जुम्ला–पछिल्लो समय जुम्लाका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) मार्फत अनुमति लिएर प्राविधिकतर्फ विभिन्न विषयमा अध्ययन अध्यापन गराइँदै आएको छ । यसअघि नेपालकै पहिलो प्राविधिक विद्यालय कर्णाली प्राविधिक शिक्षालयमा मात्रै प्राविधिक धारतर्फका विषय मात्रै पठनपाठन हुने गरे पनि पछिल्लो समय दुई दर्जन बढी सामुदायिक विद्यालयमा प्राविधिक धारतर्फका विषय पढाइ हुने गरेको छ ।
घर नजिकै सामुदायिक विद्यालयमै प्राविधिक धारतर्फका विभिन्न विषयमा पढ्न पाइने भएपछि हर्षित भएका जुम्ली विद्यार्थीले छोटो समयमै असन्तुष्टि व्यक्त गर्न थालेका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंलाई ज्ञापनपत्र बुझाउँदै प्राविधिक धारतर्फका विद्यार्थीले पठनपाठनमा लापर्वाही हुँदै आएको गुनासो गरेका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले ४ भदौ ०७७ मा गरेको निर्णयअनुसार कोरोना संक्रमण प्रभावित विद्यार्थीलाई १५ प्रतिशत छुट दिन परिपत्र तथा सूचना जारी गरे पनि छुट नदिएको ज्ञापनपत्रमा उल्लेख छ । गुणस्तरीय शिक्षा नभएको, कोरोना संक्रमणका बेला आन्तरिक तथा प्राविधिक विधिबाट परीक्षा हुनुपर्ने, ३ महिनाभित्र परीक्षाको नतिजा प्रकाशन गर्नुपर्ने माग उनीहरूले गरेका छन् ।
प्राविधिक धारतर्फ ८० प्रतिशत अभ्यास शिक्षण हुनुपर्ने हो । तर, यहाँका प्राविधिक धारका विद्यालयले अभ्यास शिक्षणको कुनै काम नगरेको भन्दै विद्यार्थीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । प्राविधिकतर्फको ३ वर्षे पाठ्यक्रमलाई ५ वर्षेसम्म पु¥याउने निर्णयप्रति विद्यार्थीले गुनासो गरेका छन् । विषय विशेषज्ञ पूर्ण अवधिका शिक्षक नराखी पार्ट टाइम शिक्षक राख्ने गरेकाले पनि प्राविधिक धारतर्फको पठनपाठन गुणस्तरीय र प्रभावकारी नभएको उनीहरूको दाबी छ ।
कुनै विषयमा शिक्षक तथा व्यवस्थापकसँग अध्यास शिक्षण, पठनपाठन, शुल्कलगायतमा गुनासो गर्दा अभ्यास शिक्षणमा दिने नम्बरमा तलमाथि गरिनेजस्ता धम्की खेप्दै आएको विद्यार्थीले बताए । प्राविधिक धार पठनपाठन गर्ने विद्यालय जुम्लामा धेरै भए पनि गुणस्तर नभएको विद्यार्थीको गुनासो छ । कुनै पनि निकायले अनुगमन गर्ने र प्राविधिक शिक्षामा सुधार ल्याउने चासो नदेखिएको विद्यार्थीको भनाइ छ ।
कर्णाली मावि अनामनगरमा सर्वे, चन्दननाथ माध्यमिक विद्यालयमा फरेस्टी र बाली विज्ञान, त्रिभुवन मावि झारज्वालामा बाली विज्ञान, जनता मावि महतगाउँमा फरेस्टी प्राविधिक धारको विषय पठनपाठन हँुदै आएका छन् । यस्तै, सरस्वती मावि रिनीमा बाली विज्ञान, कनकासुन्दरी मावि लुड्कुमा बाली विज्ञान, भैरव मावि नराकोटमा बाली विज्ञान, मालिका मावि धापामा ओभरसियर, हिमशिखर मावि तातोपानीमा ओभरसियर प्राविधिक धारका विषय पठनपाठन हुँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी प्रसार्इंले प्राप्त ज्ञापनपत्र सिटिईभिटीका प्रदेश र संघीय कार्यालयमा पठाइने बताइन् ।