकै धेरै गाह्रो भएको थियो । तर पछिपछि विस्तारै बानी परेको उनले बताए । 

‘स्कूल नजिकै खोला छ । खोलाले गर्दा स्कूलमा पनि गन्हाउँछ’, उनले भने ‘पहिले त नाक थुनेरै पढ्नु पर्थ्यो । अनि पढाइमा ध्यान नै जाने थिएन ।’ 

भारत घर भई नेपाल बस्दै आएका उनी सामान्य परिवारका विद्यार्थी हुन् । बाबु फोहोर उठाउने काम गर्ने र आमा घरमा बस्ने भएकोले महँगो स्कूलमा पढ्न नसकेको उनी बताउँछन् । कोठा र स्कूल नजिक भएकोले अरू स्कूलमा पढ्न जान नसकेको उनले बताए ।

खोलाको किनारमा विद्यालय भएकोले दुर्गन्धसँगै पानीबाट पनि पीडित हुनु परेको गुनासो विद्यालयका शिक्षिकाको छ । विद्यालयका अर्को शिक्षिका अनिता अधिकारीका अनुसार विष्णुमतिमा पानीको बहाव बढेसँगै विद्यालय प्राङ्गणमा पानीले भरिन्छन् । 

‘पानी परेपछि अगाडि जलमग्न हुन्छ । कक्षाकोठामा जाने बाटोसमेत हुँदैन’ विद्यालयको प्रांगण देखाउँदै उनले भनिन्,  ‘पानी परेपछि विद्यार्थीलाई भित्तैभित्ता बोकेर लैजानु पर्छ ।’ विद्यार्थीलाई कक्षाकोठामा लैजानको लागि शिक्षकशिक्षिकाहरू मिलेर नै माटो र गिटी राखेर अग्लो बनाइएको उनले बताइन् । 

टहरामा चारवटा कक्षाकोठा 

विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुने गर्छ । तर कक्षा १ देखि ४ सम्मका विद्यार्थी भने जस्ताको टहरामा पढ्छन् । सानो कक्षा कोठासँगै बेन्चहरू पनि सानो भएकोले विद्यार्थीहरू उकुसमुकुस गरी बस्न बाध्य छन् । 

‘बेन्च सानो छ । बेन्चमा दुई जना मात्रै बस्न मिल्छ’, शिक्षिका गोमा आचार्यले भनिन्, ‘विद्याथीहरू नअट्ने भएकोले प्रतिबेन्च तीनजना विद्यार्थी राखेका छौं ।’ 

उनका अनुसार जस्ताको टहरा भएकोले घाम लागेपछि कक्षाकोठामा बस्नै सकिँदैन । कक्षाकोठामा छिरेको केही समयमैमा पसिनाले निथ्रुक्क भिजिने उनले बताइन् । ‘हाम्रो मात्रै होइन, विद्यार्थीको अवस्था पनि उस्तै हुन्छ’, उनले भनिन्, ‘तर हामीसँग यसबाहेक अरु विकल्प पनि त छैन ।’

अर्का शिक्षिका अनिता अधिकारीका अनुसार जस्ताको टहरा भएकोले पढाउन कठिन छ । ‘जस्ताको टहरामा एक कोठाको आवाज अर्को कक्षासम्म सुनिन्छ । आवाजको डिस्र्टव हुन्छ’, उनले भनिन्, ‘पानी पर्दा पनि जस्ताको आवाजले पढाउन सकिँदैन ।’

उनले पर्याप्त ठाउँ नभएकोले विद्यार्थीहरू बाहिर खेल्ने अवस्था नरहेको उनले बताइन् । विद्यालयले खुवाउने दिवा खाजा पनि कक्षाकोठामै लगेर दिने उनले सुनाइन् । 

त्रिपाल टाँगेर बस्छन् शिक्षक

विद्यार्थीहरू कक्षाकोठामा बसेर पढे पनि शिक्षकहरूको लागि पनि कुनै कोठा छैन । कक्षाकोठा अभाव भएकोले टहराको अगाडि सानो पाल टाँगिएको छ । पालमुनि केही बेच्न राखिएको छ । विद्यालयका शिक्षक र शिक्षिका आराम गर्नुपरे सोही पालमुनि ओत लागेर बस्छन् । 

शिक्षक शिक्षिकाको लागि कक्षा कोठा खोई त भन्दा शिक्षिका अनिता अधिकारीले भनिन्, हाम्रो कोठा यही हो । हामी सबैजना आफ्नो पिरियड सकाएपछि यही आएर बस्छौँ । 

उनका अनुसार खाली पिरियड भएको बेला विद्यालय भवनमा जान्छन् । नत्र सबै जना यही पालमुनि बस्ने उनले बताइन् । 

भवन निर्माण ढिलाइका कारण जस्ताको टहरा

जस्ताको टहरासँग विद्यालयको भवन करिब ५ मिनेट फरक छ । विद्यालयको भवन पुनर्निर्माण भइरहेकोले कक्षाकोठा अभावका कारण जस्ताको टहरामा पढाउनु परेको विद्यालयका प्रधानाध्यापक जानुका नेपालले बताइन् । 

उनका अनुसार ०७२ सालको भूकम्पले विद्यालयको भवन क्षतिग्रस्त भएको थियो । केही वर्ष सोही विद्यालयमा कक्षा सञ्चालन हुँदै आएको थियो । तर, भुकम्प गएको ७ वर्ष बितिसक्दा पनि विद्यालयले पक्की भवन नपाएको जस्ताको टहरा बनाएर बढाएको उनले पालिका खबरसँग बताइन् । 

‘हामीले ५ वर्षसम्म यही भवनमा पढायौँ । भूकम्प गएको चार वर्षपछि विद्यालय भवन रेक्टोफिटिङ गर्नको लागि बजेट विनियोजन भयो’, उनले भनिन्, ‘तत्कालीन उपत्यका विकास पुनर्निर्माण प्राधीकरणले बजेट छुट्याएको रहेछ ।’ 

०७६ मा विनियोजित बजेट अनुसार दुई वर्षमा ठेकेदार कम्पनीले भवनको सबै काम सकाउनु पर्ने उनले बताइन् । सम्झौता अनुसार गत साउन २२ गते नै रेक्टोफिटिङ भएर भवन हस्तान्तरण गर्नुपर्ने प्रधानाध्यापक नेपालले बताइन् । तर कोरोना महामारीको बहानामा भवनको कार्य नसकेको जिकिर उनको छ । 

‘ठेकेदार कम्पनी को हो, कति बजेट विनियोजन भएको हो ? त्यो हामीलाई थाहा छैन, हामीले भवन निर्माण हुने मात्रै थाहा छ’, उनले भनिन्, ‘नेपाल सरकारलाई पटक-पटक ताकेता गर्दा मात्रै भवन रेक्टोफिटिङको कार्य सुरु भएको हो ।’

उनका अनुसार कम्पनी आफैले विद्यालय प्राङ्गणमा अस्थायी टहरा बनाएको थियो तर कक्षाकोठा ससानो भएकोले खोलाको छेउमा सो टहरा बनाइएको उनले बताइन् । 

काठमाडौंमा सिंगै घर भाडामा लिएर पढाउन क्षमता विद्यालयसँग नभएको उनको दाबी छ । उनले थपिन्, ‘शिक्षकले पढाउने हो र विद्यार्थीको काम पढ्ने हो । दुबैले जस्तोसुकै अवस्थामा पनि आफ्नो काम गर्नैपर्‍यो ।’