close

शैक्षिक सुधार गर्दै भरतपुर महानगर

शैक्षिक सुधार गर्दै भरतपुर महानगर

Trulli
ADVERTISEMENT

चितवन– चितवनको भरतपुर महानगरले शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति भएको बताएको छ । देशका अन्य पालिकामा हुन नसकेका नमुनायोग्य काम भरतपुरमा गरिएको महानगरको भनाइ छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको दाबी गरिन् ।


महानगरमा अटिजम विद्यालय स्थापना, शिक्षक दरबन्दी सिर्जना गरी युवा स्वयंसेवक शिक्षक परिचालन, खुला आवेदनबाट पूर्ण छात्रवृत्ति प्रदानजस्ता कार्यक्रम महानगरले सञ्चालन गरिरहेको छ । भरतपुर महानगरले आफ्नो आन्तरिक आम्दानीको १३ प्रतिशत शिक्षामा लगानी गरेको छ । संघीय सरकारले १० प्रतिशत मात्र शिक्षामा बजेट छुट्याएको छ ।


प्रमुख दाहालले भनिन्, ‘हामीले शिक्षामा दिएको प्राथमिकताका कारण नतिजा पाउन सकेका छौँ ।’ अन्य पालिकाले गर्न नसकेका काम भरतपुरले गर्न सकेको उनको धारणा छ ।महानगरले उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्नेका लागि वार्षिक १० हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराउन थालेको छ ।


सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीको न्यूनतालाई परिपूर्ति गर्ने उद्देश्यले महानगरले स्वयंसेवक शिक्षक परिचालन गरेको छ । गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न चालू आर्थिक वर्षमा महानगरको आन्तरिक स्रोतबाट ६५ लाख रुपैयाँ अनुदान रकम विनियोजन गरेको छ । शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले ३० युवा स्वयंसेवक शिक्षक परिचालन गरिने बताए । सामुदायिक विद्यालयमा शिक्षक अभाव हुन नदिन यो कार्यक्रम राखिएको उनको भनाइ छ । 

 

सामुदायिक विद्यालयको शिक्षक दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनको महत्त्वपूर्ण कार्य सम्पन्न भएको छ । यस अवधिमा सामुदायिक विद्यालयको विद्यार्थी संख्यामा करिब ६ हजार वृद्धि भएको उनले बताए । आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि ०७५ मा ५६ दशमलव ४७ प्रतिशत रहेकामा शैक्षिक सत्र ०७७ मा ५ दशमलव ५३ प्रतिशतले वृद्धि भई ६२ प्रतिशत पुगेको छ ।

 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य प्रगति भएको पौडेलको भनाइ छ । कुल साक्षरता दर गुणस्तरमा ९८ दशमलव ५ प्रतिशत रहेको छ । विभिन्न स्थानमा नमुना विद्यालय स्थापना भएको उनले बताए । शिक्षकको प्रविधि उपयोग क्षमता विकास गर्न आइसिटी तालिम सञ्चालन गरिएको छ । सबै आधारभूत विद्यालयमा इन्टरनेट सुविधा विस्तार गरी शिक्षासँग सिकाइ जोडिएको छ ।


शिक्षकको पेसागत दक्षता विकासका कार्य अगाडि बढाइएको उनले जानकारी दिए । उनले भने, ‘विगत साढे ४ वर्षमा ‘हाम्रो गौरव हाम्रो भरतपुर’ विषयको कक्षा १ देखि ८ को स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिएको छ ।’ शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमुना विद्यालय विकास कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए । संस्थागत विद्यालयको साझेदारीमा कक्षा ११ का २३९ विद्यार्थीलाई मेरिट बेसमा आधारित पूर्ण छात्रवृत्ति प्रदान गरिएको उनले बताए । उनले भने, ‘यो नेपालमै पहिलो कार्य हो ।’ 

 

लैंगिक हिंसारहित विद्यालय बनाउन सबै सामुदायिक तथा संस्थागत विद्यालयमा एक महिला शिक्षिकालाई लैंगिक सम्पर्क शिक्षक तोकिएको छ । उनीहरूलाई लैंगिक हिंसासम्बन्धी अभिमुखीकरणसमेत दिइसकिएको छ । भरतपुर बालमन्दिरमा अटिजम विशेष विद्यालय स्थापना गरी अटिजम भएका बालबालिकाको शिक्षामा पहुँचको सुनिश्चितता गरिएको छ । सामुदायिक विद्यालयमा ५ वटा बस उपलब्ध गराइएको र अहिले पनि त्यो कार्यक्रम सञ्चालन भइरहेको महानगरले बताएको छ ।


महानगरभित्र सामुदायिक १२३ र संस्थागत विद्यालय ९७ छन् । ती विद्यालयमा ८६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । महानगरभित्र कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय, दुई मेडिकल कलेजसहित अन्य प्राविधिक कलेजसँगै विभिन्न विश्वविद्यालयका आंगिक क्याम्पस, सामुदायिक क्याम्पस र निजी क्याम्पस छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँका स्कुल र कलेजमा विद्यार्थी पढ्न आउने गर्छन् ।