close

शिक्षामा थप २० प्रतिशत बजेट बढाउन शिक्षामन्त्रीको आग्रह

शिक्षामा थप २० प्रतिशत बजेट बढाउन शिक्षामन्त्रीको आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन् । आयोगका उपाध्यक्ष डा.विश्वनारायण पौडेलसँग मन्त्री पौडेलले शिक्षामा बजेटको आकार बढाउने विषयमा छलफल गरेका हुन् । 

 


छलफलमा मन्त्री पौडेले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधि क्षेत्रमा आवश्यक बजेट नभएको भन्दै शिक्षामा २० प्रतिशत बजेटको आकार बढाउन आग्रह गरे ।  मन्त्री पौडेलले विद्यालय शिक्षामा सबै माध्यमिक विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला र सूचना तथा प्रविधि, सबै शिक्षकका लागि तालिम व्यवस्था, विपन्न छात्रवृत्तिको दायरा र रकममा वृद्धि, सात वटै प्रदेशमा नमुना आवासीय केन्द्रीय विद्यालय स्थापना, विद्यालयको नक्सांकन, अंग्रेजी, गणित र विज्ञानका लागि ३ हजार शिक्षकका लागि दरबन्दी सिर्जनालगायत कार्यक्रम मन्त्रालयले योजनामा राखेको बताए । 

 


‘शिक्षाको बजेट धेरै तलबमा जान्छ । अहिले कोभिडको असर पनि विस्तारै कम हुँदै गएको छ,’ मन्त्री पौडेलले भने, ‘शिक्षालाई जोड दिँदै मन्त्रालयले तोकेका प्राथमिकताका लागि बजेटको आकार बढाउनुप¥यो ।’ उनले बालविकास शिक्षाका सहजकर्ताले तलब भत्ता केन्द्रबाट उपलब्ध गराउने, अस्थायी र उमेर हद नाघेका शिक्षकका लागि गोल्डेन ह्याडन्सेक कार्यक्रम लागू गर्ने मन्त्रालयको योजना रहेको सुनाउँदै बजेटको आकार बढाउन आग्रह गरे । 

 


यस्तै, उच्च शिक्षामा ५० प्रतिशत सरकारी र सामुदायिक कलेजको भवन निर्माण गर्ने, गुणस्तरीय शिक्षक उत्पादनका लागि शिक्षक तयारी पाठ्यक्रम तथा पठनपाठनमा सुधार र शिक्षा विषय अध्ययन गराउने कलेजको स्तरोन्नति, प्राविधिक धार (९–१२) को शैक्षिक कार्यक्रम ७ सय ५३ स्थानीय तहमा पु¥याउने लक्ष्य रहेको मन्त्री पौडेलले जानकारी दिए । 

 


विज्ञान तथा प्रविधि क्षेत्रमा सबै प्रदेशमा नास्टको क्षेत्रीय कार्यालय सञ्चालन गर्ने मन्त्रालयको तयारी भएको उनको भनाइ छ । शिक्षा मन्त्रालयले दिएको विषय सकारात्मक भएको बताउँदै योजना आयोगका उपाध्यक्ष पौडेलले गत आर्थिक वर्षमा भन्दा शिक्षामा बजेट थप गर्ने बताए । ‘शिक्षामा बजेट थप गर्ने विषयमा सहमत छु,’ उनले भने, ‘शिक्षामा बजेट थपिँदा सुदूरपश्चिम, कर्णालीका विद्यालयको गुणस्तर पनि वृद्धि हुनुप¥यो ।’

 


शिक्षामा संविधानले २० प्रतिशतको ग्यारेन्टी गरेको बताउँदै डा. पौडेलले यो वर्ष शिक्षामा बजेट थप्ने विषयमा आफू सकारात्मक रहेको जानकारी दिए । ‘प्रधानमन्त्रीसँग विद्यार्थीका लागि दिवा खाजासहितको कार्यक्रमलाई बजेट थप गर्ने विषयमा छलफल भएको छ’, उनले भने, ‘मन्त्रालयले पनि प्राथमिकता तोकेको ठाउँमा हामी सम्बोधन गर्छौं ।’