close

मेडिकल कलेज अनुगमनमा निस्किए शिक्षामन्त्री पौडेल

मेडिकल कलेज अनुगमनमा निस्किए शिक्षामन्त्री पौडेल

Trulli
ADVERTISEMENT

काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको अनुगमन गरेका छन् । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्रीको टोलीले अनुगमन गरेको हो । 


अनुगनका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले बढी शुल्क लिन नपाउने बताए ।  मन्त्री पौडेलले कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलाई निर्देशन दिए, ‘बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुनअनुसार कारबाही हुन्छ ।’ 


मन्त्री पौडेलले शुल्कका सम्बन्धमा शुक्रबारसम्म रिपोर्ट पेस गर्न निर्देशन दिए । ‘भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा विद्यार्थी अभिभावकसँग बसेर वार्ता गर्नुहोस्’, मन्त्री पौडेलले भने । मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी शर्माले शुक्रबार बिहान साढे १० बजे विद्यार्थीसहित कलेज प्रशासनलाई वार्ताका लागि बोलाइन् । 

 

काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि तालाबन्दी एवं प्रदर्शन गर्दै आइरहेका छन् । बुधबार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढी शुल्क असुल गर्ने कलेजलाई कानुनी कारबाही गरी सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको थियो ।