close

संंस्कृत पढ्दै इस्लाम युवा

संंस्कृत पढ्दै इस्लाम युवा

Trulli
ADVERTISEMENT

महोत्तरी– महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ८ का २० वर्षीय इस्लाम धर्मावलम्बी युवा मोहम्मद इस्राफिल अन्सारी एक सासमा लघु सिद्धान्त कौमुदिको सङ्ज्ञा प्रकरण हरर भन्छन् । सामान्यतया संस्कृत भाषा, साहित्य भनेको हिन्दु धर्म परम्पराका पनि उच्च ब्राह्मण जातिले पढ्ने, बुझ्ने विषय हो भन्ने परम्परागत मान्यता तोड्दै अन्सारीले औपचारिक शिक्षामै संस्कृत व्याकरण विषय रोजेका हुन् । 


अन्सारी मटिहानी वडा नम्बर ७ मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका छात्र हुन् । कक्षा ८ देखि यही विद्यालय पढेका इस्राफिलको संस्कृत भाषा, साहित्यसहित अन्य अनिवार्यबाहेक ऐच्छिक विषय संस्कृत व्याकरण हो । ‘संस्कृत आदिम भाषा हो । आदिकाल बुझ्न र पढ्न संस्कृत आवश्यक छ भन्ने लाग्यो’, इस्राफिल भन्छन्, ‘त्यसैले आफ्नो घरपायकको विद्यालयमा संस्कृत पढ्ने अवसर पूरा गर्दै छु ।’  आफूलाई  संस्कृत व्याकरणमा आचार्य (स्नातकोत्तर) गर्ने इच्छा रहेको इस्राफिल बताउँछन् । ‘संस्कृत उच्च पठित हिन्दुको भाषा बताउने पनि भेटिन्छन्, तर भाषा कुनै जाति, समुदाय वा धर्म परम्परामा बाँधिएको हुँदैन भन्ने उदाहरण मै हुँ’, इस्राफिल भन्छन्, ‘विद्यालयमा पढ्दा गुरुजन, सहपाठी साथी र अन्य कसैबाट अपहेलित हुनुपरेको छैन, बरु मैले सबैबाट मायाँ र उत्साह पाएको छु ।’


अब इस्लाम धर्म परम्परा र हिन्दुभित्रकै पनि जनजाति र दलित समुदायले संस्कृत विषयको पठनपाठन रोजेर धार्मिक संकुचनको परम्परा तोड्दै छन् । इस्राफिल आफ्नो विद्यालयका जेहेनदार विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेल बताउँछन् । ‘इस्राफिल जिज्ञासुसँगै मिहिनेती छन्’, पौडेल भन्छन्, ‘विद्यालयमा यिनी औसत हैन, राम्रा विद्यार्थीमध्येका हुन् ।’

 

सबै विषयमा राम्रो मिहिनेत गर्ने इस्राफिलले कम्प्युटर विज्ञानमा पनि राम्रो दख्खल राख्ने पौडेलको भनाइ छ । कम्प्युटरमा राम्रो दख्खल भएका इस्राफिललाई नगरपालिकाले कम्प्युटर अपरेटरको रोजगारी दिएको छ । धार्मिक सहिष्णुताको एक अपूर्व नमूना आफ्नो विद्यालय रहेको इस्राफिल सगर्व बताउँछन् ।

 

पछिल्लो समयमा केही महिना पहिलेदेखि विद्यालय अगाडिको धार्मिक महत्त्वको लक्ष्मीसागर तलाउमा प्रत्येक बिहीबार लक्ष्मीनारायणको सन्ध्याकालीन महाआरती थालिएको छ ।  इस्राफिलले यो महाआरतीमा सहभागिताका लागि उद्घोषण अपिल बनाएका छन् । इस्राफिलको अपिल मिठासपूर्ण रहेको मटिहानीबासी बताउँछन् ।


१७७५ मा तश्मैयाबाबा भनिने एक सन्तले स्थापना गरेको त्यतिखेरको संस्कृत पाठशाला कालान्तरमा मुलुककै संस्कृत शिक्षाको केन्द्र बनेको उनीहरूको भनाइ छ । विगतमा मधेसका होउन् कि पहाडका ब्राह्मण जातिका हिन्दु मात्र पढ्ने गरेको विद्यालय अब सबै जातजातिको साझा ज्ञानकेन्द्र बनेको मटिहानी वडा नम्बर ७ का वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी ८५ वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउँछन् ।

 

संस्कृतमा माध्यमिक तहको पढाइ सकेपछि उच्च तहको अध्ययन गर्न यहीँ नै याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) भएको हुँदा पढ्न चाहनेका लागि सजिलो छ । विद्यापीठमा स्नातकोत्तरसम्मको अध्ययन/अध्यापन हुने गरेको छ ।


विद्यालयमा अहिले १६० जना छात्रछात्रा छन् । यिनमा ब्राह्मण/क्षेत्री (खस आर्य), पहाड/मधेसका जनजाति र दलित समुदायका रहेको विद्यालयले जनाएको छ । ‘इस्राफिल फरक धर्म समुदायबाट विद्यालयका मेधावी छात्र हुन्, यिनलाई देखेर अब इस्लाम परम्पराभित्रका विद्यार्थी बढ्ने हाम्रो विश्वास छ’, प्रधानाध्यापक पौडेलले भने । केवट, धानुक र कुर्मीलगायतका स्थानीय जनजाति र चमार तथा खत्वे जातिका दलित गरी अहिले २० बढी विद्यार्थी रहेको पौडेलले जानकारी दिए ।

 

विद्यालयमा पछिल्ला चार वर्षयता नियमित अखण्ड रुद्राभिषेक पाठ हुन्छ । विद्यालयको छात्राबासमै बस्ने छात्रले अखण्ड रुद्राभिषेक सञ्चालन गर्दै आएका छन् । पूर्वकालमा सुन्ने गरिएको गुरुकुल परम्पराको छनक यहाँ देखिने गरेको छ ।

 

विद्यालयले महर्षि फाउन्डेसनको सहयोगमा एक जना ध्यानगुरु पाएको र उनले नियमित योग, ध्यान र नैतिक शिक्षा दिँदै आएको विद्यालयले जनाएको छ ।  ३०३ वर्ष पुरानो यो विद्यालय अहिले पहिलेका भवन र अन्य भौतिक संरचना भत्केर अभाव झेल्दै छ । ‘यसबारे चासो बढाउन हामी लागिपरेका छौँ’, प्रधानाध्यापक पौडेल भन्छन् ।

 

मुलुककै जेठो यो विद्यालयबारे स्थानीय तह, प्रदेश र केन्द्रसहितका सरकार र राज्यका अरु निकायको ध्यान पुग्न जरुरी भएको मटिहानीबासी बताउँछन् ।