close

शिक्षामा १३ प्रतिशत लगानी गरिरहेका छौँ : नगरप्रमुख दाहाल 

शिक्षामा १३ प्रतिशत लगानी गरिरहेका छौँ : नगरप्रमुख दाहाल 

Trulli
ADVERTISEMENT

रेनु दाहाल, नगरप्रमुख, भरतपुर महानगरपालिका 

 

शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम गर्न महानगर गर्न सफल भएको छ । शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको छ ।  महानगरमा अटिजम विद्यालयको स्थापना, शिक्षक दरबन्दी सिर्जना गरी युवा स्वयंसेवक शिक्षक परिचालन, खुला आवेदनबाट पूर्ण छात्रवृत्ति प्रदानजस्ता कार्यक्रम लागू गरिएको छ ।

 

यी कार्य अन्य पालिकाले पनि सिको गरिरहेका छन् । भरतपुर महानगरले आफ्नो आन्तरिक आम्दानीको १३ प्रतिशत शिक्षामा लगानी गरेको छ । सङ्घीय सरकारले १० प्रतिशत मात्र शिक्षामा बजेट छुट्याएको छ । हामीले शिक्षामा दिएको प्राथमिकताका कारण नतिजा पाउन सकेका छौँ । अन्य पालिकाले गर्न नसकेका काम भरतपुरले गर्न सकेको छ । महानगरपालिकाले उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्नेका लागि वार्षिक  १० हजार छात्रवृत्ति उपलब्ध गराउन सुरु गरेको छ ।

 

सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीको न्यूनतालाई परिपूर्ति गर्ने उद्देश्यले महाननगरपालिकाले स्वयंसेवक शिक्षक परिचालन गर्ने योजना अघि सारेको छ । गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न चालु आर्थिक वर्षमा महानगरको आन्तरिक स्रोतबाट  ६५ लाख अनुदान रकम विनियोजन गरेको छ । ३० युवा स्वयंसेवक शिक्षक परिचालन गरिने छ । सामुदायिक विद्यालयमा शिक्षक अभाव हुन नदिन यो कार्यक्रम राखिएको हो ।  

 

यससँगै सामुदायिक विद्यालयको शिक्षक दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनको महत्वपूर्ण कार्य सम्पन्न भएको छ । यस अवधिमा सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्यामा करिब ६ हजार वृद्धि भएको छ । आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि विसं २०७५ मा ५६ दशमलव ४७ प्रतिशत रहेकामा शैक्षिक सत्र विसं २०७७ मा पाँच दशमलव ५३ प्रतिशतले वृद्धि भई ६२ प्रतिशत पुगेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य प्रगति भएको  छ । कूल साक्षरता दर गुणस्तरमा ९८ दशमलव पाँच प्रतिशत रहेको छ । विभिन्न स्थानमा नमूना विद्यालय स्थापना गरिएको छ ।

 

शिक्षकको प्रविधि उपयोगको क्षमता विकास गर्न आइसिटी तालिम सञ्चालन गरिएको छ । सबै आधारभूत विद्यालयमा इन्टरनेट सुविधा विस्तार गरी शिक्षासँग सिकाइ जोडिएको छ । शिक्षकको पेसागत दक्षता विकासका कार्य अगाडि बढाइएको छ ।  विगत चार वर्ष छ महिनामा  ‘हाम्रो गौरव हाम्रो भरतपुर’ विषयको कक्षा १ देखि ८ को स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमूना विद्यालय विकासको कार्य कार्यान्वयनमा ल्याइएको छ । संस्थागत विद्यालयको साझेदारीमा कक्षा ११ का २३९ विद्यार्थीलाई मेरिट बेसमा आधारित पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ । यो नेपालमा नै पहिलो कार्य हो ।

 

लैङ्गिक हिंसारहित विद्यालय बनाउन सबै सामुदायिक तथा संस्थागत विद्यालयमा एक महिला शिक्षिकालाई लैङ्गिक सम्पर्क शिक्षक तोकिएको छ । उनीहरुलाई लैङ्गिक हिंसासम्बन्धी अभिमुखीकरणसमेत दिइसकिएको छ । भरतपुर बालमन्दिरमा अटिजम विशेष विद्यालय स्थापना गरी अटिजम भएका बालबालिकाको शिक्षामा पहुँचको सुनिश्चितता गरिएको छ । सामुदायिक विद्यालयमा पाँच बस उपलब्ध गराइएको र अहिले पनि त्यो कार्यक्रम सञ्चालन गरिने छ ।

 

महानगरपालिकाभित्र सामुदायिक १२३ र संस्थागत विद्यालय ९७  रहेका छन् । ती विद्यालयमा ८६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । महानगरपालिकाभित्र कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय, दुई मेडिकल कलेजसहित अन्य प्राविधिक कलेजसँगै विभिन्न विश्वविद्यालयका आंगिक क्याम्पस, सामुदायिक क्याम्पस र निजी क्याम्पस रहेका छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँका स्कुल र कलेजमा विद्यार्थी पढ्न आउने गर्दछन् ।