close

बढी रकम असुल्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने शिक्षा मन्त्रालयको चेतावनी

बढी रकम असुल्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने शिक्षा मन्त्रालयको चेतावनी

Trulli
ADVERTISEMENT

काठमाडौं–शिक्षा मन्त्रालयले सरकारले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने चेतावनी दिएको छ । चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजको समबन्धन खारेज गर्ने चेतावनी दिएको हो ।


मन्त्रालका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्देशनलाई बेवास्ता गरी गैरकानुनी रूपमा विद्यार्थीबाट बढी शुल्क असुल गरिए राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने बेहोरा सूचित गरिन्छ ।’ राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ (क)मा निर्धारितभन्दा बढी शुल्क लिए सम्बन्धन खारेजी गर्ने उल्लेख छ ।

 

विगतमा शिक्षा र गृह मन्त्रालयले समेत निर्धारित शुल्कभन्दा बढी रकम नलिन र लिइएको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने सम्बन्धित विश्वविद्यालयलाई निर्देशन दिइसकेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताए ।

 

चिकित्सा शिक्षाको एमबिबिएस लगायतका शैक्षिक कार्यक्रमका लागि लिइने शुल्क राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ मा उल्लेख छ । मन्त्रालय र आयोगले विद्यार्थीलाई तोकिएकोभन्दा बढी शुल्क नबुझाउन आग्रह गरे पनि मेडिकल कलेजले बढी शुल्क नबुझाए विद्यार्थीलाई परीक्षा दिनै वञ्चित गराउँदै आएका छन् ।